बालविवाहविरुद्ध किशोरी

बालविवाह हुन लागेको जानकारी पाएपछि उनीहरुले अभिभावकलाई सम्झाउने गरेका छन् 
मेनुका ढुंगाना

अछाम — अछाममा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन् । बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमि नआएपछि उनीहरू अग्रसर हुन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय विद्यालयका किशोरीले यो अभियान सुरु गरेका हुन् ।

बालविवाहविरुद्धको अभियानमा लागेका अछाम ढकारीका किशोरी । तस्बिर : मेनुका/कान्तिपुर

संगठित रुपमा अघि बढे समाजमा जरा गाडेको बालविवाह जस्तो कुरिती अन्त्य गर्न सकिने भन्दै स्थानीय किशोरी समुहवद्ध भएका छन् । उनीहरूले बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने गर्छन । जिल्लाका धेरै ठाउँमा हुनै लागेका बालविवाह समेत रोक्न थालेका छन् । बालविवाह रोकथामको लागि समूहमा छलफल हुने गरेको छ । समुहमा बसेर किशोरीहरू आपसमा अन्य समस्यासमेत हल गर्ने गरेको ढकारी ३ कि पानसरा थापाले बताइन् । गाउकै कालिका माविमा कक्षा ११ र १२ मा पढिरहेका उनीहरू आफैं समूहमा आबद्ध भएर बालबिबाह विरुद्ध लागेका हुन् ।

बालविवाहबाट हुने हानी, कानुनी प्रावधान तथा सजायबारे सर्वसाधारणलाई जानकारी गराउन थालेको पानसरा बताउछिन । यसअघि विभिन्न संघसंस्थाले जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो । धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो ।

‘चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन । छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ’ अर्की किशोरी पद्मा शाहीले भनिन् । बालविवाहबारे चेतना मात्र होइन समाजका अन्य गलत संस्कारलाई समेत हटाउने प्रयास गर्दै आएको उनले बताइन् ।

‘जाँड रक्सी, जुवातास र बहुविवाह लैंगिक हिंसालगायतका विकृतिबारे पनि समाजमा जानकारी गराउछौं’ उनले भनिन, ‘पछिल्लो समय अभिभावकको मञ्जुरी नलिइ किशोरीहरू आफैं भागेर विवाह गर्ने क्रम बढेकाले किशोरीहरूलाई सचेत गराउन आवश्यक भएर जनचेतनाका कार्यक्रम सञ्चालन गरेका छौं।’

बालविवाह न्यूनीकरण गर्न किशोरीहरू अग्रसर भएपछि बालविवाहमा कमी आउने भएकाले उनीहरूको क्षमता बढाएर संगठित गरिएको ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँदले बताइन् । गाउँमा कानुनी प्रावधान, सजायको व्यवस्थासँगै यसबाट हुने शारीरिक, मानसिक र आर्थिक समस्याबारे सचेत गराएर अन्धविश्वासका नाममा हुने कुरीति नियन्त्रण गर्न सकिने उपाध्यक्ष साउँदले बताइन् । दिगो विकासका लक्ष्यमध्ये बालविवाह न्यूनीकरण पनि एक हो, लक्ष्य प्राप्ति गर्न र हाम्रो समाजलाई समन्नुति तिर लैजानका लागि बालविवाह घटाउन आवश्यक भएको उनले बताइन् ।

तथ्यांक कार्यालय डोटीका अनुसार अछाममा सबै भन्दा ठूलो हिस्साको विवाह १५ देखि १९ वर्षको उमेरमा हुने गरेको छ । यो उमेरभित्र ५६.३ प्रतिशत विवाहित व्यक्तिहरूको पहिलो विवाह भएको पाइएको छ । अछाममा सबै भन्दा बढी करिव ४५.४५ प्रतिशत पुरुषहरूको १५-१९ बर्षको उमेरमा विबाह भएको छ । ६३.९ प्रतिशत महिलाको विवाह १५-१९ वर्ष उमेरमा नै भएको पाइन्छ ।

प्रकाशित : वैशाख २५, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लोकसेवा तयारी गराउँदै गाउँपालिका

मेनुका ढुंगाना

अछाम — रामारोशन गाउँपालिकाले लक्षित वर्गका लागि छुट्याएको रकमबाट लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न थालेको छ । गाउँपालिकाका फरक क्षमताका एक पुरुष, २ दलित पुरुष, १ जनजाति महिला र अन्य ६ महिला गरी १० जनालाई सदरमुकाम मंगलसैन पठाएर लोकसेवाको तयारी कक्षा लिन लगाएको हो ।

मंगलसैनमा सञ्चालन भइरहेको लोकसेवा तयारी कक्षाका सहभागी । तस्बिर : मेनुका/कान्तिपुर

'गाउँपालिकाले साढे ३ लाखबजेट छुट्याएको छ । तर प्रशिक्षार्थीलाई खान, बस्न, यातायात, स्टेसनरी र प्रशिक्षकको खर्च गरी ४ लाख ८६ हजार खर्च हुने देखिन्छ,' उपाध्यक्ष सरस्वती रावलले भनिन्, 'बैठक गोष्ठी गरी रकम सक्नुभन्दा निजामती कर्मचारी उत्पादन गर्नु उपयुक्त ठान्यौं ।' वडाध्यक्ष र गाउँपालिकाले पढ्न इच्छा देखाएकालाई खोजेर पढाउन लागेको उनले बताइन् ।

'दुर्गम मानिने रामारोशन गाउँपालिकामा हामी निर्वाचित भएर आएको लामो समयसम्म कर्मचारी नहुँदा प्रभावकारी कामै गर्न सकिएन । हामीलाई कर्मचारीको आवश्यकता महसुस भयो,' उपाध्यक्ष रावलले भनिन्, 'कर्मचारी खोज्न मन्त्रालय धाउँदा तपाईंको क्षेत्रका कर्मचारी छन् भने भन्नुस् अहिले पठाइदिन्छौं भन्ने कुरा गरे । खोज्दै जाँदा कोही भेटिएनन् । त्यही बेलादेखि लोकसेवाको तयारी गर्नु भन्ने महसुस भएको हो ।' उनका अनुसार एक सचिवले ७ वटा वडा हेर्नुपर्दा भएको असहज मध्यनजर गरी पढाउन पठाइएको हो । 'अबको ३/४ वर्षपछि यतै पढेका कर्मचारीले सेवा दिन पाउने आस गरेका छौं,' उनले भनिन् ।

'लोकसेवा तयारी गर्नलाई धनगढी, नेपालगन्ज, काठमाडौंमा गएर पढ्न सक्ने अवस्था छैन । तयारी गर्ने सोचेकै बेला गाउँपालिकाका अभिभावक बनेको महसुस भएको छ,' रामारोशनका रेवन्त विकले भने, 'जसरी पनि लोकसेवा पास गर्नुपर्छ गाउँपालिकाको लगानी छ भन्ने महसुस हुन्छ । त्यहीअनुसार तयारी गरिरहेको छु ।' छोरीलाई बाहिर पढाउनु हुँदैन भन्ने मान्यता रहेको दुर्गम गाउँमा गाउँपालिकाले नै पढाउँदा खुसी लागेको अर्की प्रशिक्षार्थी हंशकला न्यौपाने बताउँछिन् । 'जसरी पनि पास हुनुपर्छ । गाउँपालिकाको प्रतिष्ठाको विषय हो भन्ने लागेको छ,' उनले भनिन् ।

३५ चल्ने कक्षामा महिलाहरूले चासो देखाइरहेको प्रशिक्षक एवं कारागार कार्यालय प्रमुख छत्र माझीले बताए । 'पुरुषभन्दा महिलाले मिहिनेत गरेको पाइयो । टाढा जान नसक्ने र अवसर नपाएका महिलाको सक्रियता लोभलाग्दो छ,' उनले भने, 'विवाहित महिलाहरू समयको सदुपयोग गर्नपर्छ भन्ने खालका देखिन्छन् ।'

प्रकाशित : वैशाख २१, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT