कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मल्हम बन्दै आवास गृह

बैतडी — पाटन बजारको एक घरमा केही महिला र बालबालिका बस्छन् । तर घरको गेटमा चौबीसै घण्टा ताला लगाइएको हुन्छ । बिनाकाम त्यहाँभित्र कसैलाई छिर्न अनुमति छैन । काम विशेषले भित्रै पस्नै परे परिचय खुल्ने कागजपत्र खोजिन्छ । गोपनीयतालगायत कुरामा सचेत गराउँदै हस्ताक्षर गरेपछि मात्रै भित्र जान मिल्छ ।

घरभित्र महिला र बालबालिकाहरू बस्छन् । बैतडीकी उमा (नाम परिवर्तन) त्यस घरमा बस्नेमध्येकी एक हुन् । उनी त्यहाँ बस्न थालेको ७ महिना हुन थाल्यो । पतिबाट दिनहुँ हुने हिंसा सहन नसकेपछि उनी घर छाडेर त्यही घरमा बस्न थालेकी हुन् । उनले भनिन्, ‘रातदिनको शारीरिक र मानसिक यातनाले घर छाड्नुपर्‍यो । नत्र घर गरिखान कसलाई पो रहर हुँदैन र ।’ आफ्नै घरमा बस्न धेरै प्रयास गरे पनि सम्भव नभएको उनको भनाइ छ । माइतीहरूबाट मागेर घर धान्दा पनि खुसी नपाएको दुखेसो पोखिन् ।


उमा जस्तै अरू पनि विभिन्न घरेलु हिंसापीडित महिलाहरू सुरक्षित आवास गृहमै बस्छिन् । एक अन्य महिला पनि यहाँ आएको ७ महिना भयो । पतिले घरमा खान, लगाउन र बस्न नदिएपछि अन्तिममा यही घरको शरण लिएको उल्लेख गर्दै उनले भनिन्, ‘कति दिन खोला, जंगल बसेँ । धेरैपटक प्रहरी कार्यालयमा गए पनि हिंसा छुटेन । त्यो दर्दनाक अवस्थाबाट कसरी फुत्किएँ, आफैंलाई थाहा छैन ।’ हाल एउटा संस्थाको सहयोगमा दुवैले सिलाइकटाइ तालिम लिइरहेका छन् ।


सुरक्षित महिला आवास गृहमा ५ महिला र ५ जना बालबालिका बस्छन् । यसरी हिंसापीडित भई घरवारविहीन भएका महिला तथा बालबालिकाहरूलाई यहाँ आश्रय दिइएको छ । हालसम्म एक बालिका, एक बालक र १ सय १३ हिंसा पीडितहरू यहाँ बसिसकेका छन् ।


उनीहरूलाई विभिन्न सीपमूलक तालिम सिकाइ स्वरोजगार बनाएर पठाइने गरिएको मनोविमर्शकर्ता सरस्वती लेखकले बताइन् । उनका अनुसार हालसम्म आएकामध्ये सय जनाको पुनःस्थापना भइसकेको छ । संस्था ०७३ मा स्थापना भएको हो । लैंगिक हिंसालाई शून्यमा पुर्‍याउने उद्देश्यले महिला र बालबालिकाहरूलाई आश्रय दिइरहेको यूएनएफपीएका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?