कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बसाइँसराइले बस्ती रित्तिँदै

दुर्गम क्षेत्रका बासिन्दा सुविधा उपभोग गर्न सहरतिर बस्न थालेपछि गाउँघर शून्य
मनोज बडू

दार्चुला — लेकम गाउँपालिका ३ गाडागाउँमा एक दशक अघिसम्म बाक्लो बस्ती थियो । त्यस गाउँका स्थानीय बसाई सरेर अन्तै जान थालेपछि अहिले उक्त गाउँमा केही परिवारमा बस्छन् । यहाँका स्थानीय घर छाडेर तराई झरेपछि गाउँ रित्तिएको हो ।

बसाइँसराइले बस्ती रित्तिँदै

बनाएका घर छोडेर बसाई सरेपछि गाउँका खाली घरहरू भत्किन थालेको स्थानीय माधवप्रसाद भट्टले बताए । ‘विभिन्न सुविधा उपभोग गर्न गाउँबाट सहर सर्न सुरु भएको बसाईसराई अझै रोकिएको छैन’ उनले भने, ‘पछिल्लो समय स्थानीयस्तरमै विभिन्न सेवा सुविधा उपलब्ध हुन थालेपनि गाउँ छाड्ने क्रम भने रोकिएको छैन ।’


लेकम गाउँपालिकाका लाली, लिमा, कुणी, सल्ला, डाँडाकोटलगायतका करिब आधा दर्जन गाउँहरू अहिले लगभग रित्तिएका छन् । यी गाउँबाट पछिल्लो समय करिब अढाई सय घरधुरी तराई झरिसकेको उनले बताए ।


गाडागाउँमा रहेका २८ मध्ये ११ परिवार मात्रै हाल गाउँमै बस्छन् । लिलामा ५० घरबाट घटेर २८ घर परिवार मात्रै बाँकी रहेका स्थानीय राजेन्द्र गिरीले बताए । ‘दशक अघिसम्म गाउँ टोलपिच्छे विभिन्न किसिमका रमाईला कार्यक्रम हुन्थे । केटाकेटीमात्रै होइन उमेर पुगेकाहरू पनि स्थानीय सस्कृतिमा रमाइलो गर्थे’ गाडागाउँका जगनाथ भट्ट सम्झन्छन्, ‘अहिले त चाडपर्व आए गएको पनि पत्तै हुदैन ।’


सरकारी जागिर भएका र समयमै गाउँ बाहिर पैशा कमाउन गएकाहरूले सुविधा भएपछि आफ्नो बसाई सहर केन्द्रित गरेको उनको भनाई छ । यहाँका स्थानीय बासिन्दाहरू भारतीय क्षेत्र नजिक पर्ने भएकाले भारतबाट कमाएर तराईमा सस्तोमा जमिन खरिद गरी त्यहीँ झर्ने गरेका छन् । ६० को दशकमा गाउँका यहाँका बासिन्दा धेरै संख्यामा तराई र सहरी क्षेक्रमा बसाई सरेका हुन् । त्यसयता यो त्रम अहिलेसम्म जारी छ । गएकाहरू फर्किदैनन् ।


गाउँमा विद्यालय र स्वास्थ्य उपचारको असुविधा, खानेपानीको समस्या लगायतका कारण गाउँ रित्तिने गरी बसाई सर्न थालेका हुन् । यसलाई रोक्न खास योजनासमेत प्रभावकारी नहुँदा चिन्तित बनाएको लेकम गाउँपालिका २ कुणीका गोपालदत्त जोशीले बताए । ‘ग्रामिण भेगका बस्तीहरूबाट बसाइसराइ तिब्र छ । शैल्यशिखर नगरपालिका ७ वनतोलीका अधिकांश घर रित्ता छन्’ स्थानीय किसनसिह बोहराले भने, ‘अब स्थानीय सरकारले बढ्दो बसाइसराईलाई रोक्ने योजना बनाउनुपर्छ ।’


यहाँका बासिन्दा कैलाली, कञ्चनपुर, दार्चुला सदरमुकाम खलंगालगायतका ठाउँहरूमा बसाई सर्ने क्रम बढेको छ । ग्रामिण भेगमा परिवारहरूले व्यवसायिक उत्पादन गर्न वस्तु बिक्री गर्ने बजार टाढा हुनु तथा विद्यालय, भौतिक पूर्वाधारका विकास पुग्न नसक्दा बसाइ सर्नेको लहर उर्लिएको स्थानीयको बुझाई छ । चाडपर्वका बेला छरछिमेक नजिक नहुँदा पहिलेको उल्लासल कायम नरहेको गाउँलेहरू बताउँछन् ।


पछिल्लो समय गाउमा हुने जात्रा, मेला महोत्सवमासमेत आफन्तहरू नभेटिदा खल्लो लाग्ने गरेको लेकम गाउँपालिका ४ पातीका सरोज नाथले बताए ।


साथै स्थानीयस्तरमा रोजगारीका स्रोतहरू पहिल्याउन नसक्दा युवाहरू विदेसिने क्रम बढ्दै गएको छ । विदेशबाट केहि कमाएको पैशा र गाउँको पुर्खौली सम्पति बेचेर उनीहरू सुविधाका लागि उनीहरू सहर पस्ने गरेको उनको भनाई छ । यसले सहरमा जनसंख्याको चाप बढ्दै गरेको र गाउँहरू रित्तिन थालेका छन् ।

प्रकाशित : वैशाख १२, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?