कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुल निर्माण भएन

मोहन बुढाऐर

धनगढी — ९ वर्षअघि कान्द्रा नदीमा पुल निर्माणको ठेक्का सम्झौता भए पनि काम भने अझै सुरु भएको छैन । स्थानीय बासिन्दा बर्खामा डुंगामा र हिउँदमा काठेपुल भएर नदी तर्न बाध्य छन् । 

‍६२ किलोमिटर लामो हुलाकी सडक खण्डमा लालबोझी र भजनी जोड्न पुल निर्माणको सम्झौता भएको थियो । सय मिटर लम्बाइको पुल निर्माण गर्न २ वर्षको समय तोकेर आर्थिक वर्ष ०६७/०६८ मा लामा शाल्पा शेर्पा बिरुवा जेभी कम्पनीलाई ४ करोडमा ठेक्का दिइएको थियो ।


हुलाकी आयोजनाका इन्जिनियर नरेन्द्र ओझाले ४ वर्ष आयोजनाको कारण र ४ वर्ष ठेकेदार कम्पनीको लापरबाहीले काममा ढिलाइ भएको बताए । अहिले पुलको रि–डिजाइन गरिएको छ । पुलको वाइल फाउन्डेसन पिलरलाई पाइप फाउन्डेसनमा रि–डिजाइन गरिएको छ । ‘पहिलेको ठाउँबाट ४ किलोमिटर पूर्वतर्फ सारेर पुलको रि–डिजाइन स्वीकृत भएर आउन चार वर्ष लाग्यो,’ इन्जिनियर ओझाले भने, ‘पछिल्लो ४ वर्ष ठेकेदार कम्पनीकै कारण काम सम्पन्न हुन सकेको छैन ।’


आयोजनाले २०७२ मै ठेकेदार कम्पनीलाई रि–डिजाइन दिएर थप २ वर्ष निर्माण अवधि थपेको थियो । गत वर्ष समयमै काम नसक्नेलाई कारबाही हुने चर्चा चलेपछि ठेकेदार कम्पनी काममा फर्केको थियो । चर्चा सेलाएपछि कम्पनी कर्मचारी पनि काम छोडेर गएको स्थानीयले बताए ।


‘सम्झौता भएको ८ वर्षपछि पहिलोपटक गतवर्ष ठेकेदार कम्पनी निर्माणस्थलमा फर्केको हो,’ इन्जिनियर ओझाले भने, ‘२ महिना जति काम गर्‍यो । त्यसपछि सर्म्पकविहीन भएर बसेको छ ।’ उनले अबका केही दिनभित्रमा सम्पर्कमा नआए ठेक्का रद्द गरी कारबाही गर्ने चेतावनी दिए ।


लामो समयदेखि कान्द्रा नदीमा पुल निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको भजनीका जयबहादुर बुढा बताउँछन् । ‘सदरमुकाम भजनी आउन र उच्च शिक्षाका लागि पनि लालबोझीका बासिन्दाले दिनहुँ नदी तर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बर्खामा डुंगामा र हिउँदमा पानीको सतह घट्ने भएकाले काठेपुल हालेर नदी वारपार गर्ने गरेका छौं ।’


उनले पुल निर्माणमा भएको ढिलासुस्तीले कैलालीको दक्षिण क्षेत्रका बासिन्दाले सदरमुकाम धनगढीसँग सिधा जोडिन नसकेको बताए । यहाँका बासिन्दाले २५ किलोमिटर उत्तर राजमार्ग भएर धनगढी सदरमुकाम पुग्नुपर्छ । नदीमा पुल तयार नहुँदा भजनी नगरपालिकाको लालबोझी छोटी भन्सार नाकासमेत प्रभावित भएको बताए ।


कैलालीमा हुलाकी सडक निर्माणको काम लालबोझी–पवेरा सम्मको १८ किलोमिटर क्षेत्रमा मात्रै बाँकी छ । आयोजनाका इन्जिनियर ओझाले उक्त खण्डको काम पनि तीव्र गतिमा भइरहेको बताए ।


उनका अनुसार २ किलोमिटर क्षेत्रमा वसन्ता वन क्षेत्र परेकाले त्यहाँ मात्रै निर्माणको काम अवरुद्ध भएको छ । अन्य काम यही आर्थिक वर्षभित्र सकिने उनको भनाइ छ । तर कान्द्रामा पुल निर्माण नभएसम्म कैलालीलाई हुलाकी सडकले जोड्न असम्भव जस्तै छ ।

प्रकाशित : चैत्र १४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?