खेतबारीमा आगो

भवानी भट्ट

कञ्चनपुर — गहुँबाली भित्र्याएपछि यतिबेला कृषक धानबालीका लागि खनजोतको तयारीमा छन् । उनीहरू गहुँको ठुटा तथा अन्य झारपात सफा गरिरहेका छन् । तर अधिकांशले खेत सफा गर्दा आगो लगाउने गर्छन् । यसरी आगो लगाउनुले थोरै फाइदा बढी नोक्सान हुने कृषि प्राविधिकहरू बताउँछन् । 

कृषकहरूले रोग कीरा नलाग्ने र खेत पनि सफा हुने भएकाले आगो लगाउने गरेका हुन् । गबारो रोग नलाग्ने र अन्य रोगका किरासमेत मर्ने धानबाली राम्रो हुने भएकाले आगो लगाउने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बाग्फाँटाका कृषक दामोदर पाण्डेय बताउँछन् । 'गहुँका ठुटा नजलाए धानमा गबारो रोग लाग्छ,' उनले भने, 'गत वर्ष फौंजी किराले पनि धानमा धेरै नोक्सान गर्‍यो ।'

तर कृषि प्राविधिक भने यसरी खेतमा आगो लगाउँदा रोग कीरासँगै खेतीपातीका लागि सहयोगी हुने मित्रजीवसमेत मर्ने बताउँछन् । यसले वातावरण प्रदूषणसँगै राम्रा वनस्पतिसमेत नाश हुने उनीहरू बताउँछन् । 'आगोले जलेर र माटोको तापक्रम वृद्धि भएर विभिन्न रोगका कीरा त मर्छन्,' प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कञ्चनपुरका कृषि अधिकृत राम चन्द्र भट्टले भने, 'तर त्यसभन्दा बढी मित्रजीवहरू पनि मर्छन् ।'

यसरी जलाउनुभन्दा चाँडै खेत जोतिदिए गहुँको ठुटा तथा अन्य पदार्थ कुहिएर माटोमा प्रांगारिक पदार्थ बढ्ने प्राविधिकहरू बताउँछन् । तर आगो लगाउँदा माटोमा मिसिनुपर्ने कार्बन उडेर वातावरणसमेत प्रदूषण हुने गर्छ । 'खेतमा आगो लगाउँदा फाइदाभन्दा नोक्सान धेरै छ,' कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहराले भने, 'केही सीमित रोग त नियन्त्रण गर्छ तर माटोलाई चाहिने गड्यौंला, पुतली र अन्य धेरै मित्रजीवहरू पनिनष्ट गरिदिन्छ ।'

कञ्चनपुरमा यतिबेला अधिकांश ठाउँमा खेतमा आगो लगाएको देखिन्छ । हावाहुरीका बेला खेतको आगो घर टहरामा आएर ठूलो क्षति हुने खतरा पनि हुन्छ । वनजंगलका किनारमा आगोबाट डढेलोको रूप पनि लिने गरेको छ ।

केही वर्षयता खेतीपातीमा यन्त्रको प्रयोग बढ्दै गएको छ । गहुँ तथा धान काट्ने मेसिनले ठुटाहरू ठूलो छाड्ने भएकाले त्यसलाई जलाउन थालिएको हो । केही वर्षयता यो क्रम निकै बढेको पाइन्छ । 'किसानहरूले आगो लगाएर माटोलाई चाहिने प्रांगारिक पदार्थ हावामा उडाइरहेका छौं,' बोहराले भने, 'एक/दुई वर्षयता यो चलन निकै बढेको छ ।'

कृषकमा जनचेतना अभाव तथा एक-अर्काको देखासिकिले यो क्रम बढेको हो । यसबाट हुने नोक्सानका विषयमा तत्काल जानकारी गराउनु आवश्यक देखिन्छ । स्थानीय तहहरूले नीति नै बनाएर यसलाई नियन्त्रणमा अग्रसर हुनुपर्ने देखिएको देखिएको छ । 'कृषकलाई जनचेतनासँगै कडाइ गर्नुपर्ने देखिन्छ,' बोहराले भने ।

प्रकाशित : वैशाख २०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

तरकारी बेच्न गाउँ चहार्दै

कान्तिपुर संवाददाता

कञ्चनपुर — थारू समुदायका महिलाको समूह । ५ महिला, सबैसँग बेत-बाँसबाट बनेको टोकरी छ । कसैको टोकरीमा अलिकति तरकारी छ, कसैकोमा गहुँ । उनीहरू सबै घरबाट टोकरीभरि वसन्ते तरकारी (काँक्रा, लौका, फर्सी र करेला) बोकेका थिए । कसैले नगद बेचे, कसैले गहुँसँग साटे । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका १, सुन्दरीफाँटाका महिला घरमा उत्पादन गरेको तरकारी यसैगरी नगद र गहुँसँग साट्छन्। बिहान घरबाट तरकारी बोकेर निस्केका उनीहरू गाउँभरि डुलेर दिउँसो फर्किन्छन् । यसरी तरकारी बिक्रीबाट भएको आम्दानीबाट परिवारको खर्च चलेको छ ।

झन्डै ४० डिग्री तापक्रममा पनि उनीहरू आफ्नो उत्पादन बेच्न गाउँ पुगेका छन्। 'गाउँभरिका सबैले यसैगरी तरकारी बेच्छौं,' सुन्दरीफाँटाकी अनिता चौधरीले भनिन्, 'सबैले तरकारी लगाएका छौं, आफैं गाउँ पुगेर बिक्री गर्छाैं ।' उनका अनुसार दैनिक २५/३० किलो तरकारी बिक्री हुन्छ । सुन्दरीफाँटा मुक्त कमैयाहरूको बस्ती हो ।

यहाँ २ सय बढी परिवार बस्छन्। सबैले स-सानो परिमाणमा तरकारी खेती गरेका छन् । तरकारी आफैं गाउँ गाउँ डुलेर बिक्री गर्छन् । 'नगद पाए नगद नत्र गहुँसँग साट्छौं,' सुन्दरीफाँटाकी सुकलीदेखी चौधरीले भनिन्, 'गाउँमा नगदभन्दा पनि गहुँले साटेर किन्ने धेरै हुन्छन्, हामीले पनि घरमा खान गहुँ किन्नैपर्छ ।'

सुन्दरीफाँटाका महिला कृष्णपुर नगरपालिकाकै दोमिल्ला, शुक्लाफाँटा नगरपालिकाको बेलडाँडी र आसपासका क्षेत्रमा तरकारी बेच्छन्। हिउँदमा लगाएको तरकारी चैत अन्तिमदेखि फल्न सुरु हुन्छ । त्यही बेलादेखि सानोतिनो मात्रामा बिक्री गरिन्छ । अहिले सुन्दरीफाँटा तरकारी उत्पादनका लागि पकेटकै रूपमा चिनिएको छ । तर कृषकहरूले उचित बजार र प्राविधिक सहयोग नपाउँदा परम्परागत शैलीमै उत्पादन गरिरहेका छन् ।

प्रकाशित : वैशाख २०, २०७६ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्