१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नसर्ने रोगको भार

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा नसर्ने रोगको भार बढ्दै गएको छ । क्यान्सर, मुटुरोग, मृगौला, उच्च रक्तचाप, सुगर र श्वासप्रश्वास लगायत नसर्ने रोगको समस्या बढ्दै गएको हो । रोगको पहिचान र उपचार स्वास्थ्य चौकी तहमै आवश्यक रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

नसर्ने रोगको भार

हालसम्म जिल्ला तहमा नसर्ने रोगहरूको अवस्थाबारे ब्यवस्थित तथ्यांक राख्ने गरिएको छैन । उपचारमा आएका कुल विरामीहरूको तथ्यांकका आधारमा नसर्ने रोगहरूको भार बढ्दै गएको छ । ‘विगत ३ वर्षको प्रारम्भिक तथ्यांक केलाउँदा नसर्ने रोगहरू वर्षेनी बढेको देखिन्छ,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘स्वास्थ्य चौकी तहमै पहिचान, उपचार र प्रवर्द्धनात्मक कार्यक्रमहरू तत्काल सुरु गर्नुपर्छ ।’


जिल्लाबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार ०७३/०७४ मा क्यान्सरका विरामीको संख्या यस प्रदेशमा १ सय १५ थियो । ०७४/०७५ मा उक्त संख्या बढेर ४ सय ६४ पुगेको देखिएको छ । ०७३/०७४ मा ११ हजार ८ सय ६८ जनामा उच्च रक्तचापको समस्या पाइएकोमा त्यो संख्या बढेर ०७४/७५ मा १४ हजार ३ सय १ पुगेको देखिन्छ ।


यस्तै सोही अवधिमा श्वासप्रश्वासका बिरामीको संख्या ५२ हजार ६ सय २० बाट बढेर ६१ हजार १ सय ९९ पुगेको पाइएको छ । स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार मधुमेह ४ हजार जनाबाट बढेर ५ हजारमा पुगेको छ ।


यस्तै ०७३/०७४ मा सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आएका कुल बिरामीहरूमध्ये १३ हजार २ सय ८८ मा मुटुरोग देखिएको थियो । त्यो संख्या बढेर ०७४/०७५ मा १५ हजार नाघेको देखिएको छ । नसर्ने रोगबारे तत्काल बिरामीले थाहा नपाउने भए पनि विस्तारै यसले कमजोर बनाउँदै मृत्युको मुखमा पुर्‍याउने चिकित्सकहरू बताउँछन् । नसर्ने रोगबाट बच्न मद्यपान, धूमपान, सूर्तिजन्य वस्तु सेवन गर्न नहुने डा. अवस्थीले बताए । रोकथाम तथा नियन्क्रण कार्यत्रमलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।


नसर्ने रोगहरूको व्यवस्थापन गर्न प्रदेश स्वास्थ्य निर्देशनालयले बाजुरा, बैतडी र कञ्चनपुरमा ‘पेन’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । ऊक्त कार्यत्रम अन्तर्गत नसर्ने रोगहरू मुटु, श्वासप्रश्वास, सुगर र क्यान्सर रोगको स्वास्थ्य चौकी तहमै पहिचान, उपचार र निःशुल्क औषधिको व्यवस्था गर्न लागिएको निर्देशनालयका हेल्थ असिस्टेन्ट मीनराज जोशीले बताए । ती रोग बाहेक कार्यक्रम सञ्चालन भएका जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत मधुमेह, रक्तचाप, महिलाको स्तन क्यान्सर र पाठेघरको क्यान्सर पहिचान र उपचार गरिनेछ ।


यसका लागि निर्देशनालयले आवश्यक उपकरण उपलब्ध गराउने बताएको छ । पहिलो चरणमा सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई ७ दिनको तालिम र आवश्यक उपकरण र औषधि उपलब्ध गराउन लागिएको जोशीले बताए । ‘क्यान्सरका बिरामीलाई भने उपचार हुने अस्पतालमा रिफर गरिनेछ,’ जोशीले भने, ‘अब स्वास्थ्य चौकी तहमै नसर्ने रोगहरूको आधारभूत पहिचान, रोगहरू बढ्ने वा घट्ने क्रम लगायतको व्यवस्थित अभिलेख रहनेछ ।’


दोस्रो चरणमा फ्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागू गर्ने योजना निर्देशनालयको छ । कार्यत्रममार्फत नसर्ने रोगहरूबारे सचेतना फैलाउन सबै स्थानीय तहसँग सहकार्य गर्ने योजनासमेत निर्देशनालयले अघि बढाएको छ ।

प्रकाशित : चैत्र ११, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?