महुवा संकलन सुरु

गणेश चौधरी

टीकापुर — तराईका जंगलमा पाइने महुवाको फूल संकलन सुरु भएको छ । महुवाको फूल थारू समुदायले पुस्तौंअघिदेखि रक्सी बनाउन प्रयोग गर्छन् । जंगलमा रहेका महुवाको फूल खस्न थालेपछि संकलन थालिएको हो । 

महुवाको फूलबाट उच्च स्तरको रक्सी बन्ने थारूहरू बताउँछन् । जंगल छेउका गाउँका थारू समुदाय जंगलमा गई आजभोलि महुवाको फूल संकलन गर्ने र त्यसबाट रक्सी बनाउने गरेका हिरूलाल डगौराले बताए । उनले भने, ‘स्थानीयलेआ–आफ्ना रूख रोजेर महुवासंकलन गर्छन् ।’

भजनी नगरपालिकाको वनदेवी सामुदायिक वनका सचिव लक्ष्मण चौधरीले महुवाको रक्सी केमिकलरहित हुने भएकोले रक्सी सेवन गर्नेहरूले यसको रक्सी धेरै मन पराउने गरेको बताउँछन् । उनले भने, ‘थारू समुदायमा पाहुनालाई रक्सी दिएर स्वागत गर्ने चलन छ र यसको रक्सीले विशिष्ट पाहुनालाई स्वागत गर्ने पुरानो चलन हो ।’

यहाँका सामुदायिक वनले महुवाबाट आर्थिक आम्दानी पनि गर्ने गरेका छन् । संरक्षणकर्मी विजयराज श्रेष्ठले एक रूखको करिब २ सयसम्म लिएर महुवाको फूल संकलन गर्न दिने गरेका बताए । उनले भने, ‘एक रूखबाट करिब ५०/६० किलोफूल झर्छ ।’

यो सिजनमा खासै खेतीपातीको काम पनि नहुने भएकोले जंगल किनारका थारू समुदाय जंगलमा गएर महुवाको फूल संकलनमा व्यस्त रहने श्रेष्ठले बताए । उनले भने, ‘कम्पनीमा बनाइएका रक्सीभन्दा यसको रक्सी उत्तम मानिएको छ ।’

महुवाको फूल राति बढी खस्ने भएकोले कतिपय संकलक जंगलमै रूखमुनि बास बस्ने पनि श्रेष्ठले बताए । उनले भने, ‘वर्ष दिनका लागि संकलन गर्ने र आवश्यकताअनुसार रक्सी बनाएर खाने, खुवाउने गर्छन् ।’

जंगलको विनाशसँगै महुवाको रूख पनि मासिंदै गएकोले यो पाउन मुस्किल हुँदै गएको बताइएको छ । महुवा कम हुँदै गएपछि यसबाट बनाइएको रक्सी पनि महँगो हुँदै गएको बताइएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

जहिल्यै विद्युत् अवरुद्ध

मेनुका ढुंगाना

अछाम — ‘आकाशमा बादल लाग्दा होस् या हावा चलोस्, तुरुन्तै विद्युत् सेवा बन्द हुन्छ । बिजुलीको कुनै भरोसा नभएकाले सेवा प्रवाहमा कठिनाइ भएको छ,’ मंगलसेनका इलेक्ट्रोनिक व्यवसायी नमराज न्यौपाने भन्छन्, ‘मंगलसेनमा सोधे साँफेबगरमा बिग्रेको छ भन्ने जवाफ आउँछ, साँफेबगर सोधे दिपायल भन्छन् । दिपायलमा बुझ्दा अत्तरियालाई जानकारी होला भन्ने खबर आउँछ । आधिकारिक जानकारी कतैबाट आउँदैन ।’ 

विद्युत् नियमित नहुँदाआफूहरूको व्यवसाय नै धरापमा पर्न थालेको सुनाउँदै व्यवसायी न्यौपानेले विद्युत्कै कारण धेरै पटक पसल बन्द गरेर बस्नुपरेको बताए । ‘हिजोदेखि बिजुली छैन । १५ जना सेवाग्राहीलाई फिर्ता पठाइसकेँ ।व्यवसाय नै यही भएकाले गुजारा चलाउनै कठिन भएको छ,’ अर्का व्यवसायी दुर्गा बोगटीले भनिन्, ‘फोटो, फोटोकपी, लेमिनेसन गर्न आएका ग्राहक रित्तै फर्किए । जेनेरेटर चलाउनलाई बजारमा पेट्रोलपनि छैन ।’

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा जिल्लामा सञ्चालनमा रहेका ८ वटा एफएम पनि बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरू बताउँछन् । ‘रेडियो चलाउनलाई विद्युत्बाहेक अन्य विकल्प छैन । रेडियो अछामका प्रमुख टेकबहादुर थापाले भने, ‘सूचना, सञ्चारबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।’ जिल्लामा सञ्चालनमा रहेका पत्रपत्रिका पनि बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।

हाल डोटीको पूर्वीचौकी गाउँपालिकामा रूख र पोल ढलेर विद्युत् अवरुद्ध भएको विद्युत्प्राधिकरण अछाम शाखाका प्रमुख विजय रेग्मीले बताए । ‘तारहरू पूरै काटिएकोले मर्मत गरिरहेका छौं,’ उनले भने, कति समय लाग्छ भन्न सकिन्न ।’ विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका ६ हजार ग्राहक र ४५ हजार घरधुरी मारमा पर्ने गरेकोउनले बताए ।

पटकपटक अछाममा हुने गरेकोबारे क्षेत्रीय प्रसारण लाइन अत्तरियालाई जानकारी नभएको कार्यालयका इन्जिनियर चिजबहादुर गुरुङले बताए । ‘शाखाले जानकारी नदिँदासम्म हामीलाई केही थाहा हुँदैन, हालसम्म अछाममा विद्युत् अवरुद्ध भएको जानकारी आएको छैन,’ उनले भने, ‘डोटीबाट अछाम जाने एउटै लाइन ११ केभीको हो । जंगल नै जंगल भएकाले हावाहुरी आउँदा विद्युत् सेवा बन्द हुन्छ ।’

उनका अनुसार केन्द्रीय प्रसारण लाइनको मात्रै प्रयोग हुने जिल्लाहरूमा यो समस्या देखिने गरेको छ । ‘सुदूरपश्चिममा बाजुराबाहेक अन्य ८ जिल्लामा केन्द्रीय प्रसारण लाइन पुगेको छ । ती जिल्लाहरूमा पनि यस्तै समस्या छ,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्