ओजहुवामा डुंगा सयर

गणेश चौधरी

टीकापुर — राजमार्ग छेउमै रहेको सुन्दर घोडाघोडी ताल घुम्न आउने पर्यटक केहिछिन डिलमा अडिने र दुइचार स्न्याप फोटो खिचेर जाने चलनको अब अन्त्य भएको छ ।

रामसार सुचीमा परेको घोडाघोडी ताल छेउमा रहेको ओजहुवा तालमा नगरपालिकाले पर्यटकका लागि डुंगा संचालन गरेपछि पर्यटक डुंगामा रमाउन थालेका हुन् ।


‘वर्षौंदेखि ताल बेवारिस जस्तै थियो । डुंगा संचालनबाट घोडाघोडी क्षेत्रमा पर्यटक लामो समय रहने र आम्दानी पनि हुने भएकोले ओजहुवा ताल सरसफाइ गरी डुंगा संचालन गरिएको छ’ घोडाघोडी पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले भने । १० हेक्टरमा फैलिएको ओजहुवा तालमा घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले ५ लाख लगानी गरेर जैविक तटबन्ध र ताल सरसफाइ गरी ४ वटा डुंगा संचालनमा ल्याएको छ ।


बोर्डका उपाध्यक्ष दयारामले भने, ‘रामसारका कारणले घोडाघोडी तालमा पर्यटकका लागि डुंगा संचालन गर्न नुहुने भो । त्यसैले डुंगा सयरका लागि घोडाघोडी ताल नजिकै रहेको ओजहुवा तालमा व्यवस्था गरेका हौं ।’ ओजहुवा तालमा डुंगामा बसेर विभिन्न प्रजातीका चरा अवलोकन र अनुसन्धान गर्न सकिने पर्यटन व्यवसायी डबल शाहले बताए । उनले भने, ‘घोडाघोडीमा केही गर्न पाइन्न भन्ने कतिपयको सोच पनि छ । तर प्राकृतिक सम्पदालाइ असर नपारेर पर्यटन पुर्वाधार बनाउन जरुरी छ ।


ताकि स्थानीयले यसबाट फाइदा लिन सकुन् ।’ ओजहुवा तालमा घुम्न डुंगा संचालन गरिएपछि दैनिक ५० जना जति पर्यटक डुंगामा रमाउने गरेका शाहले बताए । उनले भने, ‘डुंगा संचालन गरेको झण्डै ५० दिनजति भयो । विदेशी पर्यटक डुंगा चढेका छैनन् । आन्तरिक नै छन् ।’


घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड, इकोटेल रिसोर्ट र घोडाघोडी सामुदायिक वनको त्रिपक्षिय साझेदारीमा घोडाघोडी सिमसार क्षेत्रमा रहेको ओजहुवा तालमा डुंगा संचालन गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकामा रहेका ताल संरक्षण, व्यवस्थापन र पर्यटन विकासको योजना अन्तर्गत रामसारको महत्व तथा संवेदनशीलतालाई ख्याल गरी घोडाघोडी ताल क्षेत्रमा रहेको यो तालमा डुंगा संचालन गरिएको नगरपालिकाले जनाएको छ । प्राकृतिक सम्पदामा असर नपरोस र पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भनेर विभिन्न क्षेत्रका विशेषज्ञको सहायतामा घोडाघोडीमा पर्यटन पुर्वाधार बनाउन थालेको नगर प्रमुख ममताप्रसाद चौधरीले बताए ।


उनले भने, ‘ओजहुवा तालमा सयरका लागि डुंगा चढ्न जैविक खुटकिला बनाएका छौं । ताल क्षेत्रको सरसफाइमा ध्यान दिदै सामुदायिक व्नलाई सहभागी गराएका छौं ।’ घोडाघोडी तालमा पाइने जंगली धान, गोही प्रजनन, हात्ती प्रजनन, हरिहांँस लगायतका विभिन्न जीवजन्तु तथा चराको संरक्षित क्षेत्र बनाइने योजना रहेको पनि नगरप्रमुख चौधरीले बताए ।


प्रकाशित : वैशाख २५, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?