अमरावतीमा जातीय संग्रहालय

गणेश चौधरी

टीकापुर — संगै जोडिएका दुई घर । एउटाले पहाडी जनजीवन झल्काउछ  । अर्कोले थारू । घरभित्र परिवारलाई आवश्यक पर्ने सबै सरसामान छन् । थारू घरमा लुगा राख्ने ‘भौका’ देखि खाना पकाउने चुलोसम्म । त्यस्तै पहाडी घरमा पनि आवश्यक सरसामान छन् । तर जानकी गाउ“पालिकाको अमरावतीमा रहेको यी दुई घरमा मान्छे भने बस्दैनन् ।

‘यी घर मान्छे बस्नका लागि बनाइएका होइनन्, देखाउन हुन्,’ जातीय संग्रहालयकी अध्यक्ष गरिमा शाहले भनिन्, ‘हाम्रो संस्कृति परम्परा हराउँदै गएको छ । संरक्षणका लागि जातीय संग्रहालय बनाइएको हो ।’ जातीय संग्रहालयमा सुदूरपश्चिम प्रदेशमा रहेका थारू र पहाडी समुदायको जनजीवन झल्काउन खोजिएको छ ।


नेपाली पर्यटनको मुख्य पूर्वाधार संस्कृति र प्रकृति भएको र नेपालका लागि आर्थिक समृद्धिको मुख्य आधार भनेकै पर्यटन रहेकाले यसको विकासका लागि जातीय संग्रहालय बनाउनुपरेको शाहको भनाइ छ । उनले भनिन्, ‘संस्कृति आमाको दूध जस्तै हो । यसको उपयोग पुस्तौ पुस्ताले गर्न पाउनुपर्छ । यसैका लागि संग्रहालय आवश्यक भएको हो ।’


संस्कृति र प्रकृति संरक्षणको सन्देश दिन जातीय संग्रहालयले २ दिनसम्म सांस्कृतिक सम्मेलन पनि गरेको छ । सम्मेलनबाट नयाँ पुस्तामा विभिन्न जातजातिको संस्कृति हस्तान्तरण, आफ्ननो संस्कृतिमा गर्व गर्न सिकाउने र सांस्कृतिक एकताका लागि सम्मेलन गरिएको हो ।


सम्मेलनमा यहाँका पर्यटन विकासका सम्भावनाका विषयमा छलफल हुनुका साथै विभिन्न जातजातिको संस्कृति झल्काउने नाच झाँकी प्रस्तुत गरिएका थिए । संग्रहालय अझै पूरै निर्माण भइसकेको छैन । यसको पूर्वाधार बनाउने काम भइरहेको अध्यक्ष गरिमाले बताइन् । उनले भनिन्, ‘अमरावती गाउँको पूर्वमा कर्णाली नदी, यसको उत्तरतर्फ रहेको कर्णाली पुल मनोरम छन् । प्राकृतिक मनोरम दृश्यस“गै यसको बहुजातीय समाजको संग्रहालयले पर्यटकलाई थप आकर्षण हुनेछ ।’

प्रकाशित : वैशाख १०, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?