१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चट्याङको जोखिममा अछाम

मेनुका ढुंगाना

अछाम — रामारोशन, मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक र कमलबजार नगरपालिकाका विभिन्न स्थान चट्याङको अत्यधिक जोखिम क्षेत्र मानिन्छ । जिल्ला विपत व्यवस्थापन समितिले जिल्ला अन्य क्षेत्रभन्दा यी सबैभन्दा बढी चट्याङबाट क्षति भएका स्थान भनी पहिचान गरेको छ । 

पञ्चदेवल बिनायक नगरपालिका ७, पुल्लेतोलामा रहेको स्वास्थ्य चौकीमा चट्याङ लागेर सामान्य उपचारकै क्रममा २२ वर्षीया धना रावलको ज्यान गयो । पुल्लेतोलामै चैत २५ गते चट्याङ लागेर १३ वर्षीया जनक रावलको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ०७५ मा चट्याङकै कारण २ जनाको ज्यान गएको छ भने ७४ जना घाइते भएका छन् ।


‘एक वर्षको अवधिमा जिल्लामा १२ ठाउँमा चट्याङ परेको छ । जिल्ला विपत ब्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य भन्छन् ‘अन्यत्रभन्दा मेल्लेख, रामारोशन, पञ्चदेवल बिनायक, कमलबजारलगायत क्षेत्रमा

चट्याङको जोखिम बढी देखिन्छ ।’


चट्याङले घाइते भएकाहरूलाई यहाँको सामाजिक अन्धविश्वासले थप पीडा दिने गरेको छ । चट्याङ लागेर घाइते हुनु पूर्वजन्मको पाप भएको अन्धविश्वास छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक शाहीले भने, ‘पूर्वजन्मको पाप, देउता रिसाएको, अपवित्र भएकाले चट्याङ परेको अन्धविश्वास रहेछ । घाइते हुँदा अरुले छुँदैनन् ।’ घाइतेहरूलाई तत्काल स्वास्थ्य सेवाको पहुँमा पुर्‍याउन सहयोग गर्नुको सट्टा छुनै नहुने अमानवीय धारणाले थप समस्या गरेको उनले बताए ।


गत मंसिरमा कमलबजार नगरपालिका ७ शेराकी वसन्ती भण्डारी चट्याङ लागेर घाइते भइन् । ‘चट्याङ परिहाल्यो भने कसरी सुरक्षित हुने भन्नेबारे अहिलेसम्म कुनै जानकारी छैन । यसबारे सबै ठाउँमा जानकारी गराउन आवश्यक छ,’ उनले भनिन् । चट्याङ पर्दा अपनाउने सावधानीबारे जानकारी नहुनाले पनि ज्यान जोखिममा हुने गरेको यहाँका स्थानीय बताउँछन् ।


चट्याङबाट घाइते भएकी अर्की धीर्जा भण्डारीले आफूसँगै घाइते भएका एकजना अहिले पनि अस्पतालमा उपचार गराइरहेको बताइन् । ‘छाला सबै जलेको छ । उपचार हुन समय लाग्छ,’ जिल्ला अस्पतालका डा. मनोज विष्टले भने, ‘अरू रोगकाभन्दा

चट्याङबाट घाइते भएकाको उपचार जटिल हुन्छ ।’


स्वास्थ्यकर्मीका अनुसार चट्याङमा परेर घाइते भएकाहरूमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन् । बेहोस हुने, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ । त्यसैमा, चट्याङका घाइतेलाई सामान्य उपचार गरी छाड्दा दीर्घकालीन असरको उपचारमा समस्या हुने चिकित्सकहरू बताउँछन् ।


चट्याङबाट धेरै धनजनको हानि हुनुका साथै, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वनजंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावर मर्ने सम्भावना रहन्छ । ‘हामी स्कुलमा थियौं । गड्याङगुडुङपछि चट्याङ पर्‍यो मलगायत अरू त्यहीं लड्यौं । कसैलले उठाएनछन्,’ उनले भनिन्, ‘चट्याङ लागेको मान्छेलाई छोए अरुलाई पनि सर्छ भन्ने विश्वास छ ।’ समयमै उद्धार नगर्दा पनि ज्यानको जोखिम भएको उनले सुनाइन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?