२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अवैध सेतक चिनी नियन्त्रण

वसन्तप्रताप सिंह

बझाङ — साइपाल गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ ढुवानी गर्दै गरेको अवैध जडीबुटी सेतक चिनी प्रहरीले बरामद नियन्त्रण गरेको छ । साइपाल गाउँपालिका २ धलौनबाट १७ क्विन्टल सेतक चिनी नियन्त्रणमा लिइएको हो । 

बिनिता जनरल स्टोर्स एन्ड सप्लायर्स सुर्खेतका हरिबहादुर बुढाका सहयोगीले खच्चरबाट सदरमुकामतिर ल्याउँदै गरेको अवैध सेतक चिनी पक्राउ गरिएको हो । साइपाल गाउँपालिका २ को कार्यालयले ढुवानीमा रोक लगाएको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।


बुढाले तल्कोट गाउँपालिकाको वन क्षेत्रभित्र संकलन गर्ने गरी डिभिजन वन कार्यालयबाट ८० किलो सेतक चिनी संकलन अनुमति लिएको र सोही कागजकै आधारमा साइपाल गाउँपालिकाको वन क्षेत्रमा संकलन गरी ढुवानी गर्न खोजेको थाहा पाएपछि पक्राउ गरिएको डीएसपी सूर्यबहादुर केसीले बताए । ‘जडीबुटी समातेको दिनदेखि लगातार पानी र हिउँ परेका कारण ढुवानीमा समस्या भइरहेको छ,’ केसीले भने, ‘त्यहाँ फोन सम्पर्क पनि नहुने र प्रहरीको सञ्चार प्रणालीले पनि काम नगर्ने भएकाले पनि झन् समस्या भएको हो ।’


यता निमित्त डिभिजन वन अधिकृत कर्णबहादुर खातीले भने बुढाले सामुदायिक वनको संकलन अनुमति लिएको र सोहीअनुसार ढुवानी गर्न लागेको बताए । ‘सामुदायिक वनको पुर्जीका आधारमा ढुवानी गर्न लागेको भन्ने जानकारी आएको छ । जडीबुटी किन समातियो भनेर बुझ्न हामीले पनि कर्मचारी त्यसतर्फ पठाएका छौ,’ उनले भने ।


यता जडीबुटी व्यापारसम्बन्धी जानकारहरू भने जिल्लामा भदौदेखि मंसिरमा बिनाअनुमति जथाभावी संकलन भएको सेतक चिनीलाई वैध बनाउन वन कार्यालयका कर्मचारी र व्यापारीबीच ठुलै चलखेल भइरहेको बताउँछन् । साइपाल गाउँपालिकाका पासाङ लामा भन्छन्, ‘अबैध जडीबुटीलाई बैध बनाउन निकै ठुलो आर्थिक चलखेल भइरहेको देखिन्छ । तस्करसँग मिलेर जथाभावी वन स्रोत दोहन गर्न कर्मचारीहरू नै अग्रसर देखिएका छन् ।’


भदौदेखि मंसिरसम्म रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेत लगायतका विभिन्न जिल्लाबाट सयौंको संख्यामा आएका मानिसहरूले बझाङका विभिन्न जंगल क्षेत्रमा सेतक चिनीको अवैध संकलन गरेका थिए । उनीहरूले साइपाल गाउँपालिकाको चाल्नावन, राइढुंगी, माझा, फराल खेत, स्याङवन, औलागाड, दोतले, चिडा, र सुर्मा गाउँपालिका अर्न्तगतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, नीलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, पार्थीलगायत क्षेत्रका जंगलमा डेरा जमाएरै ठूलो परिमाणमा सेतक चिनी संकलन गरेका थिए । सोही समयमा बुंगल नगरपालिका, दुर्गाथली, छविसपाथिभेरा, खप्तडछान्ना गाउँपालिका विभिन्न वनहरूमा स्थानीय र बाहिरी जिल्लाबाट आएका संकलकहरूले ७० हजार क्विन्टल बढी काँचो सेतक चिनी अवैध रूपमा संकलन गरेका थिए ।


ठूलो परिमाणमा सेतक चिनी संकलन गरिए पनि डिभिजन वनले ४ सय क्विन्टलको मात्र संकलन पुर्जी वितरण गरेको थियो । बझाङको पञ्चवर्षीय वन व्यवस्थापन योजना ०७१ मा उल्लेख भएअनुसार जिल्लाभरका सामुदायिक वनबाट ३ सय ५० क्विन्टल र सरकारी वन क्षेत्रबाट ५० क्विन्टल गरी ४ सय क्विन्टल सेतक चिनी संकलन गर्न मिल्छ ।


‘करिब १ हजार ८ सय क्विन्टलको छोडपुर्जीको लागि सहमति चाहियो भनेर सामुदायिक वनबाट निवेदन आएको छ’ वन अधिकृत खातीले भने ‘हामीले यस विषयमा नीतिगत निर्णय गर्नका लागि प्रदेश मन्त्रालय हुँदै केन्द्रमा फाइल पठाएका छौं,’ उनले जिल्लाको वन व्यवस्थापन योजनामा सामुदायिक वन क्षेत्रबाट ३ सय ५० क्विन्टल सेतकचिनी निकाल्न मिल्ने उल्लेख भएको भए पनि विभिन्न सामुदायिक वनको कार्ययोजनामा २ हजार क्विन्टलभन्दा बढी सेतक चिनी संकलन गर्न मिल्ने प्रावधान रहेको बताए । यस गत फागुन महिनामा पनि प्रहरीले चैनपुरको चौगाउँ टोलबाट ७ सय १५ किलो जडीबुटीसहित एक जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?