कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सांसद असन्तुष्ट 

अर्जुन शाह

धनगढी — झन्डै ७ महिनापछि बसेको नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले गति सुस्त भएको भन्दै सरकारको आलोचना भएको बैठकका एक सांसदले बताएका छन् । बिहीबार दिनभर चलेको बैठकमा अधिकांश सांसदहरूले बजेट खर्च हुनेमा आशंका गर्दै गम्भीर हुन मन्त्रीहरूलाई सचेत गराएका हुन् । 

मन्त्रीहरू स्वयं सुस्त भएकाले बजेट कार्यान्वयनमा चुनौती रहेको औंल्याइएको सांसद दुर्गा कामीले बताइन् । ‘सबै सांसदहरूले सरकारलाई गतिशील हुन आग्रह गरे,’ सांसद कामीले भनिन्, ‘कतिपय सांसदहरूले सरकारको कार्यशैली अपारदर्शी रहेको भन्दै आलोचनासमेत गरे । प्रदेशको स्थायी राजधानी तय गर्ने बेला गत असोजपछि संसदीय दलको बैठक बसेको थिएन ।


सरकारको सुस्तताले जनतामा निराशा बढ्दै गएको औंल्याउँदै विकासका कामलाई तीव्रता दिनुपर्नेमा सांसदहरूले जोड दिएका थिए । पार्टीकै सांसदहरूसँग समेत समन्वय नगरी काम गरिरहेको भन्दै सांसद पूर्णा जोशीले बैठकमा मन्त्रीहरूप्रति गुनासो गरेकी थिइन् । ‘जनअपेक्षाहरूको न्यूनतम सम्बोधन गर्न सकिएन भने पार्टी, सरकार र हामी सांसद सबैलाई अप्ठेरो पर्छ’ उनले भनिन् ।


केही सांसदहरूले योजना छनोट प्रकृयादेखि नै त्रुटि हुँदै आएको जनाउँदै आलोचना गरेका थिए । सांसद कामीले सरकारले योजना छनोटमा सांसदलाई वास्ता नगरी मन्त्रीसँगको चिनजान र पहुँचका आधारमा योजना छनोट भएकामा आपत्ति जनाएकी थिइन् । प्रदेश सरकारले २५ अर्बको बजेट कार्यान्वयन गर्नु छ । साढे ३ हजार योजनाहरू असार मसान्तभित्र कार्यान्वयन गरिसक्नुपर्ने अवस्था रहेको छ । हालसम्मको खर्च अवस्था न्यून रहेको सांसदहरूले बताएका छन् ।


प्रदेश सरकारले पार्टीको घोषणापत्रलाई पूर्णरूपमा बेवास्ता गर्दै बजेट विनियोजन गरिरहेकामा पनि सांसदहरूले असन्तुष्टि जनाएका थिए । ‘भन्ने एक गर्ने अर्कै ? गलत अभ्यास स्थापित हुन दिनुहुन्न’ उनले भने । सांसदहरूको आलोचनापछि पूरै मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेको बैठकमा मन्त्रीहरू रक्षात्मक अवस्थामा देखिएका एक सांसदले बताए । ‘बैठकमा उठेका कुनै पनि सवालको कुनै पनि मन्त्रीहरूले प्रतिवाद गरेनन्,’ सांसद मीना साउदले भनिन्, ‘मन्त्रीहरूले आफूहरूका कठिनाइ सुनाउनुभयो ।’


मन्त्रीहरूले कर्मचारीको अभावका कारण सोचेजस्तो काम गर्न नसकिएको भन्दै सरकारको बचाउ गरेका थिए । ‘कर्मचारी र कार्यान्वय संरचनाको अभावले जनअपेक्षाअनुरुप काम अघि बढाउन नसकिएकै हो’ सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले भने, ‘अबको २ महिना विनियोजित बजेटको कार्यान्वयनमा सरकारले सम्पूर्ण ध्यान दिनेछ ।’ मुख्यमन्त्री त्रिलोचन भट्टले बैठकको सांसदहरूका जिज्ञासाको अन्त्यमा जवाफ दिएका थिए । उनको सम्बोधनपछि सुरुमा सांसदहरू मत्थर भएको सांसद मीना साउदले बताइन् ।


संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा कुनै लिखित निर्णय भने नभएको एक सांसदले बताए । मुख्यमन्त्रीले अबको २ महिना कुनै पनि मन्त्रीहरूलाई मन्त्रालय नछाड्न निर्देशन दिएको बैठकमा सहभागी सांसदले बताए ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?