सुधारियो ओजहुवा ताल

गणेश चौधरी

टीकापुर — वर्षौंदेखि बेवारिसे बनेको ओजहुवा ताल सरसफाइ गरेर चिटिक्क पारिएको छ  । सरसफाइ र जैविक तटबन्ध बनाएर ओजहुवा ताललाई चिटिक्क पारेको घोडाघोडी नगरपालिकाले त्यहाँ हालै पर्यटकका लागि डुंगासमेत सञ्चालन गरेको छ  ।

सुधारियो ओजहुवा ताल

घोडाघोडी तालको अवलोकन मात्र गर्न पाउने पर्यटक छेवैको यस तालमा डुंगा सयरसमेत गर्न पाउने भएपछि रमाउन थालेका छन् ।


करिब १० हेक्टर क्षेत्रफलमा रहेको यस तालमा घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले करिब ५ लाख लगानी गरेर जैविक तटबन्ध र ताल सरसफाइ गरेको छ । त्यहाँ ४ वटा डुंगा सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए । ‘रामसारका कारणले घोडाघोडी तालमा पर्यटकका लागि डुंगा सञ्चालन गर्न नहुने भो’ उनले भने, ‘त्यसैले डुंगा सयरका लागि घोडाघोडी ताल नजिकै रहेको ओजहुवा तालमा व्यवस्था गरेका हौं ।’


घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड, इकोटेल रिसोर्ट र घोडाघोडी सामुदायिक वनको त्रिपक्षीय साझेदारीमा घोडाघोडी सिमसार क्षेत्रमा रहेको ओजहुवा तालमा डुंगा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । डुंगा सञ्चालनबाट घोडाघोडी क्षेत्रमा पर्यटक लामो समय रहने र आम्दानी पनि हुने भएकाले ओजहुवा तालमा डुंगा सञ्चालन गरिएको बताइएको छ ।


नगरपालिकामा रहेका ताल संरक्षण, व्यवस्थापन र पर्यटन विकासको योजनाअन्तर्गत रामसारको महत्त्व तथा संवेदनशीलतालाई ख्याल गरी यो तालको संरक्षण, सुधार तथा डुंगा सञ्चालन गरिएको नगरप्रमुख चौधरीले बताए ।
घोडाघोडी तालसँगै जोडिएको ओजहुवा तालमा डुंगा सञ्चालनका साथै पर्यटकका लागि फिसिङ सेन्टर र हात्ती प्रजनन केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ । प्राकृतिक सम्पदामा असर नपरोस् र पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भनेर विभिन्न क्षेत्रका विशेषज्ञको सहायतामा घोडाघोडीमा पर्यटन पूर्वाधार योजना अघि बढाइएको नगरप्रमुख चौधरीले बताए ।


उनले भने, ‘ओजहुवा तालमा सयरका लागि डुंगा चढ्न जैविक खुटकिला बनाएका छौं । ताल क्षेत्रको सरसफाइमा ध्यान दिंदै सामुदायिक वनलाई सहभागी गराएका हौं ।’ घोडाघोडी तालमा पाइने जंगली धान, गोही प्रजनन, हात्ती प्रजनन, हरिहाँसलगायतका विभिन्न जीवजन्तु तथा चराको संरक्षित क्षेत्र बनाइने योजना रहेको पनि नगरप्रमुख
चौधरीले बताए । घोडाघोडीमा आउँदा एक हप्तासम्म पर्यटक रोकिने सम्भावनाको खोजी गरिरहेको उनी बताउँछन् । उनले भने, ‘स्थानीयसँग होस्पिटालिटी म्यानेजमेन्ट र विद्यालयस्तरमा पाठ्यक्रममा संरक्षणका कुरा राख्ने पनि सोच छ ।’


घोडाघोडी क्षेत्रमा २९९ प्रजातिका पक्षी, ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, घस्रने जीवलगायतको प्रमुख आश्रयस्थल तथा प्रजनन केन्द्र हो । यस सिमसार क्षेत्रमा ४ सय ५० प्रजातिका वनस्पति रहेको तथ्यांक छ । औसत ४ मिटरभन्दा बढी गहिराइ र २ हजार ७ सय २६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । घोडाघोडी क्षेत्र सन् २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो ।

प्रकाशित : चैत्र ६, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?