३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चुरे फेदीबाट अर्को सडक योजना

मोहन बुढाऐर

(धनगढी) — चुरे क्षेत्र संकटमा पर्दै गएका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने चुरे फेदी हुँदै चिसापानी– ब्रह्मदेव धार्मिक सडक निर्माणको योजना अघि सारेको छ  । वन वातावरण क्षेत्रका विज्ञले तराईको भविष्य सुरक्षित राख्न चुरे बचाउ अभियानमा जुट्नुपर्ने बेला चुरेको घाडीघाँचबाटै हुने सडक निर्माणले चुरेलाई ठूलो असर पर्ने बताएका छन्  ।

प्रदेशका भौतिक तथा योजनामन्त्री फठानसिंह बोहराले शुक्रबार धनगढीमा आयोजित कार्यत्रममा चुरेको फेदी हुँदै कर्णाली चिसापानीबाट कञ्चनपुरको ब्रह्मदेवसम्म धार्मिक पर्यटन सडक निर्माण गर्ने बताएका हुन् । उनले यसका लागि डीपीआर निर्माणको तयारी भइरहेको जनाएका छन् । वन वातावरण क्षेत्रका जानकार पूर्व वन अधिकृत रमेश चन्दले चुरे फेदीबाट निर्माण गरिने सडक योजनाले ठूलो क्षति हुने बताए ।

‘चुरेको भावर तराईको पानी भण्डारण गर्ने ठाउँ हो,’ उनले भने, ‘पानी रिचार्ज हुने भावर क्षेत्र बचाउन नसकिए, तराईको भविष्य संकटमा पर्छ ।’ उनले भावर क्षेत्रको वनजंगल क्षेत्र बचाउने बेलामा वातावरणीय प्रभाव मूल्यांकन बिनाका सडकलगायत पूर्वाधार विकासका योजना अघि बढाउन ठीक नभएको बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन (आईई) ले चुरे विनाशले पार्ने असरबारे बताउनेछ,’ उनले भने, ‘आईई रिपोर्टले देखाउने रोकथामका उपाय अवलम्बन नगरी कुनै पनि योजनालाई अगाडि बढाउन सकिंदैन ।’ तर मन्त्री बोहराले चुरे फेदीबाट निर्माण गरिने सडक योजनाले उल्टो चुरेबाट आउने बाढीको बहाव रोक्ने दाबी गरे । ‘पानीको बहाव रोकिँदा पानीको रिचार्ज बढ्छ,’ उनले भने, ‘सडक निर्माण गर्दा रूख कटानी र भू–क्षय क्षति नहुने गरेर काम अघि बढ्नेछ ।’ उनले वातावरण प्रभाव मूल्यांकन गरेर सडक योजना लागू हुने बताए । वातावरण प्रभाव मूल्यांकनले वन वातावरण प्रभावमा परेको असरका रोकथामलाई समेत अवलम्बन गरिने उनी बताउँछन् ।

चुरे फेदका धार्मिक महत्त्वका स्थानलाई समेत जोड्दै लैजाने भएकाले पर्यटकीय सडक बन्ने उनको दाबी छ । उनले कैलाली कञ्चनपुरलाई सीधा जोड्ने हुलाकी र महेन्द्र राजमार्गपछि अर्को ठूलो सडक योजनासमेत बन्ने बताए । त्यसैले यो सडक निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाउन लागेको बताए । उनले पश्चिम ब्रह्मदेवबाट भीमदत्त नगरपालिकाले उक्त धार्मिक पर्यटन मार्गको काम सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार अहिले १५ किलोमिटर सडक निर्माण भइसकेको छ । उनले उक्त सडक योजनासँगै प्रदेश सरकारले प्रदेश गौरवका सडक योजनाको कामसमेत अघि बढाएको बताए । ‘सुदूरपश्चिमका सबै जिल्लामा प्रदेश गौरव सडक योजना आर्थिक मेरुदण्डका रूपमा बन्नेछन्,’ उनले भने, ‘सरकारले यहाँको जनताको जीवनस्तर उकास्ने अन्य योजनाहरू पनि ल्याएको छ ।’ उनले सरसर्ती प्रतिशतमा हेर्दा विकासले गति लिन नसकेजस्तो देखिए पनि आर्थिक वर्षको अन्त्यमा ८० प्रतिशत काम हुने दाबी मन्त्री बोहराले गरे ।

‘कामले गति लिइरहेको छ’ उनले भने, ‘भुक्तानी नभएकाले तथ्यांकमा खर्च कम देखिएको मात्रै हो ।’ उनले फागुनसम्ममा १० प्रतिशतमात्र वित्तीय प्रगति देखिए पनि करिब २४ प्रतिशत विकास निर्माणको काम भएको बताए । पछिल्लो समयमा कामको गति निकै तीव्र भएकाले आर्थिक वर्षमा ८० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको उनले जनाए । कर्मचारी अभाव मन्त्री बोहराले कर्मचारीहरूको अभावले सहरी विकास कार्यालयको काम अघि बढ्न नसकेको बताए । ‘कर्मचारी समायोजनले प्रदेश सरकारको काम केही प्रभावित बन्न पुगेको हो,’ उनले भने । उनका अनुसार कर्मचारीको अभावमा जनता आवास कार्यक्रम, बझाङको चैनपुर र कञ्चनपुरको ब्रह्मदेवको नयाँ सहर योजना र डडेल्धुराको रुपाल स्मार्ट भिलेजको काम प्रभावित भएको छ । साक्षात्कार कार्यक्रममा मन्त्री बोहराले प्रदेश सरकारले प्रदेश बस सेवा सञ्चालनका लागि भन्दै २० करोड विनियोजन गरेको र त्यसका लागि प्रक्रिया अघि बढाएको जानकारी दिए । कुन मोडेलमा बस सेवा
सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन भइरहेको उनले जानकारी दिए ।

अपुग ३ अर्ब माग मन्त्री बोहराले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ अर्ब ८६ करोड बजेट रहेकमा यो रकम अपुग भएकाले केन्द्र सरकारसँग थप ३ अर्ब माग गरेको जानकारी दिए ।

प्रकाशित : चैत्र २३, २०७५ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?