कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सडकले फेरियो बारला

७४ वर्षीय युद्धबहादुर शाहीलाई गाउँमा सडक पुग्ला र गाडी गुड्ला भन्ने लागेकै थिएन । अहिले उनकै अगाडि धूलो उडाउँदै गाडी कुद्छ । उनी दंग पर्दै सडक खन्न बजेट दिने सरकारलाई धन्यवाद दिन्छन् ।
मेनुका ढुंगाना

बारला, अछाम — पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा सडक पुगेपछि स्थानीयलाई सुगमको आभास भएको छ । वृद्धवृद्धा खुसी छन् । यातायातको सुविधा पुगेपछि शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच बढेको छ । कुनै बेला १० दिन हिँडेर भारतको तिकुनियाबाट नुन ल्याएका यहाँका स्थानीय अहिले घरआँगनमै नुन किन्छन् ।

सडकले फेरियो बारला

‘घाम, पानी, भोक निद्रा केही नभनी तिकुनिया पुगेको सम्झँदा अहिले पनि थकान महसुस हुन्छ,’ बारलाका ८२ वर्षीय बजिर शाहीले भने, ‘हाम्रो गाउँमा गाडी आउँछ भन्दा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउला भन्ने लागेकै थिएन ।’


घरबुना लुगा लगाउने र एउटै घरमा ७/८ भैंसी पाल्ने दैनिकी थियो, स्थानीयको । समय बदलिएसँगै उनीहरूको पेसा पनि परिवर्तन भयो । ‘१५ किलोसम्म घ्यू बोकेर चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यही पैसाको नुन किनेर ल्याउँथ्यौं,’ अर्का स्थानीय मानबहादुर शाहीले भने, ‘अहिले त एउटा भैंसी पाल्ने पनि मुस्किलले भेटिन्छन् ।’


यहाँको पुरानो पुस्ता नुन ल्याउन राजापुरसमेत पुग्थ्यो । नुन लिन जाँदा बाटोमा वर्षा भएर अलपत्र परेको सुनाउँदै मानबहादुर अहिलेको पुस्तालाई भाग्यमानी ठान्छन् । ‘एक पटक गाउँका ७ जना बर्दियाको राजापुर गएका थियौं । वारिपारि खोलाको पानी बीचमा हामी थियौं । आफू बाँच्नलाई नुन फ्याँक्यौं । जोखिम मोलेर हामी बाँचेका हौं,’ मानबहादुरले पुराना दिन सम्झिए, ‘नुन सकिने दिन जतिनजिक आउँथ्यो त्यति नै डरले मुटु काप्थ्यो ।’


घरबाट निस्केपछि कहाँ पुग्यो, अवस्था के छ भन्ने जानकारी परिवारमा हुँदैनथ्यो । ‘घरबाट निस्केको दिन बाटोमा केही नभए फेरि भेट होला, चिन्ता नगर्नु, भगवान्ले साथ दिए नुन ल्याएर घरमै फर्किउँला भन्दै बाँच्ने झिनो आशा बोकेर सहर जान्थ्यौं,’ उनले भने, ‘१० दिनसम्म हामी बाटोमै हुन्थ्यौं । घरका परिवार चिन्तामा डुब्थे ।’


अहिले उनीहरू जति सायदै कोही खुसी होलान् । सडकको पहुँचसँगै अन्य विकास गाउँ भित्रिएको स्थानीयको बुझाइ छ । बारलामा सडक पुगेपछि गाउँलेमा खुसीको सीमा छैन । ७४ वर्षीय स्थानीय युद्धबहादुर शाहीलाई बाटो बन्ला र गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन । अहिले उनकै अगाडि गाडी कुद्छ । यो देखेर उनी दंग पर्छन् । सडक खन्न बजेट दिने सरकारलाई र उनले गाउँलेको तर्फबाट धन्यवादसमेत दिन भ्याए । ‘यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन तर मेरो सपना पूरा भयो,’ उनले भने ।


गाउँमा सडक पुगेको एक वर्ष मात्रै भयो । स्थानीयले सडक पुगेपछि दशकपहिले पाएका दुःख बिर्सेका छन् । जीवनशैली बदलिएको छ । पुरुषको तुलनामा महिलाका सुखका दिन फर्किएका छन् । पहिले सडक आयो, त्यसपछि स्वास्थ्य चौकी स्थापना भयो, बिस्तारै गाउँमै मेडिकल खुल्न थाले । दाउरा बेच्न दैलेखको भेल्तडी, राकम पुग्ने महिलाहरू गाउँकै होटलमा बेच्छन् ।


‘दाउरा बेचे मात्रै पैसा देख्न मिल्थ्यो । त्यही दाउरा बेचेको पैसाले गुजारा चलाउनुपर्ने बाध्यता थियो । अहिले त तरकारी लगाएर बेच्दा पनि पैसो, अरू काम गरे पनि पैसा कमाउन गाह्रो छैन । काम गर्न सक्नुपर्‍यो,’ ४० वर्षीय स्थानीय कल्चु विकले भनिन्, ‘५ हातको धोती लगाउन पाए के–के न पायौंजस्तो लाग्थ्यो । अहिले त सहरबजारका लुगा आफ्नै आँगनमा पुगे ।’


सुध्रिँदै स्वास्थ्य

पहिला एक दम्पतीका कम्तीमा ७ बच्चा हुन्थे । २० पटक सुत्केरी व्यथा खेपेकी महिला बारलामै छिन् । ती हुन ५९ वर्षीया सरु सुनार । उनको साथमा अहिले एघार सन्तान छन् । ९ को मृत्यु भयो । ‘केही गर्भमै मरे, केही जन्मेको एक घण्टामै मरे, कसैलाई ज्वरो, कसैलाई हैजा, कसैलाई निमोनिया हुन्थ्यो,’ उनले भनिन्, ‘गाउँमा स्वास्थ्य चौकी थिएन । दैलेखमा उपचार गर्न लैजान बाटो थिएन । जति जन्मे पनि मरिहाल्छन् भन्ने लाग्थ्यो ।’ गाउँभन्दा बाहिरको दुनिया नबुझेकै कारण धेरै सन्तान जन्मिएको उनी बताउँछिन् ।


अहिले गाडीमा औषधि बोकेर गाउँकै स्वास्थ्य चौकीसम्म आइपुग्छ । गाउँमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरू पनि धेरै छन् । गाह्रो भइहाल्यो भने पनि उपचारका लागि जिल्ला अस्पताल र बाहरिका अस्पतालमा लैजान गाडी पाइन्छ । उपचार नपाएर मर्नेको संख्यामा कमी आएको छ । ‘भगवान्ले बचाए बाँच्छन् । नत्र मर्छन् भन्ने लाग्थ्यो । उपचार भन्ने के हो थाहा थिएन । यति चाँडै गाउँमा परिवर्तन भएको देख्दा खुसी लाग्छ,’ उनले भनिन् । स्थानीय पिउली विकले गाउँमै उपचार गर्न पाइएको बताइन् ।


उनका अनुसार पैसा हुनेले पनि पहिले राम्रो लुगा किनेर लगाउन पाउँदैनथे । बजारको पहुँचबाट बारला टाढा थियो । कसैको घरबाट सुर्खेत र नेपालगन्ज गए भने उनीहरूले मात्रै नयाँ लुगा लगाउन पाउँथे । बच्चालाई समेत न्यानो कपडा हुँदैनथे । धेरै बच्चाको ज्यान चिसो समयमा जान्थ्यो ।


छात्रछात्रा बराबर

बारला गाउँको कालिका माविमा यहाँकै बमहादुर शाहीले पढाउन थालेको २६ वर्ष भयो । सुरुमा गाउँमा विद्यालय सञ्चालन गर्न खोज्दा गाउँकै मान्छेले असहयोग गरेको उनी सम्झन्छन् । सुरुआतमा स्कुलमा छोराछोरी पढाउने अभिभावक निकै कम थिए । अहिले पनि उनी यही विद्यालयको प्रधानाध्यापक छन् ।


‘२६ वर्षअघि २ जना मात्रै छात्रा थिए । उनीहरूले पनि पढाइलाई निरन्तरता दिन नसकेर बीचमै छोड,े’ उनले भने, ‘अहिले छात्रछात्राको संख्या बराबर छ । पहिले दलित समुदायको घरबाट पढ्नै आउँदैन थिए । समय बदलिएसँगै सोच पनि बदलिन्छ भन्ने कुरा पुष्टि भयो,’ उनले भने । उनका अनुसार हाल यहाँ छात्रा २ सय ९९ छन् भने छात्रको संख्या ३ सय ९ रहेको छ ।


बरदान साबित भयो मध्यपहाडी

अछामका ग्रामीण भेगलाई सडकको पहुँचमा पुर्‍याउन मध्यपहाडी लोकमार्ग वरदानै साबित भयो । जिल्लाका ९१ मध्ये ८६ वडामा सडक पुगेको छ । बारलामा पुगेको सडक पनि मध्यपहाडी लोकमार्गको विनायक खण्डबाट गएको पञ्चदेवल विनायक नगरपालिका ८ बारलाका वडाध्यक्ष तारा खनालले बताए ।


हाल यस क्षेत्रमा जग्गाको कारोबार बढेको छ । गाउँमा उत्पादित कृषिजन्य वस्तुले समेत बजार पाउन थालेको छ । सवारी साधनसहित मानिसहरूको चहलपहल बढेपछि जग्गा किन–बेचको कारोबार बढेको स्थानीय तुलसी शाहीले बताइन् । ‘पहिले अधिकांश खेतीयोग्य जमिन बाँझो रहने यस स्थानमा सडक पुगेसँगै बस्ती विस्तार हुन थालेको छ,’ उनले भनिन्, ‘बाँझो खेत बारीमा सागसब्जी उत्पादन गरी अन्य स्थानमा बिक्री गर्न लैजान्छौं ।’


पूर्वको चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब १ हजार ७ सय किलोमिटर लामो मध्यपहाडी राजमार्गले अछामका डेढ दर्जनभन्दा बढी गाउँलाई छोएको छ ।


मोटरबाटो बनेसँगै यहाँका ४ हजार १५ जनसंख्यालाई फाइदा पुगेको वडाध्यक्ष खनालले बताए । ‘वडाभित्रका गाउँमा पनि सडक पुर्‍याउने योजना छ । अहिलेका सडकलाई स्तरोन्नतिका लागि पनि पहल भइरहेको छ,’ उनले भने । खनालका अनुसार बाराला गाउँमा सडक विस्तार र स्तोरोन्नतिका लागि चालु आवमा नगरको योजनामा एउटा नयाँ सडकको लागि ६९ लाख र प्रदेश सरकाले अर्को सडक निर्माणका लागि ९७ लाख बजेट विनियोजन गरेको छ । ‘ट्र्याक खोलेर अलपत्र छोड्नुभन्दा स्तरोन्नतिलाई अझै प्रथामिकतामा राखेका छौं । वर्षामा पनि काटो सञ्चालन हुने गरी मर्मत भइरहेको छ,’ उनले भने ।


नजिकको बजारमा हिंडेर जानुपर्दा सास्ती खेपेका स्थानीयले गाउँ सरकारको खुलेर प्रशंसा गर्न थालेका छन् । सडकसँगै गाउँमा मोटर पुगेपछि स्थानीय हर्षित छन् । सडक सञ्जाल जोडिएपछि गाउँगाउँको आर्थिक, सामाजिक र व्यापारिक सम्बन्ध विस्तार भएको स्थानीय बताउँछन् । दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवतजावत र बिरामी पर्दा अस्पताल पुग्नसमेत सहज भएको छ ।

स्थानीयमा नयाँ व्यापारको सोच जागेको छ । सहज यात्रा सुविधा मात्र होइन, व्यापार वृद्धि र कृषिमा आधुनिकीकरणको खोजी हुन थालेको छ । यहाँका स्थानीय सडक पुगेपछि नगदेबाली, मह उत्पादन, तरकारी–फलफूल खेतीतर्फ आकर्षित भएका छन् ।


नगरपालिकाले कृषिमा अनुदान दिंदै आएको छ । ‘ग्रामीण बस्तीमा सडक पहुँच पुगेको छ,’ नगरपालिका उपप्रमुख अम्बिका चलाउने भन्छिन्, ‘अब विस्तार र स्तरोन्नतिको काम अघि बढ्छ, सबैजसो गाउँमा नयाँ ट्रयाक ओपन गर्ने काम भइसकेको छ ।’ अबको पाँच वर्षभित्रमा नगरका सबै जनता सडक यातायातको पहुँचमा पुग्ने उपप्रमुख चलाउनेको आशा छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?