पुल निर्माणमा लापरबाही

डीआर पन्त

डडेलधुरा — कमसल सामग्रीको प्रयोग र निर्माण कम्पनीको लापरवाही लगायत कारणले जिल्लाका ३ वटा निर्माणाधीन पुल अलपत्र परेका छन् । ३ वटै पुल एक पटक निर्माण भइसकेपछि भत्किएका हुन् । 

डडेलधुरा–वैतडीको तल्लोस्वराड जोड्ने एनडीप्रकाश चटौत राजमार्गको परिक्षितफाँटा सडक खण्डमा १४ बर्ष अघि निर्माण भइसक्नुपर्ने पुल अझै पुरा भएको छैन ।


भागेश्वर गाउपालिकालाई अजयमेरु र बैतडीको मेलौली जोड्ने अर्को मुख्य सडकमा रहेको शेरागाड पुलको अवस्था पनि उस्तै छ । यो पुल दुइ पटक भत्किसकेको छ । जिल्लाको उत्तरी भेगलाई सदरमुकाम र डडेलधुरा डोटी केआइसिंह राजमार्गसंग जोड्ने नवदुर्गा गाउँपालिकामा रहेको पुल निर्माण पनि छ वर्षदेखि अलपत्र अवस्थामा छ ।


परिक्षितफाँटामा रहेको पुल १४ बर्ष अघि निर्माण भएको थियो । निर्माणको दुई महिनामै भत्कियो । ९ वर्षपछि पुनः टेण्डर भएपनि अहिले सम्म निर्माण हुन नसकेको स्थानीयले बताए । २ करोड भन्दा वढीको लागतमा ४ बर्ष भित्र निर्माण भइसक्नुपर्ने उक्त पुलको काम सुरु भएको छैन । डडेलधुराका दुइ ठूला निर्माण कम्पनीले संयुक्त रुपमा काम गर्ने सम्झौता गरेका थिए ।


शेरा गाडमा निर्माणाधीन अर्को पक्की पुल गुणस्तरहीन सामग्रीको प्रयोगका कारण दुइ महिनाअघि भत्किएको हो । ३ बर्ष अघि ५ करोडको लागतमा विकोई विल्डर्स काठमाडौंसँग निर्माण सम्झौता भएपनि ढीलो गरी काम सुरु भएको थियो । उक्त पुल स्ल्याव राखेको ४ दिन पछि दुवै तर्फका बिम भाचिएपछि भत्किएको हो ।


पुन निर्माण सुरु गरिएपनि कम्पनीले पठाएको सामान स्थानीय बजारमा बिक्री भइरहेको छ । यसअघि पनि यसरी नै निर्माण सामग्री बिक्री गरी गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण पुल भत्किएको स्थानीयको आरोप छ । सिमेन्ट र छड बिक्री भइरहेको छ ।


यस्तै डडेलधुरा र बैतडीका केही गाउँपालिकालाई केआईसिंह राजमार्गसँग जोड्ने डडेलधुराको नवदुर्गा गाउंँपालिकामा रहेको अर्को पुलको अवस्था पनि फरक छैन । निर्माण कम्पनी फरार भएपछि ६ वर्षदेखि अलपत्र छ । २०७३ असार मसान्त सम्म निर्माण सम्पन्न भइसक्ने गरी जागृति निर्माण सेवाले ठेक्का सम्झौता गरेपनि हालसम्म पुल निर्माण नगरी ठेकेदार फरार रहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।


६ वर्षअघि १ करोड १० लाख लागतमा निर्माण हुनुपर्ने २५ मिटर लामो मोटरेवल पुलको अहिले सम्म २ वटा पिलरको आधा भाग वाहेक अन्य केही निर्माण हुन सकेको छैन । स्थानीय पेटी ठेकेदारहरूले निर्माण कम्पनीसंँग काम गर्ने सम्झौता गर्ने र केही रकम लिएपछि काम छोडीदिने गरेका कारण पुल निर्माण हुन नसकेको हो । कम्पनीले आफैं काम नगरी अरुलाइ निर्माणको जिम्मा दिने गरेकाले पुल निर्माण अधुरो रहेको स्थानीयले वताएका छन ।


सँंगै निर्माण सुरु भएका जिल्लाका अन्य एक दर्जन पक्की पुलमा मोटर चल्न थालेको दुइ बर्ष बितिसकेको छ । तर ठेक्का सम्झौता गरेर पनि लापरवाही गर्दै यि ३ वटा पुल निर्माण नगर्ने निर्माण कम्पनीलाई सम्वन्धित निकायले कुनै कारबाही गरेको छैन ।


स्थानीयतहले पनि पुल निर्माणमा भइरहेको लापरबाहीका विषयमा कुनै चासो राखेका छैनन् । भागेश्वरका स्थानीय दानबहादुर चन्दले भने, ‘पुल निर्माणमा सिधा भ्रष्टाचार र अनियमितता भइरहेको देख्दादेख्दै पनि स्थानीय तहका पदाधिकारीले कुनै चासो राखेका छैनन् ।’

प्रकाशित : वैशाख २८, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?