२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्वास्थ्य क्षेत्र अस्तव्यस्त

डीआर पन्त

डडेलधुरा — देवल स्वास्थ्य चौकीमा कार्यरत अहेव शेरबहादुर पालको मृत्यु भएको १२ वर्ष भयो । तर स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनमा पाललाई परशुराम नगरपालिका अस्पतालमा सरुवा गरिएको छ । मृत्यु भएको १२ वर्षपछि सरुवा भएका फालको हत्या आशंकामा केही ब्यक्तिले अनुसन्धानका त्रममा जेल सजाय पनि भोगेका हुन् ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका कर्मचारीले ६ महिनापछि गत चैतमा तलब पाए । स्वास्थ्य क्षेत्रका कर्मचारीहरू समायोजनपूर्व तलब–भत्ता पाएलगत्तै सरुवाको दौडधुपमा लागेका छन् । अधिकांश कर्मचारी कार्यक्षेत्रमा छैनन् । अपायक सरुवा, समायोजनमा त्रुटि र अव्यावहारिक सरुवाले सर्वसाधारणले ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी भेटाउन मुस्किल छ । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीको यकिन संख्या स्वास्थ्य क्षेत्र हेरिरहेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय मात्र होइन संघअन्तर्गतको स्वास्थ्य विभागलाई समेत जानकारी छैन । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नासु पदमराज धिक्तले भने, ‘निर्देशनालयको सम्पर्क कार्यालय धनगढीलाई सबै विषयमा जानकारी होला ।’


स्वास्थ्य सेवा स्थानीय तहको क्षेत्राधिकारभित्र आएपछि संक्रमणमा छ । हाल स्वास्थ्य क्षेत्र कर्मचारीको समायोजनपछि झन् बढी अस्तव्यस्त बनेको छ । ‘स्वास्थ्य क्षेत्र असमान्य स्थितिबाट गुज्रिरहेको छ,’ स्वास्थ्यकर्मी संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेमबहादुर महरले भने, ‘स्वास्थ्य स्वयंसेविकाबाहेक प्रदेशमा रहेका ३ हजार बढी स्वास्थ्यकर्मी समायोजनका क्रममा २ महिनादेखि अलपत्र अवस्थामा छन् ।’


ग्रामीण क्षेत्रमा लामो समयदेखि औषधि छैन । नियमित खोप तथा परिवार नियोजन जस्ता कार्यक्रमसमेत प्रभावित भएको अध्यक्ष महर बताउँछन् । स्वास्थ्यकर्मीका कारण मात्र होइन, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक औषधि, खोप र नियमित स्वास्थ्य सेवासमेत २ महिनादेखि प्रभावित छ । भागेश्वर ४ का अगुवा दानबहादुर चन्द भन्छन्, ‘अधिकांश स्थानीय तहका स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटको सदुपयोग हुन सकेको छैन ।’ सरकारले निःशुल्क घोषणा गरेका औषधि समेत स्वास्थ्यचौकीहरूमा पाउन छोडेको पनि उनले गुनासो गरे ।


सर्वसाधारणले पाउने स्वास्थ्य सेवा मात्र प्रभावित भएको छैन, स्वास्थ्य क्षेत्रको सामान्य तथ्यांक पाउने आधिकारिक ठाउँ अहिले छैन । स्थानीय तहमा तथ्यांक पद्धतिसमेत छैन । प्रदेश मातहत रहेको जिल्ला स्वास्थ्य कार्यालय पछिल्लो समय तथ्यांकविहीन भएको छ । स्वास्थ्य कार्यालय डडेलधुराका तथ्यांक अधिकृत शंकर भट्ट भन्छन्, ‘पछिल्लो समय तथ्यांकमासमेत अपडेट हुन सकिएको छैन ।’

प्रकाशित : वैशाख ८, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?