पानी फोहोर नगर्ने प्रतिबद्धता

डीआर पन्त

डडेलधुरा — विश्व पानी दिवसको अवसर पारेर शुक्रबार जोगबुढाको परशुराम धाम नजिक महाकाली किनारमा नेपाल–भारत सीमा वारिपारिका बासिन्दाले आपसी सम्बन्ध कहिल्यै नबिगार्ने प्रतिबद्धता गरेका छन् । उनीहरूले दुवैतर्फ संयुक्त पैरवी समूह गठन गरी काम सुरु गरेका हुन् । 

नदी किनारमा भेला भएका दुवैतर्फका प्रतिनिधिहरूले सीमा नदीका कारण उत्पन्न समस्या मात्र नभई सीमा वारिपारि बेलाबेला उत्पन्न हुने सबैखाले समस्या समाधान गर्न नागरिक स्तरमा यस्ता समूह गठन गरिएको बताएका छन् । इन्डो नेपाल जोइन्ट एक्सन फोरम भारततर्फका संयोजक भुवन गडोरीले भने, ‘सीमा नदी महाकाली र यसका सहायक नदी क्षेत्रका बासिन्दाले पहिलो पटक यो प्रयासको थालनी गरेका हौं ।’


नदीका कारण हुने प्राकृतिक प्रकोपको पूर्वसूचना दिने, पानीजन्य रोग न्यूनीकरण गर्ने, सीमा नदीको पानीको दुवैतर्फ सदुपयोग गर्ने र प्राकृतिक स्रोतको संरक्षणका लागि संयुक्त पहल गर्ने उद्देश्यले दुवैतर्फका बासिन्दा एकजुट भएको उनले बताए ।


चम्पावत कालीगोडा ग्राम पञ्चायत प्रधान प्रल्हादराम सिंहले भने, ‘महाकाली वारिपारि दुवैतर्फ हुने सबैखाले समस्यामा एकअर्कालाई सहयोग गर्ने उद्देश्यले गठन भएका संयुक्त पैरवी समूहले सीमाक्षेत्रको वातावरण बिग्रन नदिन महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।’


ग्राम प्रधान प्रल्हादरामले परापूर्वदेखि सीमा क्षेत्रका बासिन्दाबीच रहेको सद्भाव र आपसी सम्बन्ध जस्तोसुकै अवस्थामा पनि बिग्रन नदिने यस्ता सूमहको अर्को उद्देश्य रहेको बताए । ‘सीमा नदी महाकाली र यसका सहायक नदीको पानीको ब्यवस्थापन मात्र नभई विकास निर्माणमा पनि एकआपसमा सहयोग आदानप्रदान गर्ने उद्देश्य राखिएको हो’ सिंहले भने, ‘धर्म सभ्यता र समान संस्कृति भएका सीमा क्षेत्रका बासिन्दाका लागि यस्ता पैरवी समूहहरूले दुवै देशका नागरिकबीच सद्भावसमेत कायम गर्नेछन् ।’


इन्डो नेपाल जोइन्ट एक्सन फोरम नेपालतर्फका संयोजक कोमल निरञ्जन भाटले पनि सीमा क्षेत्रमा यो नौलो प्रयास भएको बताए । उनले भने, ‘सिमानामा दुवैतर्फका प्रभावित र समस्यामा रहेका नागरिकको हकहितको संरक्षणमा पनि पैरवी समूहले महत्त्वपूर्ण सहयोग गर्नेछन् ।’


सीमा नदी र यसका सहायक नदीबाट प्रभावित मात्र नभई कुनै पनि प्राकृतिक प्रकोप तथा सामाजिक समस्यामा पनि दुवैतर्फ नागरिकलाई यस्ता पैरवी समूहहरूले समन्वयात्मक भूमिका निर्वाह गरी सहयोग गर्ने उनले बताए । विश्व पानी दिवसको अवसर पारेर सुरु गरिएको यस प्रयासलाई सीमा क्षेत्रका बासिन्दाले सकारात्मक भनेका छन् ।


‘समयसमयमा सीमा क्षेत्रमा नेपाली पक्षमाथि हुने दुर्व्यवहार, आवतजावतमा हुने समस्या, दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा देखिने समस्या पनि समाधान हुने आशा गरेका छौं’ परशुराम नगरपालिका कुणाका रमेश पनेरूले भने, ‘सरकारी स्तरमा नभई सामाजिक तहमा भए पनि यो सुरुआतले समस्या समाधान गर्ने छ ।’


पहिलो पटक दुवै देशका नागरिकस्तरमा पैरवी समूह गठन गर्न परशुराम नगरपालिकाको परशुराम धाममा आयोजित कार्यक्रममा दुवै देशका सीमावर्ती क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए । नेपालतर्फका परिगाउ, कुणा, छेला, तातापानी, बन्ड, चन्दनी र भारततर्फका चुका, खेत, पूर्णागिरी, सिम, तामलीलगायत गाउँका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त भेलाले परशुराम नगरपालिका ५ का वडा अध्यक्ष मीनबहादुर चन्द संयोजक र पूर्णागिरी कालीगौडा ग्राम पञ्चायका प्रधान श्री पह्लाद राम उपसंयोजक रहेको १९ सदस्यीय पैरवी समूह गठन गरेको छ ।


नागरिक स्तरको ऊक्त कार्यत्रमको सहजीकरण दक्षिण एसियाली सीमा नदीको पानीको सदुफयोग कार्यक्रमअन्तर्गत कार्यरत गैरसरकारी संस्था रुडकले गरेको थियो । कार्यत्रममा नेपाल–भारत दुवै देशका सीमा क्षेत्रका प्रहरी अधिकारी, सीमा सुरक्षा बलका अधिकारी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । दोस्रो चरणमा सीमा नदी रहेको बैतडी, दार्चुला र कञ्चनपुरका सीमा क्षेत्रमा पनि यस्ता पैरवी समूह गठन गर्ने नागरिकस्तरमा सहमति भएको जानकारी दिइएको छ ।

प्रकाशित : चैत्र १३, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?