१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सखियो चलो जनकपुर...

भवानी भट्ट

कञ्चनपुर — पाका पुरुष एकैनासको पोशाक लगाएर रंगिएका छन् । उनीहरू गोलो घेरामा उभिएर मधुरो स्वरमा गीत गाइरहेका छन् । गीतअनुसार नै शरीर र खुट्टाको ताल मिलेको छ ।

सखियो चलो जनकपुर...

गोलाकार बिचमा मादल र ढोलक बजाउनेहरू रमाइरहेका छन् । उनीहरूलाई दिउसोको चर्को घामको प्रवाह छैन । महेन्द्रनगरको गोबरिया क्षेत्रमा देखिएको रुपाली होलीको रुप हो यो ।


डडेलधुराको रुपाल क्षेत्रबाट बसाइसराई गरेर यहा आएकाहरूले वर्षौदेखि यसरी नै होली खेल्दै आएका छन् । गाउँमा रुपाली होली हेर्न अन्य क्षेत्र र सुमदायका स्थानीय पनि उत्साहित देखिन्छन् ।


रुपाली होली खेल्ने शैली र त्यसमा गाइने गीतले सबैलाई यसतर्फ आकर्षित गरेको छ । होलीको एकादशीदेखि फागु पुर्णिमा सम्म रुपालबाट बसाई सरेका सबैका घरमा पुगेर यो होली खेलिन्छ । सबैका घरमा मिठाई खाने र दक्षिणा लिने गरिन्छ ।


‘हामी होलीलाई रस लिएर खेल्छौ, यसलाई धार्मिक र मार्मिक रुपमा मनाउछौं,’ वाल्यकाल देखि नै होली गीत गाउँदै आएका भीमदत्त नगरपालिका १५ गोबरियाका पदमादत्त जोशीले भने, ‘हाम्रो होली रसपुर्ण हुन्छ, अरुको जस्तो ठाडो हुदैन ।’ उनका अनुसार रुपाली होलीमा युवादेखि बृद्ध सम्म सबै रमाउछन् । उनीहरूले होलीको श्लोक यसरी भट्टयाए ।


‘सीता रामको ब्या सकियो

चलो जनकुपुर जाना है,

सीता स्वयम्बर यज्ञ रचो है

कठिन धनुषको बात हो,

सखियो चलो जनकपुर जाना है’


यस्तै गीत गाएर होली खेलिन्छ । रुपाली होलीमा राम जानकी र जनकपुरका कथा, पाण्डवका गीत र कृष्णका कथा लय मिलाएर गाइन्छ । ‘यि गीतहरूको आफ्नै महत्व र विशेषता छ,’ डडेलधुराको भागेश्वर गाउपालिका २ रुपालका मनिराज जोशीले भने, ‘हाम्रो होली जति खेल्यो उती रसपुर्ण र आनन्ददायी हुन्छ ।’


रुपाली होली खेल्दा डेउडा खेलेजस्तै पैतालाको ताल पनि मिलाइन्छ । गीत अनुसार एक पटक खडा भएर गाइन्छ भने एक पटक पैतालाको ताल मिलाएर एक फन्को चारैतिर लगाएर सबै गीत गाउदै अघि बढछन् । फेरी एक पटक बसेर गाउछन् भने त्यहि अनुसार अगाडी बढछन् ।


अहिले होलीमा छाडा प्रवृत्ति भित्रिदैछ । युवाहरू रंग लगाउने, लोला हान्ने र छाडा गीतहरू गाउने गरेका भेटिन्छन् । बुढापाकाहरू होली खेलेको बिरलै देखिन्छ । रुपाली होलीले मनोरञ्जन मात्रै दिएको छैन, परम्परागत संस्कार पनि जोगाएको छ ।


होली खेलेर संकलन भएको रकम मन्दिर तथा विद्यालयको भवन निर्माणमा खर्च हुने गरेको रुपाली होली समितिका अध्यक्ष समेत रहेका पदमादत्त जोशीले बताए । उनका अनुसार समितिमा डेढ सय बढी सदस्य आवद्ध छन् । होली खेल्न पनि त्यति नै सदस्य सहभागी हुन्छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?