२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संहिताविपरीत भवन निर्माण

गणेश चौधरी

टीकापुर — जानकी गाउँपालिकाले भवन आचारसंहिताविपरीत भवन बनाउन थालिएको छ  । नगरपालिकाले ब्याडमिन्टन खेलका लागि संहिताविपरीत भवन बनाउन थालेको हो  ।

भवन संहिता २०७२ ले सरकारी संरचना तथा सार्वजनिक भवन बनाउँदा अनिवार्य माटो परीक्षण गरी बनाउनुपर्ने भए पनि माटो परीक्षण नै नगरी संरचना बनाउन थालेको छ ।

गाउँपालिकाका कार्यकारी अधिकृत मातृकाप्रसाद भट्टराईले आफू आउनुअघि नै ठेक्का प्रक्रिया अघि बढाइसकेको र माटो परीक्षणको कुरा उठाउँदा फेरि सुरुबाट जाने अवस्था रहेकाले केही गर्न नसकेको बताए ।
उनले भने, ‘कभर्डहलका लागि क्षेत्र छनोट नै समस्या जस्तो लाग्छ । कभर्डहल जस्तो पूर्वाधारका लागि केही खुला ठाउँ पनि आवश्यक हुन्छ । भवनका लागि मात्र स्पेस देखिन्छ । ठाउँ त्यति उपयुक्त छैन ।’

वडा १ दुर्गौलीको बिजुलिया खोला किनारमा बन्दै गरेको कभर्डहल करिब १० मिटर दूरीमा छ । भवन संहितामा खोलाको प्रकृतिअनुसार कम्तीमा ३० मिटर दूरीमा संरचना बनाउनुपर्ने उल्लेख छ । खोला किनारमा रहेको यो सार्वजनिक जमिन हो । सार्वजनिक खाली जग्गा भएकाले यसको उपयोग गर्न कभर्डहल निर्माण प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । उनले भने, ‘खानेपानी ट्यांकी पनि खोला किनारमै बनाइएको छ । त्यही आधारमा हामीले यो पनि बनाउन थालेका हौं ।’

इन्जिनियर लेखनाथ उपाध्यायले आफू नहुँदै प्रक्रिया अघि बढाइसकिएकाले त्यसैको निरन्तरता दिन आफू बाध्य भएको बताए । उनले अध्यक्षको चाहनामा संहिताविपरीत कभर्डहल बन्न थालेको बताए । उनले भने, ‘बन्दै गरेको कभर्डहलको भारका हिसाबले खास समस्या नभए पनि यो संहिताविपरीत छ । गाउँपालिकाले नै संहिताविपरीत बनाएपछि यो नजिरका रूपमा स्थापित हुने खतरा रहन्छ ।’

१ करोड ८४ लाखमा बन्न थालेको कभर्डहल निर्माणको ठेक्का बंगलामुखी टीडीआर जेभीले पाएको छ । ठेक्का सम्झौता समयमा गर्न नआएको भन्दै गाउँपालिकाले उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्न मानेको थिएन । पछि अदालतको फैसलाबाट गाउँपालिकाले कम्पनीसित ठेक्का सम्झौता गर्न बाध्य भएको हो । कभर्डहलका लागि करिब २ कट्ठा मात्र छ । योभन्दा पहिले यो जमिन सँधियारले उपभोग गर्दै आएका थिए ।

प्रकाशित : वैशाख १७, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?