१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विकास बजेट खर्च भएन

प्राविधिक अभाव र बजेट ढिलो आउँदा समयमै काम हुन सकेन
भवानी भट्ट

कञ्चनपुर — आर्थिक वर्ष सकिनै लाग्दा पनि यहांँका स्थानीय तहले विकास तर्फको बजेट खर्च गर्न सकेका छैनन् । टुक्रे योजनामै अल्झिएका स्थानीय तहले आर्थिकबर्षको २ महिना बाँकी रहदा पनि आधा बजेट पनि खर्च गर्न सकेनन्। 

कतिपय ठाउँमा भरखर टेण्डर आव्हान भएको छ भने उपभोक्ता समिति पनि हालै गठन भईरहेका छन् । जनप्रतिनिधिहरूले आफु निकटका व्यक्तिलाई समितिमा राख्न खोज्दा समेत विवाद भएर लामो समय लागेको देखिन्छ । केहि ठाउँमा स्थान्यीले अवरोध गरेका कारण पनि ढिलाई भएको छ ।


‘अधिकांस ठाउँमा सडक सांँघुरो छ, चौडा बनाउन खोज्दा स्थानीयले मानेनन्,’ बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले भने, ‘धेरै योजना सडकका नै छन्, त्यहि भएर बजेट खर्च हुन नसकेको हो ।’ उनका अनुसार बेलौरीमा विकासतर्फ करिब १५ करोड बजेट मध्ये ५/६ करोड मात्रै खर्च भएको छ ।


बेलौरीमा उपभोक्ता समितिमार्फत सञ्चालन भएको योजना अन्तिम चरणमा पुगेका छन् । टेण्डरबाट सञ्चालन गर्नुपर्ने योजनामा भने निकै ढिलाई भएको छ । केहि योजनाको भरखर सम्झौता भएको नगर प्रमुख चौधरीले बताए । उनका अनुसार समयमै सम्झौता भएका योजनामा ठेकेदारले काम नगर्दा समेत योजना सम्पन्न हुन नसकेको हो । नगर प्रमुख चौधरीका अनुसार १० वटा योजनाको काम टेण्डरबाट भईरहेको छ ।


७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरमा प्रायजसोले सडक निर्माणलाई नै प्राथमिकता दिएका छन् । ग्रामीण भेगमा साँघुरा सडक चौडा गर्ने क्रममा स्थानीयले विरोध जनाउदा निर्माण कार्य ढिलो भएको देखिन्छ । ‘सडक निर्माणमा धेरै ठाउँमा स्थानीयले विवाद गरे,’ बेलडाडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने, ‘विवाद मिलाउनमै धेरै समय लाग्यो ।’


बेलडाडी गाउँपालिकामा विकासतर्फ करिब ७ करोड बजेट आएको थियो, जसमध्ये आधा पनि खर्च हुन सकेको छैन । प्रदेशबाट ढिलो गरि बजेट आउनु र प्राविधिकको समस्याका कारण पनि खर्च हुन नसकेको अध्यक्ष थापाले बताए । उनका अनुसार प्रदेश सरकारबाट बेलडाडी क्याम्पस भवन निर्माणका लागि हालै बजेट आएको छ । त्यसको टेण्डरका लागि भरखरै प्रक्रिया सुरु भएको उनले बताए ।


स्थानीय तहमा प्राविधिक नहुँदा पनि समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । एक स्थानीय तहभित्रका सबै योजना एक/दुई जना प्राविधिकले हेर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउछन् । ‘हाम्रो नगरपालिकामा १५ जना प्राविधिकको दरबन्दी छ’ बेलौरीका नगर प्रमुख चौधरीले भने, ‘तर अहिले ४ जना मात्रै यहांँ कार्यरत छन् ।’ उनका अनुसार अहिले एक इन्जिनियर र ३ जना ओभरसियरले जेनतेन काम गरिरहेका छन् ।


स्थानीय तहका सबै वडामा एक/एक प्राविधिकको दरबन्दी छ । अहिले नगरपालिका वा गाउँपालिकाको कार्यालयमा समेत दरबन्दी अनुसार प्राविधिक छैनन् । एउटै प्राविधिकलाई २/३ वडाको काम हेर्ने जिम्मा दिएको पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताए । ‘केहि प्रक्रियाका कारण र केहि प्राविधिक अभावका कारण समस्या भएको छ,’ उनले भने, ‘तै पनि हामी यो आर्थिक वर्षभित्रै योजना सक्नेगरि काम गरिरहेका छौं ।’


पुनर्वासमा विकासतर्फको २१ करोडमध्ये ५१ प्रतिशत खर्च भईसकेको छ । उपभोक्ता समितिमार्फत सञ्चालन भएको योजनाको काम सम्पन्न भईसकेको छ । टेण्डरबाट हुने कामको भर्खरै सम्झौता भएको छ । उनले केहि योजनाको काम सम्पन्न भएर पनि भुक्तानी हुन मात्रै बांँकी रहेको बताए ।


प्रकाशित : वैशाख २५, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?