कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बगरमा मिहिनेत

धनगढी — जिल्लाका विभिन्न नदी किनारमा वैशाखको सुरुदेखि किसानको मिहिनेत देख्न सकिन्छ । बगरमा गरिएको खेती नजिकै छाप्रा हालेर उत्पादन बेच्ने लहरै हुन्छन् । उनीहरू बिहानैदेखि राती अबेरसम्म छाप्रामै हुन्छन् । दिनभर बगरमा फलाएका काँक्रा, लौका, फर्सीलगायत अन्य तरकारी बेच्छन् । 

बगरमा मिहिनेत

‘मिहिनेत गर्न सक्नुपर्छ हजुर, बालुवामा पैसा कमाउन त्यसै कहाँ सकिन्छ र ?’ २५ वर्षदेखि धनगढी उपमहानगरपालिका १५ को बेलीको नदी किनार बगरमा तरकारी खेती गर्दै आएका डिल्लीराम रिजालले भने, ‘मिहिनेत गर्न सके एक सिजनमा ३/४ लाख कमाइ हुन्छ ।’

यो वर्ष बाढी नआए आम्दानी अझ बढ्ने उनी बताउँछन् । ‘अहिले उत्पादन बेच्न उपयुक्त समय छ । बाढी आयो भने उत्पादनको दर घटेर घाटा लाग्छ,’ डिल्लीरामले भने । मंसिर/पुस महिनामा बालुवामा मिहिनत गरी छरेको बिउ माघ/फागुनदेखि फल दिन थाल्छ । ‘माटोमा फलाउनभन्दा बालुवामा उत्पादन फलाउन धेरै मिहिनेत चाहिन्छ,’ उनले थपे, ‘पहिला बालुवालाई मिलाएर राख्नुपर्छ, त्यसपछि त्यसमा मल हालेर बीउ राख्नुपर्छ ।’ बीउ छरेको ४ महिनामै उत्पादन बेच्न पाइने हुनाले विगत लामो समयदेखि यही व्यवसाय गर्दै आएको उनले बताए ।

‘आफ्नो देश (भारत) मा तिहार मनाएर हरेक वर्ष नेपालमै खेती गर्न आउने गरेको छु,’ २० वर्षदेखि बेली नदीकिनार खेती गर्दै आएका रफिल खानले भने, ‘बगर खेतीको सिजनमा त्यहीँ खेती गर्छौं, अघिपछि जग्गा भाडामा लिएर माटोमा तरकारी खेती गर्छौं ।’ एक सिजनमा ५० हजार मुनाफा हुने गरेको उनले बताए ।

रफिल आफू मात्र होइन, उनकी पत्नीसँगै ३ छोरा पनि दीपावली मनाएर यहाँ आएर खेती गर्छन् । ‘म नेपाल आएर खेती गर्न थालेको १६ वर्ष भयो ।’ रफिलका जेठा छोरा सफिदले भने, ‘छोटो समयमै धेरै आम्दानी हुने भएकाले हामी हरेक वर्ष यहाँ आउँछौं ।’ उनी विगतभन्दा यो वर्ष समयमा पानी परेकाले आफ्नो बारीमा काँक्रा, तरबुजा, लौका, फर्सी, टमाटर लटरम्म फलेको बताउँछन् । एक सिजनमा ५ लाख लागत लगाएपछि ३ लाख आम्दानी हुने गरेको सफिदले बताए । बोटमा फलफुल फलेका बेला बाढी आएपछि भने घाटा हुने गरेको उनी बताउँछन् ।


नदी किनारमा छाप्रा लगाएर बगर खेतीको उत्पादन बेच्दै गरेका किसान ।


कैलालीमा बगरमा खेती गर्नेहरू अधिकांश भारतबाट आउने छन् । ‘हामीहरू समूह बनाएर पैसा जम्मा गर्छौं, अनि नगरपालिकालाई बगरको भाडा तिर्छौं,’ १५ वर्षदेखि बेली नदी किनारमा खेती गर्दै आएकी भारत सितारगंजकी सुनीता बीले भनिन्, ‘म यही खेती गरी घर खर्च र दुई छोराछोरीको पढाइ खर्च धानिरहेकी छु ।’ उनी एक सिजनमा २ लाख जति आम्दानी हुने गरेको बताउँछिन् ।

‘पैसा ब्याजमा लिएर बगर खेती गर्दै आएकी छु म,’ ४ बर्षदेखि नेपालमा बगर खेती गर्दै आएकी भारत सितारगन्जकै रुक्साना खानले भनिन्, ‘वर्ष भरिको खर्च यहि खेतीबाट चलाएकी छु । बगर खेतीबाट आएको पैसाले साँवा–ब्याज तिरेर वर्ष भरिको खर्च चल्छ ।’

यसरी अहिले कैलालीका नदीका बगरहरूमा अहिले बगर खेतीका उत्पादन बेच्नेको लाइन लागेको हुन्छ । उनीहरू असारमा बगर खेतीको सबै उत्पादन सकेर आफ्नो घर फर्कन्छन् । आउँदो कात्तिक, मंसिरमा खेती लगाउन तिहार मनाएर उनीहरू यहीँ फर्किन्छन् ।

– निर्मला खडायत

प्रकाशित : वैशाख ८, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?