प्रदेशमा चिकित्सक अभाव

स्वास्थ्य कर्मचारी समायोजनको सूची सार्वजनिक हुादा सुदूरपश्चिम प्रदेशका लागि १२ जनामात्रै चिकित्सक
अर्जुन शाह

(धनगढी) — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्दा सुदूरपश्चिम प्रदेशभरका लागि १२ जना चिकित्सक मात्रै तोकिएपछि सिंगो स्वास्थ्य क्षेत्र तरंगित भएको छ  । प्रदेश अन्तर्गतका अस्पतालका लागि २ जना विशेषज्ञ र ४ जना मेडिकल अधिकृत तोकिएको छ  ।

प्रदेशमा चिकित्सक अभाव

(धनगढी) - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्दा सुदूरपश्चिम प्रदेशभरका लागि १२ जना चिकित्सक मात्रै तोकिएपछि सिंगो स्वास्थ्य क्षेत्र तरंगित भएको छ । प्रदेश अन्तर्गतका अस्पतालका लागि २ जना विशेषज्ञ र ४ जना मेडिकल अधिकृत तोकिएको छ । ६ जना र यहाँका स्थानीय तहका लागि ६ जना गरी प्रदेशभर १२ जनामात्रै चिकित्सक तोकिएको छ । १६ प्राथमिक स्वास्थ्य केन्द्र रहेकामा ६ जना मेडिकल अधिकृतमात्रै समायोजनमा पारिएको छ ।

सेती र महाकाली अञ्चल अस्पताल प्रदेश मातहत छन् । यस्तै, अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला र डोटी जिल्ला अस्पताललगायत अन्य ४ वटा गरी १२ वटा अस्पताल प्रदेश सरकारको मातहतमा रहेका छन् । १२ वटा अस्पतालमा २ विशेषज्ञ र ४ मेडिकल अधिकृत तोकिएका हुन् । यस्तै, १६ वटा स्थानीय तहमा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको दरबन्दी छ । हाल स्थानीय तहअन्तर्गत रहेका ती केन्द्रका लागि ६ जनामात्रै डाक्टर राखिएको छ । अब १० केन्द्र डाक्टरविहीन हुनेछन् । प्रदेशका लागि ३ जना आयुर्वेद चिकित्सक राखिएको छ । ‘प्रदेशलाई डाक्टरविहीन बनाउने जस्तो देखियो,’ स्वास्थ्य निर्देशनालयका अधिकृत रमेश मलासीले भने, ‘डाक्टरहरू आफूले माग्दै नमागेको ठाउँमा हचुवाका भरमा सरुवा गरिएको भन्दै रुष्ट छन् ।’

दसौं तहका डाक्टर खगेन्द्र भट्ट र नवौं तहका डाक्टर जगदीश जोशीको मात्रै सुदूरपश्चिममा समायोजन भएको छ । उनीहरू दुवैजना हाल सेती अञ्चल अस्पतालमा कार्यरत चिकित्सक हुन् । समायोजनमा उनीहरूको पनि कुन अस्पतालमा समायोजन हुने हो किटान गरिएको छैन । मन्त्रालयले पहिलो चरणमा ८, ९ र १० औं तहका चिकित्सकहरूको सूची सार्वजनिक गरेको हो । हाल यस प्रदेशमा कार्यरत २ जनाबाहेक सबै संघीय सरकारमा समायोजन भएका छन् । सुदूरपश्चिममा डडेलधुरा उपक्षेत्रीय अस्पतालमात्रै संघीय सरकार मातहत छ ।


सुदूरपश्चिमकै रेफरल सेन्टर मानिएको सेती अञ्चल अस्पतालमा स्थापनाकालदेखि हालसम्म दरबन्दी पूर्ति भएको छैन । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार गाइनो, बालरोग, फिजिसियन लगायतका ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी अहिले पनि रिक्त छ । अस्पतालले मानसिक, मुटुरोग विशेषज्ञ हालसम्म पाएको छैन । नाक, कान, घाँटी रोगको विशेषज्ञ चिकित्सक पनि छैनन् । श्रेष्ठका अनुसार सेती अस्पतालमा २१ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । हाल १० जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन् । स्टाफ नर्सलगायत अन्य कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति पनि कहिल्यै हुन नसकेको श्रेष्ठ बताउँछन् । अहिले ९ जना स्टाफ नर्सको दरबन्दी रिक्त छ ।


‘हालसम्म सुगम मानिएको सेतीमा त दरबन्दीका चिकित्सक आउन मान्दैनन् भने दूरदराजमा जान मान्ने कुरै भएन,’ प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘समायोजनको सूची हेर्दा अचम्म लागेको छ ।’ कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा १९ विशेषज्ञसहित २८ जना डाक्टरको दरबन्दी छ । तर अहिले २ जना विशेषज्ञमात्रै छन् । मेडिकल अधिकृत पनि दरबन्दीमा एकजना पनि छैनन् । कैलाली जिल्लाको अर्को मालाखेती अस्पतालमा पनि दरबन्दीअनुसार पदपूर्ति भएको छैन । मालाखेती अस्पतालमा ३ जना चिकित्सकको दरबन्दी हो । हालसम्म १ जनाभन्दा बढी चिकित्सक दरबन्दीमा हाजिर भएका छैनन् । जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरूले समेत नर्स, अनमी, अहेबलगायतका प्राविधिक कर्मचारी र चिकित्सक पाउन सकेका छैनन् । कैलालीकै अर्को अस्पताल टीकापुर अस्पताल प्रशासनका अनुसार बालरोग, स्त्रीरोग, हाडजोर्नी, साइकियाट्रिक, फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थेसियालोजिस्ट लगायतका विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि पदपूर्ति भएको छैन । अछाममा पनि उस्तै हालत छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला अस्पताल अछाममा लामो समयदेखि मेडिकल सुपरिटेन्डेन्ट पद रिक्त छ । मेडिकल अधिकृत पनि केहीअघि सरुवा भएर गएपछि स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन ।


प्रदेशमा स्वास्थ्यचौकी ३ सय ७६, प्राथमिक स्वास्थ्य केन्द्र १६, जिल्ला अस्पताल ४, अञ्चल, उपक्षेत्रीय अस्पताल ३, प्रसूति सेवा केन्द्र ३ सय ७१ छन् । तीमध्ये विशेषज्ञ चिकित्सक ७४, मेडिकल अधिकृत ७१, जनस्वास्थ्य अधिकृत ६९, मेडिकल रेकर्डर ४, अहेब, अनमी ४ सय १९, नर्स १ सय ३० लगायत ३ हजार १ सय ७७ पद छन् । जसमध्ये ६ सय ३२ पद रिक्त छन् । यसैबीच समायोजनमा असहमति जनाउँदै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरू आन्दोलित भएका छन् । शुक्रबारदेखि आंशिक रूपमा आकस्मिक सेवा ठप्प पारिएको चिकित्सक संघका प्रदेश अध्यक्ष डा. प्रमोद जोशीले बताए । सेती अञ्चल अस्पतालका १३ जना डाक्टरको संघीय सरकार मातहतमा रहेका अस्पतालमा समायोजन भएपछि अस्पताल डाक्टरविहीन अवस्थामा पुग्ने भएको हो । अस्पतालमा १५ जना सरकारी डाक्टर रहेकामा १३ जना संघीय सरकारअन्तर्गत समायोजन भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले समायोजनअनुसार सेती अञ्चल अस्पतालमा डाक्टरविहीन हुने अवस्था आएको बताए । समायोजन सूचीमा परेका डाक्टरहरूले २१ दिनभित्र तोकिएको संस्थामा हाजिर हुनुपर्ने उल्लेख छ ।

प्रकाशित : चैत्र २३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?