२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वडा आउजाउ गर्न दुई दिन

सामान्य सिफारिस लिन वडा कार्यालय जाँदा २ हजारसम्म खर्च हुन्छ 

बझाङ — सुर्मा गाउँपालिका २ गजौनवासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने बाध्यता छ । सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ । 

सुर्मा गाउँपालिका २ को कार्यालय डोगडीमा छ । त्यहाँ पुग्न गजौनवासीलाई गाउँबाट पाँच घण्टा हिंडेर मष्टा गाउँपालिका १ को सुनिगाड जानुपर्छ । सुनिगाडबाट १० किलो मिटर गाडीको यात्रापछि जयपृथ्वी नगरपालिका १० स्थित चैनपुर बजार पुगिन्छ । स्थानीय बासिन्दा त्यहाँबाट झन्डै डेढ घण्टाको पैदल यात्रापछि बल्ल डोगडीमा रहेको वडा कार्यालय पुग्छन् ।


हिउँदमा चैनपुरबाट डोगडीसम्म गाडी चल्छन् । तर नियमित गाडी पाइँदैन । त्यसैले प्रायः हिंडेरै वडा कार्यालय पुग्ने गरेको स्थानीयले बताए । ‘घरबाट वडा कार्यालय पुग्दा साँझ परिसक्छ । त्यतिन्जेल कार्यालय बन्द भइसक्छन्,’ स्थानीय दीपकबहादुर बोहराले भने, ‘अर्को दिन काम गरेर साँझ घर पुग्न सकिन्न । सानो कामको लागि दुई/तीन दिन बिताउनुपर्छ । सित्तैमा हुने कामका लागि २/३ हजार खर्च लाग्छ ।’ वडा कार्यालयसम्म पुग्दा लाग्ने गाडीभाडा, खाना र बास खर्च गरेर एकपटकमा न्यूनतम २ हजार खर्च हुने गरेको उनले बताए ।


वडा कार्यालय टाढा हुँदा सबैभन्दा बढी सास्ती गजौनका वृद्धवृद्धा, असहाय, एकल महिला र बालबालिकाले भोग्नुपरेको छ । ‘हामीलाई त सुविधाभन्दा पनि दुःख बढी भएको छ,’ खिन्तुरी बोहराले भनिन्, ‘सरकारले दिएको भत्ता पनि बाटैमा सकिन्छ । आउन जान दुःख मात्र हुने गरेको छ ।’


सामाजिक सुरक्षा भत्ता बुझ्न सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने नियमका कारण वडा कार्यालयसम्म पुग्न नसक्ने वृद्धवृद्धा र असहाय व्यक्तिहरूले भत्ता नै नबुझ्ने गरेको उनको भनाइ छ । उनले वडा कार्यालय टाढा भएकाले कतिपय सामाजिक सुरक्षा प्राप्त गर्ने योग्यता पुगेकाहरूले पनि यो सुविधा लिनका लागि आवश्यक कागजपत्र जुटाउन नसकेको र सुविधाबाट वञ्चित भएको बताइन् ।


करिब ५५ परिवारको बसोबास छ । स्थानीयले गाउँगाउँमा सिंहदरबार आएको नारा आफूहरूले सुने पनि अनुभव गर्न नपाएको बताए । ‘सिंहदरबार आयो कि के आयो थाहा छैन । जिज्युबाजेका पालादेखिका हाम्रा दुःख उस्तै छन्,’ स्थानीय शेरबहादुर बोहराले भने, ‘हामीले स्थानीय सरकारको महसुस नै गर्न पाएका छैनौं ।’


उनले सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वडाको प्रतिनिधि गाउँमै गइदिए वा गाउँलेले तोकेको प्रतिनिधिको हातमा सबैको भत्ता बुझाउने व्यवस्था गरिदिए धेरैलाई राहत हुने बताए । यस विषयमा वडा कार्यालयमा पटकपटक कुरा राखे पनि सुनुवाइ नभएको गजौनवासीको गुनासो छ ।


सुर्मा गाउँपालिका २ का वडाध्यक्ष खडकबहादुर बोहराले गजौनका जनताले दुःख पाएको विषयमा आफू जानकार रहेको बताए । आगामी दिनहरूमा सामाजिक सुरक्षा भत्ता लिन कसैले पनि वडा कार्यालय पुग्न नपर्ने गरी गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइने बताए । अन्य काम गाउँमा नहुने भएकाले हिंडेरै वडा कार्यालय पुग्नुको विकल्प नभएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?