शक्तिपीठमा भक्तजनको घुइँचो

कान्तिपुर संवाददाता

बैतडी — विभिन्न ठाउँबाट यहाँका धार्मिक स्थलतर्फ जानेहरूको लर्को लागेको छ । उनीहरू भजनकीर्तन गर्दै भगवतीका मन्दिरमा गइरहेका थिए । चैतेदसैंको अवसरमा जिल्लामा रहेका भगवतीका मन्दिरहरूमा बिहानैदेखि भप्य मेला लागेको छ ।

बैतडीको देहीमाण्डौंस्थित निंगलासैनी भगवती मन्दिरमा सहभागी दर्शनार्थी । तस्बिर : कान्तिपुर

नवरात्रिको दिनदेखि देवस्थलहरूमा पूजाअर्चना सुरु हुन्छ । बैतडीका देहीमाण्डौस्थित प्रसिद्ध निङ्गलासैनी भगवती मन्दिरमा बलिसहित पूजाचलेको छ ।स्थानीय भक्तजनहरू आ–आफ्नो गाउँटोलबाट भाकल पूजा गर्न राँगा, बोका लिएर मन्दिर जाने गर्छन् । मन्दिरमा दिइएको बलिलाई कठै बिचराभन्दा भन्न हुँदैन भन्ने मान्यता छ । त्यसो भन्दा पाप लाग्ने मान्यता रहेको सुर्नया गाउँपालिकाकी पवित्रा भट्ट बताउँछिन् । उनले भनिन्, ‘म सधैं मेलामा जान्छु । तर कहिल्यै कठै भन्ने शब्द बोल्दिनँ, त्यसो भन्दा अनिष्ट हुने विश्वास रहिआएको छ ।’

चैतेदसैंमा यहाँका शक्तिपीठहरूमा पूजाअर्चना गर्दा मनले चाहेको पूरा हुने जनविश्वास रहिआएको छ । यही मान्यताले जिल्लाबाहिर टाढाटाढाबाट पनि भक्तालुहरू आउने गरेको पुजारी देवदत्त भट्ट बताउँछन् । उनले भने, ‘करिब एक हजारभन्दा बढी स्थानीय वर्षको अन्तिम दिन परेको चैतेदसैंको मेला भर्न आएका छन् ।

त्रिपुरासुन्दरी, मेलौली भगवती, डिलासैनी भगवतीलगायतका मन्दिरहरूमा समेत सनिबार बिहानैदेखि पूजाआजामा आएकाहरूको भीड लागेको मेलौलीका लक्ष्मण पार्कीले बताए । उनले भने, ‘मिठोमसिनो खाई, पूजाआजा गरी चैतेदसैं मनाइन्छ । यो पर्व विजयादशमीजस्तै भव्यताका साथ मनाइन्छ ।’ घरबाहिर भएकाहरू पनि यतिबेलै आउने गरेको उनले बताए । यस पर्वका अवसरमा देउडा खेल्ने चलन पनि कायमै छ ।

मेलामा आएका युवायुवतीहरू भागेर बिहे गर्ने प्रचलन रहेको पाटनका धनी बोलीले बताए । उनले भने, ‘यो चलन पछिल्लो समयमा केही घटेको भए पनि कतिपय केटाकेटीले यसै दिन भागेर बिहे गर्छन् ।

मन्दिरहरूमा लाग्ने मेलालाई शान्तपूर्ण रूपमा सम्पन्न गर्नका लागि मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरीएको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । उनले भने, ‘यो दिन अत्यधिक घुइँचो हुने भएकाले कुनै अप्रिय घटना हुन नपाओस् भनेर मदिरा सेवनमा रोक लगाएका हौं ।’

मेलाहरूलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । सबै ठाउँमा आवश्यक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले बताएका छन् ।

तृप्ति शाही(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख १, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिस्नु लगाउँदै साली–भिनाजु

मेनुका ढुंगाना

अछाम — नयाँ वर्षलाई अछाममा फरक तरिकाले स्वागत गर्ने चलन छ । देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुले एकआपसमा सिस्नु चिलाएर शुभकामना दिन्छन् । 

पुतला खेलेर पनि नयाँ वर्ष मनाउने चलन छ । भारत गएकाहरू गाउँ फर्किएका छन् । गाउँका सार्वजनिक स्थलमा पुतला खेलले रौनकता छाएको छ । बिसु पर्वमा सेलरोटी, मासको फाँडो, भात, मासको बटुक, फाउने माडा यस पर्वमा पकाइने मुख्य परिकार हुन् ।

‘बिसु पर्वमा विवाह गरेका छोरी, नन्दहरू माइती घरमा आएर रमाइलो गर्ने चलन छ,’ मंगलसैन ५ कि झुमा भाटले उनले भनिन्, देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुले एक आपसमा सिस्नु चिलाएर रमाइलो गर्छन् ।’ यो चलन जिल्लाभर छ ।

वर्षको सुरुआतमा रमाइलो गर्ने, मिठो परिकार बनाएर खुवाउँदा सामाजिक एकता, सद्भाव कायम हुने र वर्षभरि सुख, शान्ति र समृद्धि आउने विश्वास रहेको स्थानीय बताउँछन् । ‘नयाँ वर्षका रूपमा मनाइने यो पर्वका दिन प्रत्येक घरमा ‘गतानी डुब्का’ स्थानीय खानाको परिकार) पकाउने चलन छ ।

प्रकाशित : वैशाख १, २०७६ ०९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT