व्यक्तिगत संरचना जोगाउन सडक साँघुरो

मोहन बुढाऐर

धनगढी — एसियाली बिकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित क्षेत्रिय सहरी विकास आयोजना अन्तर्गत धनगढीका सडक योजनाको चौडाई घटाएर कार्यान्वयन गर्ने तयारी भइरहेको छ  । धनगढीको मुख्य बजारमार्ग चौराहदेखि क्याम्पस रोडसम्मको चौडाई यसअघि ३० मिटर कायम गरिएकोमा घटाएर अहिले २४ मिटरको मात्रै बनाइने भएको आयोजनाले बताएको छ  ।

नगरपालिकाद्वारा निर्माणाधीन सडकमा पर्ने संरचनाहरू हटाउन नसक्ने भएपछि धनगढीको मुख्य बजार फराकिलो हुन नसक्ने भएको हो । उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले अघिकार क्षेत्रका सबै संरचना भत्काउँदा आयोजना क्षेत्र बढी हुने भएकोले २४ मिटर कायम गरिएको बताए ।

'योजना कार्यान्वयन नगर्दा एडिवीको रकम फिर्ता जाने अवस्था आयो,' उनले भने, '३० मिटर सडकको चौडाई कामय राख्दा ब्यक्तिको सम्पत्ति क्षति धेरै हुने भयो ।' उनले १० प्रतिशतभन्दा धेरै क्षति भएमा मुआब्जा दिनुपर्ने भएकाले नगरपालिकाले सडकको चौडाई घटाएर योजना कार्यान्वयन गर्न लागेको बताए ।


चटकपुर दशरथचन्द गेटदेखि क्याम्सरोडसम्मको अर्काे बजारको बैकल्पिक मार्गको चौडाई पनि नबढ्ने भएको छ । उक्त मार्गलाई कम्तिमा २४ मिटर फराकिलो पार्ने योजना थियो । तर १६ मिटरमा सिमित गरिने भएको छ । अन्य शाखा सडकलाई १६ मिटर पार्ने ठाउँमा १० देखि १२ मिटर मात्रै चौडाइको बनाउने भएको छ ।

राजनीतिकर्मी पुष्पराज ओझाले नगरपालिकाले मुख्य सडकको चौडाई घटाएर निर्माण गर्दा दुरगामी असर पर्ने बताए । 'चौराहदेखि क्याम्पस चोकसम्मको मुख्य बजार मार्ग अहिल्यैं साघँुरो छ । ट्राफिक जाम बढै गएको छ' उनले भने, 'सडक फराकिलो पार्नका लागि आएको बजेट पनि कार्यान्वयन गर्न नसक्नु नगरपालिकाको कमजोरी हो ।' उनले यहि बेला सडकमा पर्ने सबै संरचना भत्काएर नगरको स्वरुप बदल्नुपर्नेमा जोड दिए ।


एडिवीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत घनगढीमा ४२ किमि सडकको स्तरोन्नती गरिन लागेको हो । जसमध्ये चालु आवमा १० किमि सडकका लागि १ अर्ब ३६ करोड विनियोजित भएको आयोजनाका इञ्जिनियर रुपचन्द्र बुढाथोकीले जानकारी दिए । उनकाअनुसार ४२ किमिभित्र विभिन्न आकारका २३ सडक निर्माण हुदै छन् । पहिलो चरणमा ७ सडक निर्माण हुने भएका छन् । बाँकी दोस्रो चरणमा हुनेछन् ।


पहिलो चरणमा धनगढी मुख्य बजार, गुल्म चौराहा, धनगढी क्याम्पस गेट-जाखोरताल, डिभोटी पिपलचौतरा, क्याम्पस गेटदेखि चटकपुर सडक रहेका छन् । त्यसैगरी हसनपुर सडक र मालपोत सडक पनि पहिलो चरणमा निर्माण हुने भएका छन् ।

उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एडिबीको सहयोगमा स्तरोन्नती हुने सडक योजनाहरूको सर्भे, डिपिआर लगायतका सबै तयारी पुरा भई टेण्डर आव्हान गरिन लागेको बताए । उनले सडक निर्माणपछि नगरको काँचुली फेरिने बताए । समयमै काम सम्पन्न गर्न नगरपालिकालगायत सबै पक्षबाट सकारात्मक भुमिका निर्वाह हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : वैशाख १८, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?