बिग्रिए नगरका सीसीक्यामरा

धनगढी — आपराधिक घटना बढ्न थालेपछि धनगढीमा सुरक्षा चुनौती थपिँदै गएको छ । अपराध रोकथामका लागि आवश्यक मानिएको सीसीक्यामरा र सडक बत्तीको व्यवस्थापन प्रभावकारी छैन । धनगढीका १४ मुख्य स्थानमा जडान गरिएका सीसीक्यामरा काम नलाग्ने भए पनि पुनः राखिएका छैनन् ।

व्यस्त बजार क्षेत्रमा चोरी, लुटपाटसँगै हत्याहिंसाका घटना बढेपछि २०७२ मा उद्योग वाणिज्य संघको सहयोगमा प्रहरीले १४ ठाउँमा क्यामरा जडान गरेको थियो । तिनको संरक्षण भने हुन सकेन । केही बिग्रिए, केही तोडफोड गरिए ।


क्यामरा जडान भएपछि धनगढीमा आपराधिक घटनामा कमी आएको थियो । केही घटनामा संलग्नलाई त्यही फुटेज हेरेर प्रहरीले दोषी पत्ता लगाएको पनि थियो । ‘हामीले त प्रहरीसँग सहकार्य मात्र गरेका हौं । क्यामराको संरक्षण र मर्मतको काम त प्रहरीले नै गर्नुपर्ने थियो,’ संघका अध्यक्ष पुष्पराज कुँवरले भने ।


यहाँको सुरक्षा चुनौती पछिल्लो समय थपिएको छ । प्रदेश मन्त्रालयहरू यहीँ छन् । मुख्यमन्त्री र मन्त्री निवास पनि यहीं छन् । विशिष्ट व्यक्तिहरूको आवागमन भइरहने भएकाले पनि सुरक्षा दृष्टिकोणले संवेदनशील बनेको प्रहरी अधिकृतहरू बताउँछन् । सुरक्षा अवस्था चुस्त बनाउन बिग्रेका उपकरण मर्मत गर्ने वा नयाँ जडान गर्नेमा सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।


मन्त्रालय, उद्योग वाणिज्य संघ, नगर, उपमहानगर कसैले पनि यसतर्फ चासो नदिएको स्थानीय बासिन्दा बताउँछन् । ‘हामी पहल गरिराखेका छौं,’ डीएसपी दक्षकुमार बस्नेतले भने, ‘अबको योजनामा धनगढी मात्र नभई जिल्लाभरिकै अपराध बढी हुन सक्ने सम्भावना रहेका स्थानमा सीसीक्यामरा जडान गर्ने योजना छ ।’


स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा सीसीक्यामराको स्टिमेट तयार भइसकेकाले अब चाँडै जडान हुने उनको दाबी छ । क्यामरा जडानपछि शान्ति सुरक्षा र प्रहरीलाई अनुसन्धान कार्यमा निकै सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे । जनसंख्या भएको र खुला सीमासँग जोडिएका कारण पनि जिल्लामा अपराधमा संलग्न व्यक्ति सहजै भारत भाग्न सक्ने सम्भावना छ ।


सीसीक्यामरा अभावमै अपराध नियन्त्रणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा पनि स्विकार्छन् । उनले भने, ‘यसअघि जडान गरिएका क्यामरा प्रयोगविहीन अवस्थामा छन् । अब स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी क्यामरा जडानको पहल भइरहेको छ ।’


धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बड हाल पालिकाभरि अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको बताउँछन् । उनले भने, ‘यी कार्य सम्पन्न भएपछि नगरका विभिन्न स्थानमा सीसीक्यामरा जडान गर्न प्रहरीलाई सघाउँछौं ।’


निर्मला खडायत

(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ३, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?