वर्षाले गहुँबाली भित्र्याउन समस्या

मनाेज बडु

दार्चुला — यतिबेला किसानलाई हिउँदे बाली भित्र्याउने चटारो छ । चैतको दोस्रो सातादेखि हिउँदे बाली भित्र्याउन सुरु भए पनि बेमौसमी वर्षाका कारण अप्ठ्यारो भएको किसानहरू बताउछन्  ।

‘खेतमा पाकेको गहुँ भित्र्याउने समय भएदेखि मौसममा बदली आएको छ,’ लेकम गाउँपालिका ६ तिउनेगाउँका तिलक नाथले भने, ‘मौसमका कारण पाकेको गहुँ काट्न अप्ठ्यारो परेको छ । असिना पानीले पाकेको बाली सखाप होला भन्ने डर पनि उत्तिकै छ ।’ ३/४ दिनदेखि दिनहुँ पानी परेकोले गहुँ काट्नै समस्या भएको उनले बताए । जिल्लाका महाकाली र चौलानी क्षेत्रमा गहुँबाली पाकिसकेको छ । यो वर्ष ढिलै भए पनि हिउँदमा धेरै वर्षा भएका कारण सिं“चाइ सुविधा उपलब्ध नभएका ठाउ“हरूमा पनि गंहुको राम्रो उत्पादन भएको नाथले बताए ।


पानी परेर भित्र्याउन नसकेपछि मालिकार्जुन गाउँपालिका ५ लिमामा पाकेको गहुँ खेतमै कुहिन थालेको स्थानीय अमृत गिरीले बताए । ‘गहुँ पाकेपछि काटेका छौं । ‘दिनहु वर्षा र बादल लाग्दा थ्रेसिङ गर्न सकिएको छैन,’ उनले भने, ‘पाकेको गहुँ खेतमै ढलेर कुहिन थालेको छ ।’ गाउँका धेरै किसानले पाकेको गहुँ काटेर खेतमा जम्मा गरेका छन् । मौसमले साथ नदिदा खेतमै कुहिन थालेको उनको भनाइ छ । निरन्तर वर्षा भएकाले पाकेको गहुँ काट्न पनि किसानहरू डरारहेका छन् ।


महाकाली किनार क्षेत्रका लाली, बाकु, उकु, जौलजिवी, दत्तु, धाप, किम्तडी, श्रीबगड लगायत क्षेत्रमा गहु“बाली राम्रो फल्ने गर्छ । अन्य ठाउँको तुलनामा समथर खेत र थोरै मात्रामा सि“चाइको व्यवस्था हु“दा वर्षा राम्रो भएको वर्ष बाली सप्रने गरेको मालिकार्जुन गाउ“पालिका ६ बाकुका नवीन चन्दले बताए ।


त्यस्तै चौलानी किनारको लटिनाथ, बारिल, देथला, गोकुलेश्वर, सर्मोली, तेलीगाउँ लगायतका ठाउँहरूमा हिउँदे बाली राम्रो फल्ने जिल्ला कृषि ज्ञान केन्द्रले जनाए । महाकाली र चौलानी तटीय क्षेत्रमा असिना पानीबाट जोगियो भने गहुँ लगायतको हिउँदे बालीले राम्रै उत्पादन दिने गर्छ । अपी हिमालबाहेकका सबै स्थानीय तहका बेंसी क्षेत्रमा लगाएको गहुँ, जौंलगायत हिउँदे बाली केही ठाउँमा पाकिसकेको र केहीमा पाक्ने क्रममा छ ।

प्रकाशित : वैशाख १०, २०७६ १२:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गिट्टीले गुजारा

मनाेज बडु

दार्चुला — शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरका बादी महिला गिट्टी कुटेर गुजारा चलाउन बाध्य छन् । आर्थिक अवस्था कमजोर भएपछि उनीहरू दिनभर चौलानी नदी किनारमा गिट्टी कुट्छन् । त्यसैको आम्दानीले आफ्नो र परिवारको जीविका चलाइरहेका छन् ।

स्थानीय मुकुट बादी बिहानदेखि रात नपरुन्जेलसम्म खोला किनारमा गिट्टी कुट्ने गरेको बताउँछिन् । ‘गिट्टी कुटेर परिवारका सदस्यको साँझ–बिहानको हातमुख जोर्नै मुस्किल छ,’ उनले भनिन्, ‘हिउँदमा न्यानो लुगा किन्न पैसा नहुँदा चिसो सहनुपरेको छ ।’ गिट्टी कुटेर छोराछोरीलाई चाहिने कपडा लत्तादेखि नुन,तेलको जोहो गर्नुपर्छ ।

गिट्टी कुटेर महिनाको ३ हजार पनि कमाइ नहुने उनले बताइन् । उनका श्रीमान् भारतमा मजदुरी गर्छन् । ‘श्रीमान् भारतबाट फर्केका छैनन् । गिट्टी बिक्रीबाट कहिले कमाइ हुन्छ कहिले हुँदैन । त्यसैले गुजारा चलाउन बाध्य छौं,’ उनले भनिन् । चार छोराछोरीको पढाइ र औषधोपचार खर्च जुटाउन धौ हुने गरेको बताइन् । मुकुटसँगै यहाँ बसोबास गर्ने अधिकांश बादी समुदायका बासिन्दा गिट्टी कुटेर परिवारको दैनिकीचलाउँदै आएका छन् ।

बादी बस्तीमा आम्दानीको वैकल्पिक स्रोत छैन । चौलानी नदी किनारमा करिब तीन दर्जन बादी परिवारको बसोबास छ । बस्तीका महिला र बालबालिका चिसोको प्रवाह नगरी चौलानी किनारमा गिट्टी कुट्ने गरेको स्थानीय गजी बादीले बताए । उनीहरू खोला किनारबाट संकलन भएका मसिनो ढुंगालाई गिट्टीमा परिणत गर्छन् ।

नदी किनारको कच्ची घरमा बसोबास रहेकाले चिसो अत्यधिक हुन्छ । ‘चिसो भनेर गिट्टी नकुटेका दिन छाक टार्न कठिन हुन्छ,’ गजीले भने, ‘एक मिटर गिट्टी कुट्न सात दिन लाग्छ । त्यसबाट एक हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । यसैबाट परिवारको गुजारा चलेको छ ।’ स्थानीयस्तरमै भरपर्दो रोजगारीको अवसर नमिल्दा परिवारका पुरुष सदस्य भारतमा रोजगारी खोज्न गएका छन् । यहाँको कामले परिवारको गुजारा नचल्ने देखिएपछि कामको खोजी गर्न अधिकांश भारततिरै गएको उनको भनाइ छ ।
यो समुदायका बासिन्दा गिट्टी कुट्ने कामसँगै चमेलिया नदी किनारमा माछा मार्ने र भारी बोक्ने काम गर्छन् । ‘परिवारको संख्या ठूलो छ, बस्ने र कमाइ खाने घर छैन,’ स्थानीय जानकी दमाईले भनिन्, ‘नदी किनारमा बसोबास रहेकाले मुस्किलले परिवारको गुजारा चलेको छ ।’ गिट्टी, बालुवा संकलन गरेर बिक्री भएपछि परिवारको छाक टार्न सकिने उनको भनाइ छ । शैल्यशिखर नगरपालिकाको केन्द्रसँगै जिल्लाकै दोस्रो व्यापारिक केन्द्र गोकुलेश्वर बजार छेउमै बसोबास रहेकाले अनेकौं काम गरेर साँझ–बिहानको छाक टार्न सजिलो भएको दमाईले बताइन् ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT