१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शुक्लाफाँटामा बाह्रसिंगा गणना

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा र नीलगाईको गणना सुरु भएको छ । २४औं वन्यजन्तु सप्ताहको आरम्भसँगै आइतबार बाह्रसिंगा र नीलगाईको गणना थालिएको हो । बाह्रसिंगा र नीलगाई बाघका मुख्य आहारा हुन् ।

गणनामा खटिएका निकुञ्जका रेञ्जर यमबहादुर रावतले ५ गतेसम्ममा बाह्रसिंगा र नीलगाईको गणना सकिने बताए । ‘हेड काउन्टिङ’ पद्धतिबाट निकुञ्जमा डेढ दशकदेखि बाह्रसिंगाको गणना गरिँदै आएको छ । २०१३ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या २ हजार ३ सय १ छ । त्यसपछि हरेक वर्ष वन्यजन्तु सप्ताहकै अवसरमा अनुगमन गरिए पनि गणना भएको थिएन ।


निकुञ्ज कार्यालयसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रम र जेडएसएलको प्राविधिक सहयोगमा बाह्रसिंगा र नीलगाईको गणना भइरहेको हो । ५ वटा समूह बनाएर निकुञ्जभित्रका घाँसे मैदान र सम्भावित क्षेत्रमा गणना भइरहेको छ । गणनाका लागि २५ जना प्राविधिकसँगै ४ वटा हात्ती प्रयोग गरिएका छन् । घाँसेमैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो ।


बाह्रसिंगा २०१३ को तुलनामा केही बढी भएको अनुमान रेञ्जर राउतले गरे । निकुञ्जमा नीलगाईको भने पहिलोपटक गणना हुन लागेको हो । २०१३ मा एक अध्ययनकर्ताले गरेको अनुसन्धानअनुसार यहाँ ९० भन्दा बढी नीलगाई छन् । २०१७ को गणनाअनुसार शुक्लाफाँटामा १७ वयस्क बाघ छन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?