२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बिसु मनाउन घर फर्कंदा सीमामा सास्ती

‘पोकापुन्तरा फुकालेर जाँच गराउनुभन्दा सय/पचास रूपैयाँ हातमुनि समाउन दिए छुट्टिकाट्टी हुने रै’छ ।
मोहन बुढाऐर

धनगढी — चौध वर्षको उमेरदेखि भारतको मुम्बईमा काम गर्दै आएका अछाम बैचडाका ३५ वर्षीय शेरबहादुर साउद बर्सेनि बिसु पर्व (नयाँ वर्ष) मनाउन घर फर्कन्छन् । घर फर्किने क्रममा भारत र नेपालको सीमा नाकामा ‘ब्यारिएर’ राखेर बसेका दुवै देशका सुरक्षाकर्मीले दिने सास्ती कहिल्यै नटुट्ने भो’ भन्छन, उनी । 

बिसु मनाउन घर फर्कंदा सीमामा सास्ती

पढ्न नसकेर भारत पसेका शेरबहादुरले मुम्बईमा काम गर्न थालेको २१ वर्ष भएको छ । पहिला एक्लै जाने उनी विवाह गरेपछि भने परिवारसहित भारत जाने गरेको बताउँछन् । दुई बालबच्चासहित घर फर्कने बेला धनगढी बसपार्कमा भेटिएका उनले हरेक वर्षझैं, बिसु मनाउन सपरिवार घर फर्कन लागेको बताए । पहिलाको जस्तो बाटैमा लुटिने घटना कम भए पनि सिमानामा सुरक्षा जाँचका नाममा सास्ती भोग्नुपरेको बताए ।


‘परिवारसहित घर फर्कंदा ‘गुन्टागुन्टी’ (मालसामान) पनि धेरै हुन्छ,’ उनले भने, ‘वारिपारि (नेपाल–भारत) दुवैतिरका सुरक्षा र भन्सारकर्मीले चेकजाँचका नाममा सास्ती दिन्छन् ।’ उनले गौरीफन्टा भन्सारमा सशस्त्रले ३ ठाउँमा, नेपाल पुलिसले २ र भन्सारले १ गरी ६ ठाउँमा चेकजाँच गर्ने गरेको बताए ।


बिसु मनाउन घर फर्कंदै गरेका डोटी नाने केदारका नन्दलाल विकले भन्सारको सहजताका लागि सुरक्षाकर्मीलाई पैसा खुवाएको बताउँछन् । ‘पोकापुन्तरा फुकालेर चेकजाँच गराउनुभन्दा सय/पचास रुपैयाँ हातमुनि समाइदियो । छुट्टिकाट्टी हुने,’ उनले भने, ‘मैले त्यस्तै गरें ।’ उनले नेपालतिर सशस्त्र पुलिसलाई र भारतमा भन्सारकर्मीलाई ५०/५० भारु दिएको बताए ।


दस वर्षदेखि भारतको महाराष्ट्रमा चौकीदारको काम गर्दै आएका विकसँगै रहेका नन्दलाल कोलीले भने, ‘भन्सारमा यो सधैंको लुट हो, हजुर ।’ उनले गतवर्ष यही बिसुमा घर फर्कंदा आफ्नै जिल्लाका त्रिलोचन भट्टलाई मुख्यमन्त्री भएको थाहा मात्रै पाएनन्, सञ्चारमाध्यमबाट मुख्यमन्त्रीले आफूले भारतमा चौकीदार गरेको कुरा भनेको पनि सुनेका थिए । त्यो सुनेर आफूलाई खुसी लागेको बताए । उनी भन्छन्, ‘मुख्यमन्त्रीले हामी नेपालीले भारतमा चौकीदार गर्नुपर्ने दिनको अन्त्य गर्छु भनेको सुनेको थिएँ । तर कहिले गर्ने हुन् थाहा छैन ।’


‘चौकीदारका दुःख त के हटाउन सकन्ना ∕ सिमानामा नेपालीले पाउने दुःख हटाइदिए पनि धेरै हुन्थ्यो,’ उनले भने । उनले आफू भारतबाट फर्कने बेलामा गौरीफन्टा नाकामा पटकपटक लुटिएको दुखेसो गरे । उनी भन्छन्, ‘मुख्यमन्त्री चौकीदार गर्न भारत जाँदा कति पटक लुटिए, उनैलाई थाहा होला । तर नलुटिएर पनि दुःख त पक्कै पाएका होलान् । त्यसैले सिमानामा घर फर्कंदा नेपालीले भोग्नुपरेको पीडालाई बझिदिनुपर्‍यो ।’ उनले ३ वर्षअघि भारतीय प्रहरीले बोकेर ल्याएको भारु एक/एक हजारका दस नोट र ५/५ सयका दस नोट जबर्जस्ती लुटेको बताए । त्यसबेला आफूले मात्रै नभएर धेरै नेपालीबाट हजार र पाँच सयको नोट थुतेको बताए । उक्त घटनापछि कहिले पनि भारु ५ सय र हजारको नोट बोकेर नल्याएको उनले बताए ।


यो वर्ष त उनले उतैबाट आईएमई गरेको बताए । उनका अनुसार हाल अधिकांश नेपालीले नगद रकम बोकेर ल्याउँदैनन् । उनले यात्रामा र सीमामा लुटिने डरले नगद बोक्न छोडेको बताए । उहिले उहिले बासको यात्रामा पाकेटमार, लुटेराहरूले बेहोस पारेर लुट्ने गरेका कारण पनि नगद बोकेर ल्याउन छाडेको उनको कथन छ । ‘नेपालीले नगद बोक्न छाडेपछि बाटोमा पाकेटमारका घटना पनि कम भएका छन्,’ उनले भने, ‘सीमामा पनि पहिलाको जस्तो छैन ।’


भारतको पन्जाबमा काम गर्ने डोटी बर्छैनका भूपेन्द्र मल्लले पछिल्लो समयमा दिल्लीबाट सीधै धनगढी बस सुरु भएकाले यात्रामा त्यति धेरै लुटिने डर नहुने बताए । यात्रा कष्टकर पनि नहुने बताए । तर नेपालमा आएपछि आफू कैयौं पटक नेपाल बन्दमा परेर बसपार्कमा अत्रपत्र परेको कथा भने उनले सुनाए ।


उनले नेपालमा टिकट नपाएर उभिएर बसको यात्रा गर्नुपरेको र बसपार्कका होटल र डान्सबारमा लुटिनुपरेको बताए । उनले भने, ‘धनगढीको बसपार्कभित्र रातबास र खानाको नामममा लुट्ने गर्छन् । यसमा सरकारको ध्यान जानुपर्‍यो ।’

प्रकाशित : चैत्र २५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?