बचतको रकमबाट महिलाले बनाए छाउगोठ

बसन्तप्रताप सिंह

बझाङ — बझाङको साइपाल गाउँपालिकाका महिलाले मासिक बचत गरेको रकमबाट छाउगोठ निर्माण गरेका छन् । गाउँपालिकाले जवरजस्ती छाउगोठ भत्काई दिएपछि महिनावारीका बेला उनीहरू ओडारमा बस्दै आएका थिए । गत वर्ष छाउपडी प्रथा विरुद्धको अभियानका क्रममा गाउँपालिकाले यहाँका छाउगोठहरू भत्काएको थियो । 

साइपाल गाउँपालिकाको जगेरा गाउँमा स्थानीय महिलाको बचतबाट निर्माण गरेको छाउगोठ । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

‘बर्ष दिन ओडारमा बसेर बितायौं । ४ फिट हिउँमा पर्दा पनि बाहिरै बस्नु पर्‍यो । बर्खामा झरीले सतायो’ साइपाल गाउँपालिका ४ जगेराकी बिरती रोकायाले भनिन् ‘आफु मात्रै बस्नु पर्ने भए त जसोतसो सहन्थ्यौं । दुध चुस्ने केटाकेटीले पनि हामीसँगै दुख पाइयो । अति भएपछि महिलाको कोषबाट छाउगोठ बनायौं ।’

गाउँमा महिलाहरूले ३ वर्षदेखि गर्दै आएको नियमित मासिक बचतको रकमले छाउगोठ निर्माण गरेको फुलमती रोकायाले बताइन् । ‘३५ हजार खर्च लाग्यो’ उनले भनिन् ‘महिलाको आयआर्जनमा सहयोग गर्ने, साह्रोगाह्रो पर्दा चलाउने घुम्तीकोषको लागि बचत गरेका थियौं । ओडारमा सुत्नुभन्दा नयाँ घर बनाऔं भन्ने दिदिबहीनीको सल्लाहअनुसार त्यही रकम खर्च गरेर छाउगोठ बनायौं ।’ हाल निर्माण भएको छाउगोठमा ६ जना सुत्न मिल्ने ठाउँ छ ।

धुलीको जगेरा गाउँमा ३० परिवारको बसोबास रहेको छ । धेरै महिलाहरू एकै पटक महिनावारी भएमा नवजात शिशु भएका, उमेर पुगेका र विरामी भएकाहरूलाई छाउगोठमा सुताएर अरु महिलाहरू ओडारमा नै सुत्न जाने गरेको यहाँका महिला बताउँछन् ।
आफुहरूसँग पर्याप्त रकम नभएकोले बचतको पैसा खर्चेर छाउगोठ निर्माण गरेको स्थानीय उजली रोकायाले बताइन् ।

‘ठूलो पानी परेको बेला, हावाहुरी चलेको बेला यही भित्र बसेर रात काट्ने गरेका छौं’ उनले भनिन् ‘अरुबेला बढी भएपछि यता नअटाएकाहरू अहिलेपनि ओडारमा गएर सुत्छन् ।’ गाउँपालिकाले यसअघि रहेका ५ वटा छाउगोठ भत्काएको थियो । छाउगोठ भत्काउन महिलाको सहमति थिएन । जगेरा मात्र हैन । ४० परिवारको बसोबास रहेको धुलीका महिलाले पनि बचत संकलनकै पैसाले सार्वजनिक छाउगोठ निर्माण गरेका छन् । यहाँका ६ वटा छाउगोठ गाउँपालिकाले भत्काइदिएको थियो ।

छाउगोठ निर्माण भएपछि सजिलो भएको वडा नम्बर ५ की महिला स्वास्थ्य स्वंयसेविका गंगादेवि बोहराले बताइन् । ‘गोठ भत्काएपछि केही दिन भित्रै पनि बस्यौं’ उनले भनिन् ‘कोही काँप्न थाले, कोही बेहोस हुन थालेपछि देउताले सहेन भनेर ओडारमा बस्न थालेका हौं ।’

गाउँपालिकाले छाउगोठ भत्काएका र पुनःनिर्माण गर्न नसकेका सैनगाउँ, लाफडी लगायतका महिलाहरू अहिले पनि ओडारमै बस्ने गरेको स्थानिय महिलाले बताए । उनीहरूले पनि प्रत्येक घरबाट रकम संकलन गरेर छाउगोठ निर्माणको लागि पहल गरिरहेको
सैनगाउँकी अमृता विकले बताईन् ।

गत वर्ष जेठ महिनामा छाउगोठ मुक्त गाउँपालिका घोषणा गर्ने भन्दै यहाँ रहेका सबै छाउपडी गोठहरू गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले भत्काएका थिए । महिनावारीका बेला बर्षौदेखि बस्दै आएको न्यानो र सुरक्षित गोठ गाउँपालिकाले जवरजस्ती भत्काएका कारण यहाँका कतिपय महिलाहरू ओडारमा बस्दै आएका छन् । कतिपयले भत्काएका छाउगोठलाई टालटुल पारेर पुन प्रयोगमा ल्याएका छन् ।

गाउँपालिकाले छाउगोठमूक्त गाउँपालिका घोषणा गर्न ३ लाख विनियोजन गरेको र सोही रकम खर्च गर्न जवरजस्ती गोठ भत्काएको यहाँका महिलाहरूको आरोप छ । साइपाल गाउँपालिकाको लासीकी शंकधारा बोहराले भनिन् ‘३ लाख पनि खाए, गोठ पनि भत्काए । हामीले जाडोमा कठ्याङग्रिनु पर्‍यो ।’

प्रकाशित : वैशाख २८, २०७६ ११:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पैंचोको भरमा बझाङको उत्तरी सीमा धुलीमा बसेका प्रहरीलाई खाद्यान्न पठाइयो 

बसन्तप्रताप सिंह

बझाङ — उत्तरी सीमामा रहेको धुली प्रहरी चौकीका प्रहरीको लागि खाद्यान्न पठाइएको छ । सीमा सुरक्षामा खटिएका प्रहरीहरुको विजोगबारे जानकारी पाए लगतै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीहरुका लागि खाद्यान्न आपूर्ति सहज बनाउन प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । 

सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरीहरुका लागि खच्चड मार्फत नुन, चामल र दाल ढुवानी गरिँदै । तस्बिर : बसन्तप्रताप सिंह 

पैंचोका भरमा प्रहरी’ शीर्षकको समाचार गत मंगलबार कान्तिपुर दैनिकमा प्रकाशित भए पछि महानिरिक्षक सर्वेन्द्र खनालले तत्काल खाद्यान्न पठाउन निर्देशन दिएपछि खच्चडलाई बोकाएर रासन पठाइएको हो।

‘विकट ठाउँमा प्रहरी कसरी बसिरहेका छन् भन्ने हामीलाई थाहै थिएन,’ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी सुरज केसीले भने, ‘समाचार आए पछि महानिरिक्षकज्यूको ध्यानाकर्षण भएको छ। त्यहाँ तत्काल खाद्यान्न पुर्‍याउन उहाँको निर्देशन अनुसार हामीले जिल्लालाई ताकेता गरेका छौं।’

नियमित संचार सम्पर्क नहुने भएका कारण सीमामा प्रहरीले पाएको दुःखका विषयमा समाचार मार्फत जानकारी प्राप्तभएको र अबका दिनमा त्यहाँ खाद्यान्नको अभाव हुन नदिने व्यवस्था मिलाइने उनले बताए।
सुदूरपश्चिम प्रहरी प्रमुखले भनेपछि सुरक्षाचौकीमा कार्यरत प्रहरीको लागि भनेर बझाङ सदरमुकामबाट बुधबार र बिहीबार चामल, दाल र नुन पठाइसकिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी सुर्यबहादुर केसीले बताए।
उनले बुधबार २५ बोरा मसिनो चामल, दुई बोरा दाल र तीनबोरा नुन खच्चड मार्फत साइपालतर्फ पठाईएको र बिहीबार समेत गरी ५० बोरा मसिनो चामल, मास अरहर मसुरोको दाल तीनबोरा, ५ बोरा नुन सीमा प्रहरी चौकीमा पठाइएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट पठाएको खाद्यान्न शनिबार सम्ममा धुली पुग्ने उनले बताए।

सीमा चौकीमा प्रहरी जनशक्ती कम भएकोले तत्कालका लागि ९ जना थप गरिएको बताउँदै उनले बाँकी जनशक्ति थप्ने विषयमा आफूले उपल्लो निकायमा समन्वय गरिरहेको बताए।

प्रहरीले आफूले दुःख खेपेर भएपनि शान्ति सुरक्षा कायम गर्ने काममा कुनैपनि समस्यासँग सम्झौता नगर्ने बताउँदै उनले भने, ‘दुर्गम क्षेक्रमा रहेका चौकीहरुको जनशत्ती अभाव पुरा गर्ने र बन्दोबस्तीको व्यवस्था मिलाउने विषयमा प्रहरी नेतृत्व संवेदनशिल छ। भौगोलिक विकटताका कारण केही समस्या भएपनि दुर्गम क्षेत्रका जनतालाई पनि राज्यको उपस्थिती महसुस गराउने गरी हामी लागेका छौं।’

जिल्लाकै विकट साइपाल गाउँपालिका र चीनको तिब्बतसँग जोडिएको उत्तरी सीमाको सुरक्षाको लागि बझाङ जिल्लाको अन्तिम मानव वस्ती धुलीमा सीमा प्रहरी चौकीका प्रहरीहरु यसअघि चामल र नूनका लागि पुर्ण रुपमा स्थानीय बासिन्दाले दिएको पैंचोको भरमा चलेका थिए।

यो बस्तीबाट खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनको अस्थायी वितरण केन्द्र रहेको काँडागाउँ सम्म आउजाउ गर्न एकदिन हिँड्नु पर्ने, जनशक्ती कम भएका कारण चाहिएको बेलाचामल र नुन ढुवानी गर्न नसकिने र स्थानीय बजारमा नुन–चामलको भाउ अति महंगो हुने भएकाले प्रहरीहरुले किनेर खानुको सट्टा स्थानीयहरुसँग पैंचो मागेर गुजरा गर्दै आएका थिए।

स्थानीयलाई पनि नुन–चामलको अभाव भैरहने भएका कारण पैंचो नपाएको बेला यहाँका प्रहरीहरु बिस्कुट र चाउचाउ खाएर छाक टार्दै आएका थिए।

एकवर्ष अघि गाउँपालिकाको कार्यालय रहेको ठाउँ काँडासम्म नेपाल सरकारको ढुवानी अनुदानमा खाद्य संस्थानले चामल, पिठो लगायतका खाद्यान्न र साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन वितरण गर्ने व्यवस्था गरेको भएपनि धुली र बलौडी गाउँका बासिन्दाहरु महंगोमा चामल र नुन किन्न बाध्य छन्। करिब दुई सय परिवारको बसोबास रहेको यी दुईवटा गाउँबाट डिपोसम्म पुग्न एकदिन पैदल हिँड्नुपर्छ।

आयोडिनयुक्त नुन महंगो हुने भएकाले यहाँका अधिकांस बासिन्दाहरुले तिब्बतबाट आयात गरिएको ढिके नुन खाने गरेका छन्। मान्छेले बोकेर ल्याएको नुन चामलको ढुवानी भाडा निकै महंगो हुने भएका कारण धुली र बलौडीका बासिन्दाले सरकारले नौ रुपयाँमा दिएको नुनलाई समेत ८० रुपैयाँ तिरेर खान परिरहेको स्थानीय बताउँछन्।

प्रकाशित : वैशाख २६, २०७६ १५:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT