३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुर्गमकी गर्भवतीको आपतकालीन उद्धार  

अर्जुन शाह

धनगढी — बाजुरामा सिकिस्त अवस्थामा रहेकी गर्भवतीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार जहाज चार्टर गरी उपचारका लागि नेपालगञ्ज पुर्‍याएको छ । 

दुर्गमकी गर्भवतीको आपतकालीन उद्धार  

बाजुराको बुढीनन्दा नगरपालिका-३ की ४० वषर्ीया गर्भवती सेतु लोहारको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई बाजुराको कोल्टीबाट आपतकालीन उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताएका छन् । उनको आठ महिनाको गर्भ छ ।


'हातखुट्टा, आँखा सुन्निएका, फोक्सोमा पानी जमिसकेको अवस्था छ,' जनस्वास्थ्य अधिकृत कुँवरले भने, 'तत्काल सुविधायुक्त अस्पतालमा पुर्‍याउन नसकिए ज्यानै जाने जोखिम भएकाले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीकै सक्रियतामा नेपालगञ्जबाट जहाज चार्टर गरी उद्दार गरिएको हो ।'


अहिले पनि उनको अवस्था निकै जोखिमयुक्त रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनलाई तत्काल आइसियुमा राख्नुपर्ने अवस्था रहेको अधिकृत कुँवरले बताए । सेतुको यो पाँचौ गर्भ हो । यसअघि उनका ४ छोरी छन् ।


दुर्गमको विपन्न दलित समुदायकी उनलाई सोमबार बिहान कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको थियो । केन्द्रका चिकित्सकले तत्काल उनलाई सुविधायुक्त अस्पतालमा पुर्‍याउन रिफर गरेका थिए ।


'घरको आर्थिक अवस्था कमजोर भएकाले जहाज चढाएर बाहिर लैजान सक्नेे अवस्था थिएन,' उनका श्रीमान् तुले लोहारले भने, 'नेपालगञ्जमा उपचार गर्दा लाग्ने खर्च बुढीनन्दा नगरपालिकाले हामी ब्यहोर्छौ भनेको छ ।' मन्त्रालयले बाजुरा लगायत प्रदेशका विकट पहाडी जिल्लाका गर्भवतीहरुलाई जहाज र हेलिकप्टर चार्टर गरी आपतकालीन उद्धार गर्दै आएको छ ।

प्रकाशित : चैत्र १८, २०७५ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?