खेतबारीमा आगो

भवानी भट्ट

कञ्चनपुर — गहुँबाली भित्र्याएपछि यतिबेला कृषक धानबालीका लागि खनजोतको तयारीमा छन् । उनीहरू गहुँको ठुटा तथा अन्य झारपात सफा गरिरहेका छन् । तर अधिकांशले खेत सफा गर्दा आगो लगाउने गर्छन् । यसरी आगो लगाउनुले थोरै फाइदा बढी नोक्सान हुने कृषि प्राविधिकहरू बताउँछन् । 

कृषकहरूले रोग कीरा नलाग्ने र खेत पनि सफा हुने भएकाले आगो लगाउने गरेका हुन् । गबारो रोग नलाग्ने र अन्य रोगका किरासमेत मर्ने धानबाली राम्रो हुने भएकाले आगो लगाउने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बाग्फाँटाका कृषक दामोदर पाण्डेय बताउँछन् । 'गहुँका ठुटा नजलाए धानमा गबारो रोग लाग्छ,' उनले भने, 'गत वर्ष फौंजी किराले पनि धानमा धेरै नोक्सान गर्‍यो ।'

तर कृषि प्राविधिक भने यसरी खेतमा आगो लगाउँदा रोग कीरासँगै खेतीपातीका लागि सहयोगी हुने मित्रजीवसमेत मर्ने बताउँछन् । यसले वातावरण प्रदूषणसँगै राम्रा वनस्पतिसमेत नाश हुने उनीहरू बताउँछन् । 'आगोले जलेर र माटोको तापक्रम वृद्धि भएर विभिन्न रोगका कीरा त मर्छन्,' प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कञ्चनपुरका कृषि अधिकृत राम चन्द्र भट्टले भने, 'तर त्यसभन्दा बढी मित्रजीवहरू पनि मर्छन् ।'

यसरी जलाउनुभन्दा चाँडै खेत जोतिदिए गहुँको ठुटा तथा अन्य पदार्थ कुहिएर माटोमा प्रांगारिक पदार्थ बढ्ने प्राविधिकहरू बताउँछन् । तर आगो लगाउँदा माटोमा मिसिनुपर्ने कार्बन उडेर वातावरणसमेत प्रदूषण हुने गर्छ । 'खेतमा आगो लगाउँदा फाइदाभन्दा नोक्सान धेरै छ,' कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहराले भने, 'केही सीमित रोग त नियन्त्रण गर्छ तर माटोलाई चाहिने गड्यौंला, पुतली र अन्य धेरै मित्रजीवहरू पनिनष्ट गरिदिन्छ ।'

कञ्चनपुरमा यतिबेला अधिकांश ठाउँमा खेतमा आगो लगाएको देखिन्छ । हावाहुरीका बेला खेतको आगो घर टहरामा आएर ठूलो क्षति हुने खतरा पनि हुन्छ । वनजंगलका किनारमा आगोबाट डढेलोको रूप पनि लिने गरेको छ ।

केही वर्षयता खेतीपातीमा यन्त्रको प्रयोग बढ्दै गएको छ । गहुँ तथा धान काट्ने मेसिनले ठुटाहरू ठूलो छाड्ने भएकाले त्यसलाई जलाउन थालिएको हो । केही वर्षयता यो क्रम निकै बढेको पाइन्छ । 'किसानहरूले आगो लगाएर माटोलाई चाहिने प्रांगारिक पदार्थ हावामा उडाइरहेका छौं,' बोहराले भने, 'एक/दुई वर्षयता यो चलन निकै बढेको छ ।'

कृषकमा जनचेतना अभाव तथा एक-अर्काको देखासिकिले यो क्रम बढेको हो । यसबाट हुने नोक्सानका विषयमा तत्काल जानकारी गराउनु आवश्यक देखिन्छ । स्थानीय तहहरूले नीति नै बनाएर यसलाई नियन्त्रणमा अग्रसर हुनुपर्ने देखिएको देखिएको छ । 'कृषकलाई जनचेतनासँगै कडाइ गर्नुपर्ने देखिन्छ,' बोहराले भने ।

प्रकाशित : वैशाख २०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चैतेधानका लागि जहिल्यै सिँचाइ अभाव

भवानी भट्ट

कञ्चनपुर — यस वर्ष पनि विगत झैं चैतेधान खेतीका लागि सिंँचाइ हुन सकेको छैन  । महाकाली सिँंचाइ आयोजनाको नहरमा लामो समयदेखि पानी बन्द हुँदा किसानले चैते धान रोप्न पाएका छैनन्  ।

कतिपय ठाउँमा रोपेको धान पनि सुक्न थालेको छ । 'बेर्ना राखेको डेढ महिना नाघिसक्यो, पानी नभएर रोपाइ गर्न सकिएको छैन,' भीमदत्त नगरपालिका १६ का पदम थापाले भने, 'चैते धान रोपाइका बखत जहिल्यै सिंँचाइको समस्या हुन्छ ।' उनका अनुसार धानको बेर्ना २०/२५ दिनमा रोपिसक्नुपर्छ । त्यसपछि ढिलो गरि रोपेकेा धानको उत्पादन राम्रो हुदैन ।

थापाले ५ कठ्ठामा चैते धान लगाउने योजनासहित बेर्ना तयार गरेका हुन् । बेर्ना राखेदेखि नै नहरमा पानी नआएको उनले बताए । 'बेर्ना त जेनतेन जोगाएँ, रोपाइ सुरु गर्न सकिएन,' उनले भने, 'अब पनि १/२ दिनमा नहरमा पानी नआए बेर्ना काटेर गाइ भैंसीलाई खुवाउनु बाहेक अरु काम छैन ।'

शारदा ब्यारेजको बनबसा पुलमा मर्मतको काम चलिरहेकाले लामो समयदेखि नेपाल तर्फको महाकाली सिँंचाइ आयोजनाको नहरमा पानी बन्द गरिएको छ । अहिले पनि मर्मतको काम चलिरहेका छ । नहरमा पानी नआउने भएपछि कतिपय कृषकले बोरिंगबाट समेत सिंँचाइको व्यवस्था मिलाएका छन् । एक साताअघि एकदिनका लागि नहरमा पानी आएको थियो । तर दोस्रो दिनदेखि फेरी बन्द भयो ।


'चैते धानको रोपाइका बेला जहिल्यै नहरमा पानी बन्द हुने भएपछि बोरिंग नै जडान गरें,' भीमदत्त नगरपालिका १९ का कृषक दामोदर पाण्डेयले भने, 'विगतको भन्दा चैते धानको खेती पनि घटाएको छु ।' उनले वैशाख-जेठमा बोरिङको पानीबाट खेत सिंँचाइ गर्न धेरै समय र खर्चिलो हुने भएकाले सानो तिनो मात्रामा मात्रै बोरिंग प्रयोग गर्ने गरेकेा बताए ।

कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरका अनुसार केही वर्षयता कञ्चनपुरमा चैते धान खेती हुने क्षेत्रफल घटदै गएको छ । जसको प्रमुख कारण सिँंचाईकै अभाव हो । 'कुनै समय कञ्चनपुरका विभिन्न ठाउँमा २ सय हेक्टरसम्म चैते धान खेती गरिन्थ्यो,' ज्ञान केन्द्रका प्रमुख गोकुल बोहोराले भने, 'तर अहिले ४०/५० हेक्टरमा मात्रै सिमित भएको छ, यो पनि कृषकहरूले विभिन्न स्रोतबाट सिंँचाइको व्यवस्था गरेका छन् ।


सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयले यस वर्ष सय हेक्टरमा चैते धान खेती बढाउने योजना बनाएको थियो । तर कञ्चनपुरमा विगतमा भईरहेको खेती समेत घटेर ५० हेक्टरमा झरेको छ । खासगरि सिंँचाई सुविधाको अभाव र वाली भित्र्याउने बेला प्रविधिको अभावका कारण कृषकहरूको चैते धानखेती तर्फ आकर्षण कम हँुदै गएको हो । चैते धान असारमा पाक्छ । तर त्यतिबेला वषर्ाले वाली भित्र्याउन निकै समस्या हुन्छ ।

प्रकाशित : वैशाख १८, २०७६ १२:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT