कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१५ सय लिटर घरेलु मदिरा नष्ट

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला प्रहरी कार्यालय बझाङले १ हजार ५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ  । सदरमुकाम चैनपुर र आसपासका क्षेत्रमा रहेका घर पसलमा छापा मार्दा उक्त परिमाणको मदिरा बरामद भएको हो  ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार बिहान सदरमुकाम चैनपुरको जयपृथ्वी नगरपालिका १० र मस्टा गाउँपालिकाको १ सम्देउमा छापा मारेको थियो । सदरमुकाम चैनपुरमै घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा विभिन्न घर पसलमा छापा मारेर उक्त परिमाणको मदिरा र उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


‘खुलेआम घरेलु मदिरा उत्पादन र बिक्री भइरहेको बारे पहिलेदेखि नै गुनासो आएको थियो,’ डीएसपी प्रवीण धितालले भने, ‘अवैध मदिराले जनस्वास्थ्यमा र समाजमा विकृति बढ्न थालेपछि नियन्त्रणको प्रयास गरेका हौ ।’ उनले प्रहरीले जिल्लाभर रहेको अवैध मदिरा उत्पादन र बिक्री वितरण रोक्नका लागि अभियान नै सञ्चालन गर्ने बताए । मदिरा नियन्त्रणका लागि स्थानीय सरकार र समुदायसँग मिलेर काम भइरहेको उनको भनाइ छ ।


रक्सी बन्द गर्न नसक्ने कारण के हो ?
एक छुट्टै कार्यक्रममा तल्कोट गाउँपालिकाका स्थानीय महिलाहरूले बझाङका डीएसपी धिताललाई रक्सी बन्द गर्न नसक्नुको कारण बारे जानकारी मागेका छन् । महिला हिंसा न्यूनीकरण तथा लैंगिक हिंसाका सवालमा महिलालाई सशक्तीकरण गर्न प्रहरीले आयोजना गरेको कार्यक्रममा महिला डीएसपीसँग उक्त प्रश्न गरेका हुन् । ‘मैले र मेरा छोरा/छोरीले रक्सी खाएका श्रीमान्बाट दिनहुँजसो कुटाइ खाइरहेका छौं,’ तल्कोट गाउँपालिका १ की पार्वती सुनारले भनिन्, ‘हामीले कतिसम्म कुटाइ खाएर बस्ने ? तपाईंहरूलाई रक्सी बन्द गर्न केले रोकेको छ ? ।’ उनले आफूले मात्र नभई आफ्नो गाउँका धेरै महिला र बालबालिका मदिरा सेवन गरेका पुरुषबाट प्रताडित भएको बताएकी थिइन् ।


‘लाइसेन्स लिएका छौं भन्छन् । एउटै लाइसेन्सको भरमा ३/४ ठाउँमा पसल खोलेर रक्सी बेचिरहेका छन्’ कल्पना बमले आक्रोशित हुँदै धिताललाई भनिन्, ‘बिहानैबाट रक्सी बिक्री सुरु गर्छन् । हामीहरूलाई गरिखानु न मरिजानु भएको छ । कहिले रक्सी बन्द हुन्छ ? हामीले कहिले शान्ति पाउँछौं ।’ डीएसपी धितालले यस्तो अवस्थाको कसैले पनि जानकारी नगराएको बताउँदै मदिरा नियन्त्रणका लागि प्रयास गर्ने आश्वासन दिएका थिए । उनले मदिरा नियन्त्रणका लागि महिलाहरूले पनि संगठित रूपमा पहल गर्न सुझाउँदै प्रहरीले उनीहरूको अभियानमा साथ दिने बताएका थिए ।

प्रकाशित : चैत्र ६, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?