रकमसहित पक्राउ

कान्तिपुर संवाददाता

डोटी — भारतको लुधियानाबाट चोरेर ल्याएको रकम प्रहरीले बरामद गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त गस्ती टोलीले मंगलबार डोटीको केआईसिंह गाउँपालिका २ तिखात्तरबाट ४ लाख ३१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

रकमसँगै चोरीमा संलग्न भएको आरोपमा प्रहरीले केशव भुललाई पक्राउ गरेको छ ।मंगलबार दिउँसो क्षेत्रीय प्रहरी कार्यालयका
प्रहरी सहायक निरीक्षक दिलबहादुर महराको नेतृत्वमागएको टोलीले चोरीमा संलग्न व्यक्तिको घरमाखानतलासी गरेको थियो ।

चोरीमा संलग्न भनिएका व्यक्तिहरू तिखातरका बासिन्दा हुन् । उनीहरूले १ करोड नगद र केही सुनचाँदी चोरी ल्याएको खुल्न आएको छ । डीआईजी सुरज केसीले भारतबाट नगद र गरगहना चोरी ल्याएको सूचना पाएर टोली खटाइएको बताए । तर प्रहरीले भने ४ लाख ३१ हजार मात्र बरामद गरेको बताएको छ ।

चोरी गरी ल्याइएको अन्य रकम खोजबिन जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी लालबहादुर धामीले ४ लाख ३१ हजार भारतीय रुपैयाँ खटिएको टोलीले जिल्ला प्रहरी कार्यालयमा बुझाएको बताए । ‘टोलीले केशव भुलसहित नगद रकमहामीलाई हस्तान्तरण गरेको हो’, प्रवक्ता धामीले भने,
‘अब यस प्रकरणमा सार्वजनिक मुद्दाअन्तर्गत कारबाही अघि बढ्छ ।’

तर स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले ४ लाख ६० हजार भारतीय रुपैयाँ बरामद गरी लिएको दाबी गरेका छन् । ‘२ जना प्रहरी आउनुभएको थियो, बाँकी ३ जना घटनामा संलग्न व्यक्ति पनि सँगै आएका थिए,’ स्थानीय प्रत्यक्षदर्शी तथा राष्ट्रिय जनमोर्चाका नेता मीन मलासीले भने, ‘यताबाट एक पटक ४ लाख र अर्को पटक ६० हजार भारतीय रुपैयाँ स्थानीयकै अगाडिबाट लगिएको हो ।’ प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेको रकममा पनि फरक देखिएको छ ।

वडा नम्बर २ का अध्यक्ष नेत्र रावलकै अगाडि स्थानीय तेज बोगटीले ४ लाख भारतीय रुपैयाँ प्रहरीलाई बुझाएका थिए । प्रहरीलाई सो रकम बुझाउने बेला साक्षी म पनि थिएँ’, वडाध्यक्ष रावलले भने, ‘यी ४ लाख रुपैयाँ भनेर मेरै अगाडि प्रहरीलाई बुझाइएको हो तर त्यतिबेला गणना भने गरिएन ।’ प्रहरीले भने ४ लाख ३१ हजार माक्र बरामद गरेको बताएको छ ।

संयुत्त टोलीले घरघरमै गएर रकम बरामद गर्न नसकेपछि दुगौमाडौं वायलबाट खटिएको थप टोलीले ६० हजार भारतीय रुपैयाँ फेला पारेको थियो । सो ६० हजार रुपैयाँ स्थानीय प्रत्यक्षदर्शीलाई प्रहरीले जानकारी गराएको थियो । बीचमा गायब भएको २९ हजार भारतीय रुपैयाँबारे भने प्रहरीले आधिकारिक जवाफ दिएको छैन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता धामीले आफूहरूलाई त्यति नै रकम हस्तान्तरण गरिएको दाबी गरे ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

महुवा संकलन सुरु

गणेश चौधरी

टीकापुर — तराईका जंगलमा पाइने महुवाको फूल संकलन सुरु भएको छ । महुवाको फूल थारू समुदायले पुस्तौंअघिदेखि रक्सी बनाउन प्रयोग गर्छन् । जंगलमा रहेका महुवाको फूल खस्न थालेपछि संकलन थालिएको हो । 

महुवाको फूलबाट उच्च स्तरको रक्सी बन्ने थारूहरू बताउँछन् । जंगल छेउका गाउँका थारू समुदाय जंगलमा गई आजभोलि महुवाको फूल संकलन गर्ने र त्यसबाट रक्सी बनाउने गरेका हिरूलाल डगौराले बताए । उनले भने, ‘स्थानीयलेआ–आफ्ना रूख रोजेर महुवासंकलन गर्छन् ।’

भजनी नगरपालिकाको वनदेवी सामुदायिक वनका सचिव लक्ष्मण चौधरीले महुवाको रक्सी केमिकलरहित हुने भएकोले रक्सी सेवन गर्नेहरूले यसको रक्सी धेरै मन पराउने गरेको बताउँछन् । उनले भने, ‘थारू समुदायमा पाहुनालाई रक्सी दिएर स्वागत गर्ने चलन छ र यसको रक्सीले विशिष्ट पाहुनालाई स्वागत गर्ने पुरानो चलन हो ।’

यहाँका सामुदायिक वनले महुवाबाट आर्थिक आम्दानी पनि गर्ने गरेका छन् । संरक्षणकर्मी विजयराज श्रेष्ठले एक रूखको करिब २ सयसम्म लिएर महुवाको फूल संकलन गर्न दिने गरेका बताए । उनले भने, ‘एक रूखबाट करिब ५०/६० किलोफूल झर्छ ।’

यो सिजनमा खासै खेतीपातीको काम पनि नहुने भएकोले जंगल किनारका थारू समुदाय जंगलमा गएर महुवाको फूल संकलनमा व्यस्त रहने श्रेष्ठले बताए । उनले भने, ‘कम्पनीमा बनाइएका रक्सीभन्दा यसको रक्सी उत्तम मानिएको छ ।’

महुवाको फूल राति बढी खस्ने भएकोले कतिपय संकलक जंगलमै रूखमुनि बास बस्ने पनि श्रेष्ठले बताए । उनले भने, ‘वर्ष दिनका लागि संकलन गर्ने र आवश्यकताअनुसार रक्सी बनाएर खाने, खुवाउने गर्छन् ।’

जंगलको विनाशसँगै महुवाको रूख पनि मासिंदै गएकोले यो पाउन मुस्किल हुँदै गएको बताइएको छ । महुवा कम हुँदै गएपछि यसबाट बनाइएको रक्सी पनि महँगो हुँदै गएको बताइएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्