कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हचुवाका भरमा योजना

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिममा संघ र प्रदेश सरकारले पर्यटन प्रवर्द्धनात्मक योजना र कार्यक्रममा विनियोजित रकम हचुवाका भरमा खर्च हुने देखिएको छ । आव सकिन ३ महिना बाँकी रहँदा कार्यक्रम कार्यान्वयनको अवस्था शुन्य जस्तै छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बजेट कार्यान्वयन गर्न भर्खर पर्यटनका ३ वटा इकाई स्थापना गरेको छ । 

मन्त्रालयको पर्यटन शाखाका अधिकृत भोजराज पाठकले योजना कार्यान्वयन गर्न मातहतका संरचना नभएकाले ढिलो भएको बताए । बैतडी, डोटी र कैलालीमा पर्यटन विकास कार्यक्रम इकाई स्थापना गरिएको पाठकले बताए । उनकाअनुसार ती इकाईमा इन्जिनियरसहित ६ जना कर्मचारीको पदपुर्ति करार नियुक्तिबाट गरिएको छ । उनले पर्यटन बोर्ड मातहातका संरचना नभएकाले बजेट कार्यान्वयन गर्न मन्त्रालयले पर्यटन विकास कार्यक्रम इकाई स्थापना गरेको बताए ।


मन्त्रालयका एक कर्मचारीले भने भर्खर स्थापना भएको संरचनाले ३ महिनाभित्र ४ सय बढी योजना सम्पन्न गर्न नसकिने बताए । ‘यति धेरै योजनालाई प्रयाप्त प्रतिस्पर्धात्मक माध्यमबाट ठेक्का सम्झौता गरी कार्यान्वयन गर्न समयनै पुग्दैन’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘योजनाको रकम हचुवा तालमा खर्च हुने सम्भावना देखिन्छ ।’ ती कर्मचारीकाअनुसार क्षमता अभिवृद्धि, प्रचारप्रसारका कार्यक्रमको बजेटबाहेक चालु आवमा भौतिक पुर्वाधार र अध्ययनका लागि ३ महिना समय अपुग हुने बताए ।


उनले पर्यटन प्रवर्द्धनमा विनियोजित बजेटको क्षेत्र र खर्च उपशीर्षक रकम पनि हचुवाका भरमा छुट्टयाइएको बताए । पर्यटन शाखाका अधिकृत पाठक पनि चालु आर्थिक वर्षको बाँकी अवधिमा बजेट खर्च गर्न सहज नभएको बताउँछन् । ‘सबै योजना सम्पन्न नहुन सक्छन्’ उनले भने, ‘अधुरा योजनालाई अर्को आर्थिक वर्षमा पूरा गर्न सकिन्छ ।’


सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि चालु आवमा विनियोजित बजेट प्रदेशको २३ करोड ४२ लाख र संघीय सरकारको ४ करोड ५१ लाख छ । मन्त्रालयले चालु आवमा आन्तरिक पर्यटन प्रवर्द्धनमा १५ लाख, घोडाघोडी ताल संरक्षणमा २० लाख, टुरिज्म प्रोफाइलमा २ लाख, निजामती कर्मचारी प्रोत्साहन आन्तरिक पर्यटनमा ३० लाख, पर्यटन बोर्ड गठनमा ५ लाख, पोर्टरगाइड तालिममा ६० लाख, प्रदेश स्तरीय पर्यटन सूचना केन्द्रमा १० लाख, पर्यटन विकास नीति नियम निर्माणमा ५ लाख, मिडिया परिचालनमा २० लाख विनियोजन गरेको जनाएको छ ।


पर्यटकीय गन्तव्य आफ्नै जिल्लामा बढी

प्रदेश सरकारले छनोट गरेका २० पर्यटकीय गन्तव्यमध्ये ६ उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले गृह जिल्ला बैतडीमा पारेकी छिन् । ती योजनामध्ये विभिन्न मठमन्दिरमा १० लाखसम्मको बजेट विनियोजन गरिएको छ ।


भारतीय धार्मिक पर्यटकीय दृष्टिकोणले अति महत्वपुर्ण मानिने कञ्चनपुरको बहमदेव सिद्धवावा र कैलालीको वन बेहेडा बाबा मन्दिर धाम प्रदेश सरकारको प्रदेश गन्तव्यमा परेको छैन । जबकी यहाँ बर्षमा १० हजार बढी धार्मिक पर्यटकहरू आउने गरेका छन् ।


त्यस्तै, मन्त्री भट्टले बैतडीको पाताल भुमेश्वर, रौला शिगास धुरा, त्रिपुरा सुन्दरी, ईश्वरी गंगा, पञ्च देवल, जगन्नाथ, निङ्लासैनी, देउलेक र ग्वालेक, मेलौली, पुर्चौडी र पनेरुकोटलगायतका धार्मिक क्षेत्रलाई धार्मिक कोरिडोरको सम्भाब्यता अध्ययनमा बजेट विनियोजन गरेकी छिन् ।

प्रकाशित : चैत्र ३०, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?