१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

७५ वर्षे जाँगर

मोहन बुढाऐर

घसेटा, कैलाली — चार भाइ छोराबुहारी छुट्टिएर जाँदा वृद्ध दम्पती समरा राना र बिलन्दा देवीको हातमा एकसुको थिएन । आफनै नाममा रहेको साढे ४ बिघा पनि ४ भाइले बाडेर लिए । बाचुन्जेल खान वृद्ध दम्पतीलाई घर वरिपरीको ६ कट्टा दिएर छोराबुहारी अलग बसे । 

७५ वर्षे जाँगर

वृद्धा अवस्थाको स्याहार गर्ने जिम्मेवारीबाट पन्छिएका छोराबुहारी पैसाको खाँचो पर्दा अहिले तिनै बुवाआमासँगै जान्छन् । ७५ वर्षीय समराले वृद्ध अवस्थामा गरेको परिश्रमबाट छोराबुहारीको गर्जो टरिरहेको छ । ‘पैसा चाहियो बुवा, यस्तो उस्तो समस्या आयो भन्छन्,’ उनले भने, ‘कमाएको पैसा बाँधेर राख्दा पनि मरेपछि तिनै लैजाने त हुन् । त्यसैले लौ लैजाऊ भन्छु ।’ उनले सबै छोरालाई पछिल्लो २ बर्षको अवधिमा २ लाख बढी दिएको बताए ।


बुढेसकालका सहारा अलग भएर गएपछि तरकारी फलाएर बेच्न थालेको उनले सुनाए । ‘गरि खान ६ कटठा थियो,’ उनले भने, ‘हलगोरु केही थिएन । वृद्ध अवस्थामा जोतेर धान/गहुँ लगाउने ताकत आएन । तर पनि हातखुट्टा चल्दासम्म केही गरी खानुपर्‍यो ।’ एक दिन उनी वृद्धभत्ता लिन साविकको उर्मा गाउँपालिकाको कार्यालय गएका थिए । त्यहाँ पुर्व जिल्ला उपसभापती गंगाराम रानासँग उनको भेट भयो । उनी ज्येष्ठ नागरिक समुहका अध्यक्ष पनि थिए । उनले समरा दम्पतीलाई समुहमा आवद्ध हुन अनुरोध गरे ।


त्यसबाट पाउने सुविधाबारे जानकारी पनि दिए । केहि दिन पछि त्यहि समुहले दिएको तरकारी बालीको तालिम लिए । बिउ पुँजीका लागि ४ हजार ऋण पनि लिए । ‘त्यहि ४ हजारले ४० हजार फलायो,’ उनले भने, ‘त्यसबाट तरकारी बाली ब्यवसायिक रुपमा लगाउन सुरु गरें,’ समराले भने । उनले घर वरपरको जमिनमा तरकारी लगाए । ह्यान्डपम्पबाट पानी निकालेर बारी सिंँचाइ गरे । टमाटर, खुर्सानी, काउली, बन्दा, प्याज फलाए ।


टाउकोमा ताजा तरकारीको डालो राखेर वृद्ध दम्पती स्थानीय बजारमा लगेर बेच्न थाले । पहिलो लटमै ४० हजार जति आम्दानी भयो । उनले दोस्रो ‘सिजन’ मा अलिकति बढी जग्गामा तरकारी लगाए । तरकारीका प्रकार पनि बढाए । काक्रा, फर्सी, बोडी, भन्टा, तर्वुजा लगाए । सिंँचाई गर्न मोटर जोडेपछि आम्दानी पनि बढ्दै गयो ।


तेस्रो सिजनमा ६ कट्टा जमिनमै तरकारी लगाए । ट्याक्टरले जोताए । मलखादका लागि समुहबाट अपुग ८ हजार ऋण लिए । उनले पुरानो ऋण पहिलो सिजनमै चुक्ता गरिसकेका थिए । आलु प्याज, बदामसहित तरकारी बालीबाट उनको २ लाखभन्दा बढी आम्दानी हुन सुरु भयो ।


उनी भन्छन, ‘अहिलेको अवस्थामा पुग्न कम्ती महेनत गर्नु परेन । तरकारी बेच्न डालो टाउकोमा राखेर घरघर गए । तरकारी नलगाउने परिवारले किन्थे । अहिले त आफनो उत्पादित तरकारी थोकमा बढी बेच्ने गर्छु । धनगढीसम्म पुग्छ ।’ अहिले उनी छोराबुहारीलाई यताउताको मजदुरी गर्ने काम भन्दा तरकारी बाली लगाउन सल्लाह दिँदै आएको बताउँछन् ।


‘तर उनीहरूले सुरु गरेनन, मान्दैनन’ उनले भने । उनका २ छोरा राजमिस्त्रीको काम गर्छन् । कान्छो आफ्नो घर खर्च चलाउन नसकेर आमाबाबुसँगै जोडिन आएका छन् । जेठा छोराबुहारीको परिवार परम्परागत कृषि पेसामा छ । अन्त्यमा उनी भन्छन्, बाँचुन्जेल जिन्दगी थकित हुने रहेछ ।’

प्रकाशित : वैशाख ६, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?