कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

शल्यक्रिया गरेका महिलामा समस्या बल्झिँदै

क्षेत्रीय स्वास्थ्य निर्देशनालयले ९ हजार ५ सय जनामा गरेको परीक्षणमा १ सय ८३ जनाको पाठेघर खसेको पाइयो
मोहन शाही

डोटी — बोगटान गाउँपालिका चवरा चौताराकी नरपता धामीले पाठेघरको शल्यक्रिया गराएको वर्षदिनसम्म केही भएन । तर, वर्ष दिनपछि अहिले उनको समस्या बल्झिएको छ । गत साता गाउँमै आएको स्वास्थ्य शिविरमा जाँच गराउँदा डाक्टरले उनलाई प्रजनन् अंगहरू कमजोर भइसकेकाले बाहिर लत्रेको बताएपछि उनी झस्किइन् ।

शल्यक्रिया गरेका महिलामा समस्या बल्झिँदै

उपचार गरेको वर्ष दिनमा समस्या बल्झिँदा पाठेघरको शल्यक्रिया राम्रोसँग नगरिएकाले दुःख भएको उनले अनुमान गरिन् । ‘म त पाठेघरकै शल्यक्रिया राम्ररी नभएकाले समस्या दोहोरिएको हुनसक्ने सम्झिरहेकी थिए,’ नरपताले भनिन्, ‘डाक्टरले फेरि शल्यक्रिया गर्नुपर्ने भनेपछि त झस्केकी छुँ ।’ यौन सम्बन्ध राख्न असहज हुने, पिसाब फेर्न गाह्रो हुने, हिँड्डुल गर्दा दुखाइ हुने अर्की एक बिरामीले बताइन् । भल्ट प्रोल्याप्सको समस्या पाठेघरको शल्यक्रिया गरेका १ प्रतिशतमा यस्तो समस्या देखिने गरेको भए पनि पहाडी क्षेत्रका महिलामा भने केही बढी देखापरेको चिकित्सकहरू बताउँछन् ।

‘हामी यसलाई भल्ट प्रोल्याप्स भन्छौं, पाठेघरको शल्यक्रिया गरेका महिलाहरूमा यस्तो समस्या देखिन्छ,’ शिविरमा आएका कोहलपुर मेडिकल कलेजका डा. होमनाथ अधिकारीले भने, ‘पाठेघरको शल्यक्रिया गर्नेबित्तिकै काममा लाग्ने, उकाली–ओराली हिँड्ने महिलाहरूमा यस्तो बढी देखिन्छ ।’

पछिल्लो समय यस्तो समस्या पाठेघर खसेर शल्यक्रिया गराएकाहरूमा देखिने गरेको छ । बोगटानमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको उक्त शिविरमा नरपतासँगै अन्य २ महिलामा पनि समस्या देखिएको छ । यसै वर्ष डोटीमा ११ महिला पीडित भेटिएको चिकित्सकहरू बताउँछन् ।

गत महिना डडेल्धुरामा सञ्चालन गरिएको निःशुल्क पाठेघर शल्यक्रिया शिविरमा पनि ४ महिलामा भल्ट प्रोल्याप्सको समस्या देखिएको कोहलपुर मेडिकल कलेजका सामाजिक एकाइ प्रमुख रामबहादुर मल्लले बताए ।

कलेजले लामो समयदेखि निर्देशनालयसँगको सहकार्यमा सूदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पाठेघर खसेका महिलाहरूको उपचार गर्दै आएको छ । एकाइ प्रमुख मल्लले विगतमा पाठेघर खस्ने विरामी मात्र देखा पर्ने गरे पनि पछिल्लो समय पाठेघरको शल्यक्रिया गरिसकेका महिलाहरूमा फुनः समस्या देखिने क्रम बढेको बताए ।

‘शल्यत्रिया गराएका केही महिलाहरूमा समस्या देखियो,’ उनले भने, ‘पाठेघर फालिसकेपछि केही समस्या आउदैन भन्ने यहाँका ग्रामीण महिलाहरूको बुझाइ रहेछ ।’ जनचेतना अभाव तथा लापरवाही पहिलाजस्तै दुख झेल्नुपर्ने बाध्यता आउने उनी बताउँछन् । निःशुल्क शिविरमा जाँच गर्न आएका १ हजार २ सय ७२ मध्ये ११ जनामा पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलाहरू थिए । यी मध्ये ३ जना भल्ट प्रोल्याप्सका बिरामी भेटिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रमेश मलासीले बताए ।

निर्देशनालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ५० जना महिलामा भल्ट प्रोल्याप्सको समस्या देखिएको निर्देशनालयमा कार्यरत मीनराज जोशीले बताए । हालसम्म निर्देशनालयले ९ हजार ५ सय जनामा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ८३ जनाको पाठेघर खसेको छ । त्यसबाहेक ५० जनामा भने भल्ट प्रोल्याप्सको समस्या बल्झिएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?