असिनाले तरकारी नष्ट

बैतडी — केही दिनयता दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान कृष्णदत्त भट्ट तनावमा छन् । असिनापानीले गहुँ, तरकारी बाली र फलफुल खेतीमा क्षति पुर्‍याएपछि भट्टलगायत स्थानीय किसानहरू समस्यामा परेका हुन् । 

घरपरिवार पाल्ने एक मात्र माध्यम तरकारी खेती भएको बताउदै कृष्णदत्तले भने, ‘असिनाले सबै बाली नष्ट गरिदियो’ उनले भने ‘मिहिनेत गरी फलाएको बन्दा, प्याज, सागलगायत तरकारी बाली पनि सखाप भएको छ ।’ आइतबार डेढ घण्टा लगातार परेको असिनापानीले पाक्नै लागेको गहुँबाली त झनै केही नरहनेगरी सखाप भएको दशरथचन्द नगरपालिका १ कै वीरबहादुर टेरले बताए ।


तरकारीका बेर्नाहरू पनि पूर्णरुपमा नष्ट भएका अर्का किसान देवदत्त भट्टले बताए । राम्रो फस्टाएको हिउँदे फलफूलका बेर्ना सबै काम नलाग्ने भएको उनी बताउँछन् । व्यवसायिक रुपमा कृर्षि गरेर गुजारा चलाउने किसानहरूलाई असिनापानीले बाली सखाप भएपछि के गरौ के भन्ने भइरहेको उनले बताए ।


गुरुखोलाका १८ निजी नर्सरी किसानहरूले राखेको बेर्ना पनि असिनाले नष्ट गरेको भट्ट बताउँछन् । यस्तै पाटन नगरपालिकाका विभिन्न स्थानमा पनि असिनाले उत्तिकै क्षति पुर्‍याएको स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताए । वडा नम्बर ५ को वसन्तपुरमा सुन्तलाका फुलहरू नष्ट भएका स्थानीयले बताए । भर्खर दाना लाग्न लागेका सुन्तला पूर्ण रुपमा नष्ट भएका वडा अध्यक्ष फुनीसिंह बोहराले बताए ।


दशरथचन्द नगरपालिका १ मा ६० लाख बराबरका फलफूलका बिरुवा नष्ट भएका छन् । सुख्खा फलफूल विकास केन्द्र सतबाँझले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार अनुमानित ६० लाख बराबरको बोटबिरुवा नष्ट भएका हुन् ।


बोटविरुवाका बेर्ना पूर्ण रुपमा नष्ट भएका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताए । सुख्खा फलफूल विकास केन्द्रमा पनि करिब ३ लाख ६० हजार बराबरका फलफुलका बिरुवा नष्ट भएका उनले बताए । यस्तै २ लाख जतिको बन्दा गोबी नष्ट भएको उनको भनाई छ । उनले भने, ‘निजी नर्सरीमा राखेका बिरुवा मध्ये कम्तीमा एकजनाको ३ लाखको बराबरको क्षति भएको तथ्यांक छ ।


वर्षाले खेतमै थन्कियो गहुँ

लगातारको वर्षाले गहुँ खेती काट्न नपाएको किसानहरूले बताएका छन् । विहान घाम लागे पनि एक सातादेखि हरेक दिन वर्षा हुने गरेकोले पाकेको गहुँ खेतमै थन्किएको डिलाशैनीकी धाना जोशीले बताईन् । उनले भनिन्, ‘वर्षभरिको मिहिनेले फलाएर पाकेको गहुँ भित्र्याउनै मुस्किल भइसक्यो ।’ यहाँका डिलाशैनी, सिगास, दोगडाकेदारलगायतका ठाउँमा यतिबेला गहुँ काट्ने समय हो ।

प्रकाशित : वैशाख १२, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?