जहिल्यै विद्युत् अवरुद्ध

मेनुका ढुंगाना

अछाम — ‘आकाशमा बादल लाग्दा होस् या हावा चलोस्, तुरुन्तै विद्युत् सेवा बन्द हुन्छ । बिजुलीको कुनै भरोसा नभएकाले सेवा प्रवाहमा कठिनाइ भएको छ,’ मंगलसेनका इलेक्ट्रोनिक व्यवसायी नमराज न्यौपाने भन्छन्, ‘मंगलसेनमा सोधे साँफेबगरमा बिग्रेको छ भन्ने जवाफ आउँछ, साँफेबगर सोधे दिपायल भन्छन् । दिपायलमा बुझ्दा अत्तरियालाई जानकारी होला भन्ने खबर आउँछ । आधिकारिक जानकारी कतैबाट आउँदैन ।’ 

विद्युत् नियमित नहुँदा आफूहरूको व्यवसाय नै धरापमा पर्न थालेको सुनाउँदै व्यवसायी न्यौपानेले विद्युत्कै कारण धेरै पटक पसल बन्द गरेर बस्नुपरेको बताए । ‘हिजोदेखि बिजुली छैन । १५ जना सेवाग्राहीलाई फिर्ता पठाइसकेँ । व्यवसाय नै यही भएकाले गुजारा चलाउनै कठिन भएको छ,’ अर्का व्यवसायी दुर्गा बोगटीले भनिन्, ‘फोटो, फोटोकपी, लेमिनेसन गर्न आएका ग्राहक रित्तै फर्किए । जेनेरेटर चलाउनलाई बजारमा पेट्रोल पनि छैन ।’


विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा जिल्लामा सञ्चालनमा रहेका ८ वटा एफएम पनि बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरू बताउँछन् । ‘रेडियो चलाउनलाई विद्युत्बाहेक अन्य विकल्प छैन । रेडियो अछामका प्रमुख टेकबहादुर थापाले भने, ‘सूचना, सञ्चारबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।’ जिल्लामा सञ्चालनमा रहेका पत्रपत्रिका पनि बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।


हाल डोटीको पूर्वीचौकी गाउँपालिकामा रूख र पोल ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण अछाम शाखाका प्रमुख विजय रेग्मीले बताए । ‘तारहरू पूरै काटिएकोले मर्मत गरिरहेका छौं,’ उनले भने, कति समय लाग्छ भन्न सकिन्न ।’ विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका ६ हजार ग्राहक र ४५ हजार घरधुरी मारमा पर्ने गरेको उनले बताए ।


पटकपटक अछाममा हुने गरेकोबारे क्षेत्रीय प्रसारण लाइन अत्तरियालाई जानकारी नभएको कार्यालयका इन्जिनियर चिजबहादुर गुरुङले बताए । ‘शाखाले जानकारी नदिँदासम्म हामीलाई केही थाहा हुँदैन, हालसम्म अछाममा विद्युत् अवरुद्ध भएको जानकारी आएको छैन,’ उनले भने, ‘डोटीबाट अछाम जाने एउटै लाइन ११ केभीको हो । जंगल नै जंगल भएकाले हावाहुरी आउँदा विद्युत् सेवा बन्द हुन्छ ।’


उनका अनुसार केन्द्रीय प्रसारण लाइनको मात्रै प्रयोग हुने जिल्लाहरूमा यो समस्या देखिने गरेको छ । ‘सुदूरपश्चिममा बाजुराबाहेक अन्य ८ जिल्लामा केन्द्रीय प्रसारण लाइन पुगेको छ । ती जिल्लाहरूमा पनि यस्तै समस्या छ,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?