२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लोकसेवा तयारी गराउँदै गाउँपालिका

मेनुका ढुंगाना

अछाम — रामारोशन गाउँपालिकाले लक्षित वर्गका लागि छुट्याएको रकमबाट लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न थालेको छ । गाउँपालिकाका फरक क्षमताका एक पुरुष, २ दलित पुरुष, १ जनजाति महिला र अन्य ६ महिला गरी १० जनालाई सदरमुकाम मंगलसैन पठाएर लोकसेवाको तयारी कक्षा लिन लगाएको हो ।

लोकसेवा तयारी गराउँदै गाउँपालिका

'गाउँपालिकाले साढे ३ लाख बजेट छुट्याएको छ । तर प्रशिक्षार्थीलाई खान, बस्न, यातायात, स्टेसनरी र प्रशिक्षकको खर्च गरी ४ लाख ८६ हजार खर्च हुने देखिन्छ,' उपाध्यक्ष सरस्वती रावलले भनिन्, 'बैठक गोष्ठी गरी रकम सक्नुभन्दा निजामती कर्मचारी उत्पादन गर्नु उपयुक्त ठान्यौं ।' वडाध्यक्ष र गाउँपालिकाले पढ्न इच्छा देखाएकालाई खोजेर पढाउन लागेको उनले बताइन् ।

'दुर्गम मानिने रामारोशन गाउँपालिकामा हामी निर्वाचित भएर आएको लामो समयसम्म कर्मचारी नहुँदा प्रभावकारी कामै गर्न सकिएन । हामीलाई कर्मचारीको आवश्यकता महसुस भयो,' उपाध्यक्ष रावलले भनिन्, 'कर्मचारी खोज्न मन्त्रालय धाउँदा तपाईंको क्षेत्रका कर्मचारी छन् भने भन्नुस् अहिले पठाइदिन्छौं भन्ने कुरा गरे । खोज्दै जाँदा कोही भेटिएनन् । त्यही बेलादेखि लोकसेवाको तयारी गर्नु भन्ने महसुस भएको हो ।' उनका अनुसार एक सचिवले ७ वटा वडा हेर्नुपर्दा भएको असहज मध्यनजर गरी पढाउन पठाइएको हो । 'अबको ३/४ वर्षपछि यतै पढेका कर्मचारीले सेवा दिन पाउने आस गरेका छौं,' उनले भनिन् ।

'लोकसेवा तयारी गर्नलाई धनगढी, नेपालगन्ज, काठमाडौंमा गएर पढ्न सक्ने अवस्था छैन । तयारी गर्ने सोचेकै बेला गाउँपालिकाका अभिभावक बनेको महसुस भएको छ,' रामारोशनका रेवन्त विकले भने, 'जसरी पनि लोकसेवा पास गर्नुपर्छ गाउँपालिकाको लगानी छ भन्ने महसुस हुन्छ । त्यहीअनुसार तयारी गरिरहेको छु ।' छोरीलाई बाहिर पढाउनु हुँदैन भन्ने मान्यता रहेको दुर्गम गाउँमा गाउँपालिकाले नै पढाउँदा खुसी लागेको अर्की प्रशिक्षार्थी हंशकला न्यौपाने बताउँछिन् । 'जसरी पनि पास हुनुपर्छ । गाउँपालिकाको प्रतिष्ठाको विषय हो भन्ने लागेको छ,' उनले भनिन् ।

३५ चल्ने कक्षामा महिलाहरूले चासो देखाइरहेको प्रशिक्षक एवं कारागार कार्यालय प्रमुख छत्र माझीले बताए । 'पुरुषभन्दा महिलाले मिहिनेत गरेको पाइयो । टाढा जान नसक्ने र अवसर नपाएका महिलाको सक्रियता लोभलाग्दो छ,' उनले भने, 'विवाहित महिलाहरू समयको सदुपयोग गर्नपर्छ भन्ने खालका देखिन्छन् ।'

प्रकाशित : वैशाख २१, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?