कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वास्थ्य बिमाप्रति चासो भएन

बैतडी — स्वास्थ्य बिमा गर्न जिल्लाका बासिन्दा आकर्षित हुन सकेका छैनन् । जिल्लामा हालसम्म ६ हजार ५ सय ७८ जनाले मात्र स्वास्थ्य बिमा गरेका स्वास्थ्य बिमा बोर्ड बैतडीले जनाएको छ । बिमा गर्नेहरूमा ३ हजार ६ सय ४२ पुरुष र २ हजार ९ सय ३६ महिला छन् । 

जिल्लामा सुविधा सम्पन्न अस्पताल र गुणस्तरीय उपचार सेवा उपलब्ध नहुँदा यहाँका बासिन्दाको सरकारी उपचार सेवा पनि आकर्षण देखिन्न । सानो बिरामी हुँदा पनि यहाँका बासिन्दा छिमेकी भारतका बजारमा पुग्छन् । यही कारण उपचारमा लाभ हुने विश्वास नभएकाले स्वास्थ्य बिमामा आकर्षण नभएको स्थानीय राजेन्द्र भट्ट बताउँछन् । ‘उपचार गर्नुपरे भारत धाउनुपर्ने बाध्यता छ, यहाँको स्वास्थ्य बिमाले के गर्नु ?’ अर्का स्थानीय सुदर्शन बोहराले भने । स्वास्थ्य बिमा गरेकाहरूमध्ये पनि नवीकरण गर्नेको संख्यासमेत घट्दै गएको बिमा बोर्डका कर्मचारी बताउँछन् ।


स्थानीयले खासै चासो नदेखाएको बिमा दर्ता अधिकारी जमनसिंह बडालले बताए । बुझेकाहरूले पनि स्वास्थ्य बिमामा ध्यान नदिएको उनको भनाइ छ । उनले भने, ‘बिमा गर्नेहरूमा पनि सर्वसाधारण मात्रै छन् ।’ सीमानाका नजिक भएकाले उपचारका लागि अधिकांश बिरामीहरू भारतको पिथौरागढ जाने गरेका उनको भनाइ छ । बडालले भने, ‘त्यसैले बिमा गर्न चासो छैन ।’ स्थानीय तहका जनप्रतिनिधिहरूले समेत स्वास्थ्य बिमा कार्यक्रमलाई नसघाएको उल्लेख गर्दै उनले भने, ‘जनप्रतिनिधिहरू, सरकारी कर्मचारीहरूले त स्वास्थ्य बिमा गरेका छैनन्, अरूले के गरुन् ।’


जनप्रतिनिधिहरूले समुदायमा स्वास्थ्य बिमा गर्न गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भए पनि कुनै वास्ता नगरेको बिमाका कर्मचारीहरूको गुनासो छ । दर्ता अधिकारी बडालले भने, ‘उहाँहरू आफैं सकारात्मक देखिनुहुन्न । हामीले त गाउँघरमा स्वास्थ्य बिमासम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेका छौं ।’ प्रत्येक वडामा एक जना गरी सबै वडामा दर्ता सहयोगीहरू खटाएका छौं ।’


पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले आफूहरू यसको प्रचारप्रसार गरिरहेको बताए । उनले भने, ‘म आफैंले गरेको छु, अरूलाई पनि भनिरहेकै छु ।’ अन्य जनप्रतिनिधिले बिमा गर्न गराउन प्रेरित गरिरहेको उनको दाबी छ । दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले आफूहरूको बेवास्ता भन्दा पनि यसका फाइदाका बारेका सम्बन्धित निकायले बुझाउन नसकेको जस्तो लागेको बताइन् ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?