सत्तारूढ दलकै सांसद असन्तुष्ट

अर्जुन शाह

धनगढी — कामै गर्न नसकेको भन्दै सुदूरपश्चिम प्रदेशमा सक्तारूढ दलकै सांसदहरू सरकारसँग आत्रोशित भएका छन्  । सांसदहरूले प्रदेशसभाका पछिल्ला बैठकहरूमा लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्  ।

सत्तारूढ दलकै सांसद माया तामाङ बोहराले जनताले प्रदेश सरकारसित धेरै अपेक्षा गरे पनि काम गर्न नसकेको बताइन । ‘अहिलेसम्म बजेट कार्यान्वयनको कुनै सुरसार देखिन्न,’ उनले भनिन्, ‘सरकारको सुस्तताले जनतामा निराशा बढेको छ । बजेट कार्यान्वयन हुन नसक्नुको कारणबारे सरकारले जवाफ दिनुपर्छ ।’


सांसद दुर्गा कामीले आफूहरू जिल्लामा गएका बेला जनताहरू सरकारले केही काम गर्न नसकेको बताउँदै अनेकौ प्रश्न गर्दा आफूहरू नाजवाफ हुनुपरेको बताइन् । ‘जनताले योजना वितरणमा मनपरी भएका अनेकौ उदाहरण सुनाउँछन् । राहत नपाएको गुनासो गर्छन्,’ उनले भनिन्, ‘योजना कसरी वितरण भएका छन् भन्नेमा हामीसँग पनि जवाफ छैन । सरकार भए/नभएको अनुभूति हुन सकेको छैन ।’


सरकारले आकस्मिक राहत कोष स्थापना गरेपनि त्यसको कार्यान्वयनका लागि अझैसम्म कुनै काम नहुँदा अप्ठेरो परिरहेको सांसदहरू बताउँछन् । ‘प्राकृतिक विपद लगायतमा जनताले सानोतिनो राहत अपेक्षा गरेका हुन्छन् । त्यसैका लागि कोष स्थापना गरिएको हो । तर अहिलेसम्म त्यसको अत्तोपत्तो छैन,’ सांसद कामीले भनिन् ।


सत्तारुढ दल नेकपाकै अर्की सांसद कुन्ती जोशीले प्राकृतिक प्रकोपबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नसक्ने हो भने सरकारले आकस्मिक राहत कोष स्थापना गर्नुको औचित्य पुष्टि गर्नुपर्ने बताइन् ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत रहेका सत्तारूढ दलका सांसद हर्कबहादुर कुँवरले मंगलबारको बैठकमा सरकारले प्राकृतिक विपद्मा परेकाहरूलाई राहत दिन नसकेको आरोप लगाए । विकास बजेट खर्च गर्न नसकेको तथा आफूहरूले संसद्मा उठाएका सवालहरूमा पनि सरकारले सुनेको नसुन्यै गर्ने गरेको उनको भनाइ छ ।

सत्तारूढ दलका प्रदेशसभा सदस्यहरू हर्कबहादुर कुँवर, पूर्णा जोशी र महेशदत्त जोशी, अर्चना गहतराज, कुन्ती जोशी, माया तामाङ बोहरा, दुर्गा कामी, देवकी मल्लले प्रदेशसभाकै बैठकमा निरन्तर सरकारको गुनासो गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूको गुनासो झन् बढी छ । सांसद भरत खडका भन्छन्, ‘यो सरकार यति धेरै कमजोर होला भन्ने सोचेकै थिएनौं । योजना बिक्री गरिएका गुनासाहरू सुनिन थालेका छन् । ती योजनाहरूको कार्यान्वयनको प्रश्न त छँदै छ ।’


संसद्मा उठेका सवालमा सरकारले वास्ता नगरेको भन्ने सांसदहरूको गुनासोपछि सभामुख अर्जुनबहादुर थापाले गत आइतबार सरकारलाई ७ दिनभित्र जवाफ दिन रुलिङ गरेका थिए । सरकारले केही दिनभित्रै संसद्मा उठेका सवालमा जवाफ दिने जनाएको छ ।

अर्कोतिर संसदीय दलको बैठक नबसेर पनि समस्या भएको सांसद कामी बताउँछिन् । ‘सरकार र सांसदहरूबीच कुनै समन्वय नै छैन,’ उनले भनिन्, ‘सरकारले काम गर्न नसकेको कारण पनि थाहा नभएपछि हामीले जनतासमक्ष सरकारको पक्षमा के बोल्ने ?’

प्रकाशित : चैत्र १५, २०७५ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?