१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डुंगा विस्थापित गर्न झोलुंगे पुल

गणेश चौधरी

टीकापुर — कैलालीको भजनी नगरपालिकाले डुंगा विस्थापित गर्न झोलुंगे पुल बनाउन थालेको छ । कान्द्रा र काढा नदीमा पुल नहुँदा नगरपालिकाभित्रै डुंगाका भरमा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

तत्काल ठूला सवारीसाधन ओहोरदोहोरका लागि पक्की पुल बनाउन बजेट अभावका कारण झोलुंगे पुल बनाएर डुंगा विस्थापित गर्न लागिएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए । उनले भने, ‘नगरपालिकामा ओहोरदोहोरका लागि विभिन्न नदीमा ५ वटा झोलुंगे पुल बनाउँदैछौं ।’


२ वटा पुल यो वर्ष सम्पन्न गर्ने र ३ पुल अर्को वर्ष बनाउने लक्ष्य रहेको नगर प्रमुख चौधरीले बताए । उनले भने, ‘३ वटा नगरपालिकाको आफ्नै बजेटमा र एउटा प्रदेश र एउटा संघको बजेटमा निर्माण हुन्छ ।’ झोलुंगे पुल बनेपछि नगरवासीको डुंगाको असुरक्षित यात्रा टुंगिने चौधरीले बताए । उनकाअनुसार भजनी नगरपालिकाका वडा नम्बर ५, ७ र ९

का बासिन्दा वर्षामा डुंगाकै भरमा ओहोरदोहोर गर्छन् ।


कान्द्रा नदीले यी ३ वडालाई छुट्याएको छ टापुका रूपमा । यहाँका बासिन्दा शिक्षा स्वास्थसहित नगरपालिकाको सेवा लिन पनि डुगाबाट नदी तरेर आउनुपर्ने बाध्यता छ । यो नदीमा ९ ठाउँमा डुंगा सञ्चालन हुने गरेको छ । अहिले हिउँदमा भने नदीमा पनी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् । त्यही पुलबाट वारपार गर्दा पैसा तिर्नुपर्ने बाध्यता छ । पुलमा ओहोरदोहोर गरेबापत मोटरसाइकलको २० रुपैयाँ र साइकलको १० रुपैयाँ तोकिएको छ । कान्द्रा नदीको भजनी–कर्मदेव घाटको ठेक्का लिएका भीम विकले हिउँदमा नदीमा पानी कम भएपछि पुल बनाएर सेवा दिइरहेको बताए ।


नगरपालिकाको कार्यालय नदीपारि भएकोले सेवाग्राहीले डुंगाबाट नदी तरेर सेवा लिन जानुपर्ने बाध्यता रहेको स्थानीय भीम राजीले बताए । उनले भने, ‘वर्षामा निकै जोखिम छ । अस्पताल पनि भजनी बजारमा छ । स्कुल पनि उतै छ । डुंगा तरेर जान्छौं ।’ राती कोही दुखी बिरामी हुँदा निकै अप्ठ्यारो हुने गरेको स्थानीय जय बुढाले बताए । ‘अरू ठाउँका मान्छे बिरामी हुँदा चाँडो अस्पताल पुर्‍याउन एम्बुलेन्स खोज्छन् । यहाँ नदी तार्न डुंगा चलाउने मान्छे घरमा गएर ल्याउनुपर्छ,’ उनले भने ।


भजनी नगरपालिकाको भजनी बजारमा अस्पताल, सामान किनबेचका लागि बजार, विद्यालय, क्याम्पस लगायतका सबै सेवा सुविधा छ । ३ वडाका बासिन्दा आफूलाई नगरवासी हुनमा गर्व गर्दैनन् । स्थानीय लोकबहादुर साउदले भने, ‘नगरपालिकाको न्यूनतम मापदण्ड पनि छैन ।’ कान्द्रा नदीको ठेकीमा हुलाक सडक अन्तर्गत पुल निर्माणको योजना भए पनि ५ वर्ष बित्दा पनि निर्माण सम्पन्न गरिएको छैन । गत असार मसान्तमा पुल निर्माणको म्याद सकिएको छ । ०६८ मा लामा शेर्पा जेभी प्रालिले पुलको ठेक्का २ वर्षमा पूरा गर्ने गरी लिएको हो ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?