२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खप्तड घुम्ने पर्यटक बढे

वसन्तप्रताप सिंह

बझाङ — खप्तडछान्ना, मेल्तडीका स्थानीय पुष्कर रावलको बाल्यकाल खप्तडकै काखमा बित्यो । त्यहीं जन्मिए, हुर्किए । खप्तडका पाटन र जंगलमा दाउरा, घाँस, गोठालो गर्दै बिताएका १२ वर्षअघिका दिनलाई सम्झन्छन् ।

खप्तड घुम्ने पर्यटक बढे

‘मेरा लागि त खप्तड पानीपधेंरो नै थियो, हाँसखेल गर्दै हामी गोठाला खुब रमाउथ्यौं, खप्तडका पाटनहरू गाईबस्तु, गोठालाले नै ढाकिएका हुन्थे,’ उनले सुनाए ।

दशहरा मेला र जनै पुर्णिमाको बेला खप्तड आसपास गाउँका मान्छे भेला हुन्थे । अरुबेला गोठाला मात्रै । वर्षमा २/३ नयाँ मान्छे झुक्किएर पुग्थे । अचेल टाढा–टाढाबाट घुमफिर गर्न, रमाउन, अध्ययन र अनुसन्धान गर्न आउने दिनदिनै बढदैछन् । ‘हामी गाईभैसीं चराउने ठाउँमा यसरी पर्यटक ओइरेलान् भनेर कल्पना गरेकै थिइन,’ रावलले भने । अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनले थुप्रै मानिसले खप्तडको गुनगान गाएको सुन्छन् ।

महेन्द्रनगरका कृष्णदत्त अवस्थीले खप्तड राष्ट्रिय निकुञ्जमा जागिर थालेको १७ वर्ष भयो । यस अवधीमा उनले खप्तडलाई नजिकबाट नियाल्ने मौका पाएका छन् । प्राकृतिक र जैविक विविधता, पर्यटकिय तथा धार्मिक महत्व बोकेको खप्तडको महिमा त उहिले पनि कम थिएन ।

तर खप्तडको महत्त्व बुझेर यहाँ घुम्न मानिसहरू भने विरलै मात्र आउथे । त्यतिबेला र अहिले धेरै फरक भइसकेको छ । ‘पाटन र जंगल स्थानीयको बस्तुभाउ चर्ने र घाँस काट्ने ठाउँ मात्र थियो, यति धेरै पर्यटकको ओइरो लाग्ला भन्ने सोचेकै थिएनँ,’ उनी भन्छन्, ‘प्रचारप्रसार, इन्टरनेट तथा सामाजिक सञ्जालको बढदो प्रयोगले गर्दा खप्तडले नयाँ–नयाँ पाहुनाहरूको स्वागत गर्न पाएको छ ।’

दशकअघि खप्तड सीमित मान्छेकोको जानकारीमा मात्र थियो । पछिल्लो समय प्रचारले गर्दा यो प्रख्यात हुदै गएको छ । देशी–विदेशी पर्यटक आउछन् । घुमफिर गर्न पाउदा फुरुंग पर्छन् । निकुञ्जका रेन्जर सुनिल बोहराका अनुसार दैनिकजसो ८०/९० पर्यटक खप्तडमा रमाइरहेका भेटिन्छन् ।

फागुनदेखि मंसिरसम्म यो संख्या अझ बाक्लिने गर्छ । पुस र माघमा हिउ पर्ने भएकाले अलि कम हुन्छन् । तर हिउसंँग रमाउन पुग्नेहरूको संख्या पनि उल्लेखनीय हुने गर्छ । खप्तडको अलौकिक र अनुपम सौन्दर्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । प्राकृतिक, जैविक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तवरले छुट्टै महत्त्व बोकेको खप्तडमा पुग्दा पर्यटक स्वर्गको अनुभुति गर्छन् ।

निकुञ्ज कार्यालयको तथ्यांकअनुसार वार्षिक पछिल्लो समय खप्तडमा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । आव ०७३/७४ मा ५ हजारले भ्रमण गरेको खप्तडमा ०७४/७५ मा करिब ७ हजार जना यहाँ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताए ।

गत वर्षको गंगादशहरा मेलालाई खप्तड महोत्सवका रुपमा मनाएका कारण खप्तडको प्रचार भएको र यो वर्ष यो संख्यामा दोब्बर बृद्धि हुने आफूहरूको अनुमान रहेको उनको भनाइ छ । ‘गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन दर बढेको छ । आवको अन्त्य सम्ममा २० हजारको हाराहारीमा पुग्न सक्ने अनुमान लगाएका छौ,’ उनले सार्क तथा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पनि वर्षेनी बढदै गएको बताए । खप्तड पुग्नेले सामाजिक सञ्जालहरूमा गरेको प्रचारले पनि यहाँ पर्यटकको आगमनलाई बढाएको उनले बताए ।

२ सय २५ वर्गमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा २२ पाटन र ५३ ताल छन् । जसले गर्दा पनि खप्तड नेपालकै सुन्दरतममध्ये मानिन्छ । रंगिविरंगी फूलले ढाकिएका ठुला पाटनहरूले फुल फुल्ने बेलाको छुट्टै आकर्षण दिन्छन् । निकुञ्जको कार्यालयका अनुसार यहाँ विभिन्न किसिममा २ सय २४ प्रकारका बनस्पती पाइन्छन् । १२ गुफा रहेको खप्तडमा २ सय २६ किसिमका पक्षी, भालुलगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तुहरू पाइन्छन्  ।


प्रकाशित : वैशाख १३, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?