हिमाल फर्किंदै भेडीगोठ

यस वर्ष हिमाली क्षेत्रमा भएको भारी हिमपताले प्रभावित भेडापालक ढिलोगरी फर्कंदै
मनोज बडू

दार्चुला — हिउँदमा जाडो छल्न बेंसी झरेका भेडीगोठ चिसो घटेपछि हिमालतिर उक्लिन थालेका छन् । यहाँका भेडापालक किसान हिउँदमा बेंसी र न्यानो सिजनमा हिमालतिर भेडीगोठ सार्ने गर्छन् । ‘यसअघिका वर्ष चैतमा फर्किसक्थे, योपालि वैशाख लागेको छ,’ नौगाड गाउँपालिका २ सुन्डमुडका रामसिंह धामीले भने, ‘यस वर्ष हिमाली क्षेत्रमा हिमपात धेरै भएकाले ढिलोगरी हिमालतिर जाँदै छौं ।’

नौगाड गाउँपालिका ३ देल्लकमा न्यानो र चरन क्षेत्र अभाव हुँदा चिसो छल्न तल झरेका भेडीगोठ हिमाल उक्लँदै । तस्बिर : मनोज/कान्तिपुर

जिल्लाका व्यास, अपीहिमाल, नौगाड, मार्मा र दुहुलगायत गाउँपालिकाकाबासिन्दाको मुख्य पेसा अहिले पनि भेडाबाख्रा पालन हो ।चरन क्षेत्र रहेको हिमाली भेकमा हिउ जमेपछि बेंसी झरेका भेडीगोठहरूलाई चरन क्षेत्र अभाव रहेको धामीले बताए । वेशी क्षेत्रमा भेडाबाख्रालाई चराउन ठाउँ मिल्नै छोडेको छ । उनले भने, ‘बेंसीमा धेरै समयसम्म भेडीगोठ राख्न सकिँदैन ।’

यसअघिका वर्षमा यो समयमा भेडीगोठ हिमाल पुगिसक्थे । यसपालि हिमाली क्षेत्रमा अझै हिउँ नपग्लँदा भेडीगोठ पुरानै ठाउँमा पुर्‍याउन सकिएको छैन । यहाँको नजिकका जंगली क्षेत्र अहिले स्थानीयका सामुदायिक वन भइसकेका छन् । हिउँदको समयमा मेलापाखामा घाँस पाइँदैन । बेंसीको अन्य क्षेत्रमा किसानहरूको खेतीपाती हुने हुँदा भेडापालनका लागि उफयुक्त हिमाल नै हो । त्रमिक रूपमा चरन क्षेत्र घट्दै गएकोहुनाले भेडापालन संकटमा परेको व्यवसायीहरू बताउँछन् ।

पहिले पहिले प्रशस्त जंगल भएकाले जिल्लाका सबै ठाउँमा भेडाबाख्रा पालेको भेटिन्थे । यो क्रम विस्तारै घट्न थालेको स्थानीय बासिन्दा बताउँछन् । तर, पछिल्लो समय व्यास, नौगाड, दुहु, अपीहिमाल गाउँपालिकाका विभिन्न ठाउँमा भेडापालन हुने गर्छ । यहाँका स्थानीयले पुस्तौंदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न सक्दैनन् । उनीहरूले मौसमअनुसार हिमालदेखि पहाडसम्म डुलाउनेपर्ने व्यवसायी बताउँछन् । चरन क्षेत्र बढी भएको ठाउँमा भेडापालन व्यवसाय चलेकै छ । अन्य ठाउँमा क्रमिक रूपमा घट्दै गएको नौगाड गाउँपालिका १ इयरकोटका जयदेव महतोले बताए ।

सडक मार्गको पहुँच नपुगेको ठाउँमा ढुवानीको प्रमुख साधन अहिले पनि भेडाच्यांग्रा नै हुन् । साँघुरो बाटोमा सहजै र सुरक्षित रूपमा सामान ढुवानी गर्न सकिने भएकाले हिमाली क्षेत्रहरूमा भेडाबाख्रामा सामान बोक्ने क्रम अझै हटेको छैन । भेडापालन व्यवसाय पछिल्लो समय घट्दै गए पनि धेरैले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन् ।

‘नुन, चामल, गुडलगायत वस्तुको ढुवानी भेडाबाख्राबाटै गरिन्थ्यो,’ नौगाड गाउँपालिका १ इयरकोटका उज्जले डडालले भने, ‘पहिला सबैभन्दा बढी भेडाबाख्राहरूको ऊन प्रयोगमा ल्याइथ्यो, त्यो पनि अहिले घटिसकेको छ ।’ भेडाबाख्राको ऊनबाट अतिथि सत्कारका लागि ओछ्याउने राडी तथा जाडो समयमा चिसोबाट बच्न सिरकका रूपमा प्रयोग गरिने पाखी तयार गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निर्मला हत्या प्रकरण : अलमलमा अनुसन्धान

भवानी भट्ट

कञ्चनपुर — आधा दर्जन अनुसन्धान टोली । करिब सय जनाको डीएनए परीक्षण । ५ सयभन्दा बढीलाई सोधपुछ । नतिजा शून्य ।  ९ महिनाअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानबारे प्रहरीलाई सोध्दा सधैं एउटै जवाफ आउँछ, ‘थप अनुसन्धान भइरहेको छ, ठोस प्रगति हुन सकेको छैन ।’ 

अपराधी पत्ता नलाग्दा घटना नै ओझेलमा पर्न थालेको छ । न्यायका लागि आन्दोलनमा होमिएका अधिकारकर्मी र पीडित परिवारसमेत यतिबेला मौन छन् । पछिल्लोपटक अधिकारकर्मीसमेत विभाजित भएका छन् । जिल्ला प्रशासन कार्यालयको गेटअगाडि लामो समयसम्म चलेको पीडित परिवारको धर्ना पनि स्थगित भएको छ ।

घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयको टोलीसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा र केन्द्रीय कार्यालयसहितका ४ टोली अहिले पनि खटिएका छन् । डीएनएको नमुना संकलन तथा सोधपुछ चलिरहेको छ । ‘ठोस प्रगति हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले भने, ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले सुरुदेखि नै अनुसन्धान साँघुरिँदै गएको दाबी गर्दै आएको छ तर ठोस प्रमाण हात लाग्न सकेको छैन । घटनाको प्रत्यक्षदर्शी नहुँदा ठोस प्रगति हुन नसकेको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि सबै प्रविधि र तरिका अपनाइरहेका छौं,’ एसपी आचार्यले भने, ‘अनुसन्धानका लागि वातावरण सहज बन्दै गएको छ ।’ उनका अनुसार स्थानीयले सूचना दिन थालेकाले सहज भएको छ । सुरुमा घटनास्थल वरपरका बासिन्दाले सूचना दिन डराउँदा समस्या भएको थियो ।

पछिल्लो पटक प्रहरीको अनुसन्धान डीएनएमै अल्झिएको देखिन्छ । करिब सय जनाको डीएनए परीक्षण भइसकेको छ । ६/७ जनाको डीएनए परीक्षणको रिपोर्ट आउन बाँकी छ । यति धेरैको डीएनए परीक्षण हुँदा समेत अपराधी पत्ता नलाग्दा निर्मलाको भेजाइनल स्वाबमा भएको डीएनए नै नक्कली हो कि भन्ने आशंका पनि बढेको छ । यही आशंका मेटाउन निर्मलाकी आमा दुर्गादेवीले आफ्नो डीएनए परीक्षण गराएकी थिइन् । उक्त डीएनए भने मिलेको थियो ।

‘अपराधी पत्ता लागाउन डीएनए नै अन्तिम सूत्र होइन, यो त एउटा सहयोगी तथ्य मात्रै हो,’ एसपी आचार्यले भने, ‘हामी अन्य प्रमाण पनि जुटाउने प्रयास गरिरहेका छौं ।’ प्रहरीले सुरुमा डीएनए परीक्षण गरिएका व्यक्तिको नाम सार्वजनिक गरे पनि पछिल्लो पटक भने गोप्य राख्ने गरेको छ । खासगरी निर्मलाको घर वरपर र घटनास्थल आसपासका स्थानीयको बढी मात्रामा डीएनए संकलन गरिएको प्रहरी स्रोतले जनाएको छ ।

तत्कालीन डीएसपी कृष्णराज ओझाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ अनुसन्धान अधिकृत तोकिएको छैन । ओझाका ठाउँमा अहिले डीएसपी ज्ञानबहादुर विष्ट आएका छन् । ‘अनुसन्धान चलिरहेको छ तर खासै प्रगति हुन सकेको छैन,’ उनले भने, ‘सबै टोलीले काम गरिरहेका छन् ।’

पछिल्लो पटक प्रहरीले अपराधीको स्केच बनाएको कुरा पनि बाहिर आएको थियो तर उक्त कुरा अहिले सेलाएको छ । प्रहरीले स्थानीयकोसूचनाका आधारमा ऊक्त स्केच बनाएको हो । ‘अनेक सिराबाट अनुसन्धान गर्दै जाँदा धेरै व्यत्तिहरू दायरामा आए,’ एसपी आचार्यले भने, ‘फेरि नयाँथपिँदै गए ।’

ढिलो भए पनि एक दिन न्याय पाउने आस बाँकी रहेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘सोधपुछका लागि पत्रकार र सुरक्षाकर्मी पटक पटक आउँदा फेरि पुरानै कुराले सताउँछ,’ उनले भनिन्, ‘मुख्य प्रमाण डीएनए बाँकी भएकाले अपराधी पक्ता लाग्नेमा ढुक्क छु ।’

अनुसन्धान त्रममा प्रमाण नष्ट गरेका र यातना कसुरमा मुद्दा लागेका ८ जना तत्कालीन प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । तत्कालीन एसपी दिल्लीराज विष्टसहित डीएसपीद्वय ज्ञानबहादुर सेठी र अंगुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खडका, सइद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदलाई अदालतले धरौटीमा छाडन आदेश दिएको हो ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT