अझै बनेन अछाम दरबार

'अछाम दरबारसँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ, दरबार बनाउँछौं भनेर पटक-पटक अलमल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै यसका विरूद्ध उत्रिनेछौं ।' 
मेनुका ढुंगाना

अछाम — माओवादी आक्रमणका बखत २०५८ मा ध्वस्त भएको अछाम दरबारको अझै पुनर्निर्माण भएको छैन । दरबार पुनर्निर्माणको काम २०६५ मै सुरु भयो । तर काम सुरु भएको ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । ७ वर्षदेखि अवरुद्ध भएको काम २०७५ भदौदेखि पुनः सुरु भएको छ । 

अझै बनेन अछाम दरबार

अछामको पहिचान बोकेको दरबार निर्माणमा लापरबाही हुँदा स्थानीय आक्रोशित बनेका छन् । 'अछाम दरबारसँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ,' स्थानीय गंगाराम भाटले भने, 'दरबार बनाउँछौं भनेर पटक पटक अलमल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै यसका विरुद्ध उत्रिनेछौं ।'


दरबार नजिकै घर भएका मंगलसैनका ७६ वषर्ीय उदयराम ढुंगाना दरबार बन्छ भन्नेमा विश्वस्त छैनन् । 'दरबार पुनर्निर्माणको काम सुरु भएको बेला म धेरै खुसी भएको थिए । तर यत्रो वर्ष हँुदा पनि जस्ताको तस्तै छ । अब बन्ला जस्तो लाग्दैन ।' उनले भने, 'म जस्ता थुप्रै वृद्धवृद्धाको अन्तिम इच्छा पुर्खाको इतिहास बोकेको दरबार बनेको हर्ने हो ।'


पटकपटक दरबारको विषयमा बैठक बसेर ठेकेदारलाई काम गर्न दबाब दिने गरेको भएता पनि काम सम्पन्न हुन नसकेको जिल्ला समन्वय समिति अछामका प्रमुख प्रमुख नरबहादुर कुँवरले बताए । 'ठेकेदारले जहिल्यै काठ अभाव भयो भन्दै बहाना बनाएको पाइयो । एघार वर्षसम्म काठको कारण देखाउँदै काम गर्दैनन् । गत भदौमा आवश्यक पर्ने काठ जता पाइन्छ त्यताबाट ल्याउन प्रशासनले सहज गराइदिएर काम सुचारु भएको हो ।'


उनले भने, 'अनेक बहाना बनाएर ठेकेदारले नै लापरबाही गरेको छ ।' अछाम दरबारको निर्माणको काम बारेसमेत ठेकेदार र सहरी डिभिजनले चाँसो नदिएको कुँवर बताउँछन् । 'सहरी डिभिजन कार्यालयका प्रमुख, प्राविधिक र ठेकेदारको मिलेमतोमा दरबारको काम अघि नबढेको महसुस भएको छ ।'


मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले भने, 'होइन भने ११ वर्षसम्म दरबार किन बनेन ।' स्थानीयस्तरमा निर्माण भइरहेका योजनाको बारे स्थानीय तहलाई जानकारी दिनुपर्ने उनले बताए । सदरमुकामको बीच भागमा अलपत्र अवस्था रहेको दरबार हेरेर जनताले जनप्रतिनिधिलाई गाली गर्ने तर ठेकेदारले वास्ता नगर्ने गरेको उनको भनाइ छ ।


दरबार निर्माणको ठेक्का २ करोड २५ लाखमा स्वीकृत भएको थियो । ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको दाबी गर्ने ठेकेदार जयबहादुर साउदले काम गरेबापतको ९० लाख रकम निकासा गरिएको बताए । 'आवश्यक पर्ने निर्माण सामग्री सहज ढंगले उपलब्ध गराउन नसक्दा काम रोकिएको हो । अहिले सामग्री खोजी रहेको छु । यो काम चाँडो सक्नुपर्छ भनेरै लागेको छु,' ठेकेदार साउदले भने ।


२०६७ सालमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताउँदै साउदले काठ अभावको कारण ११ वर्ष काम रोकिएको बताए । 'सुरुका २ वर्ष काम भयो, विभिन्न किसिमका अप्ठ्यारा आए,' उनले भने, 'अहिले सामानको भाउ पहिले भन्दा दोब्बर बढ्यो तर त्यो पनि पाइँदैन ।' पटकपटक ठेक्काको म्याद थप्दै २०७५ असारसम्म अन्तिम म्याद थपिएको थियो । त्यो म्याद पनि सकिएपछि

दरबार निर्माण हुनेमा शंका लागेको सरोेकारवाला बताउँछन् ।


सहरी डिभिजन कार्यालयबाट संचालित भएको दरबारको काम सुचारु नभए निर्माणको विकल्प खोजिने सहरी विकास डिभिजन धनगढीका प्रमुख सुरेश वाग्लेले बताए । अछाम दरबार पुनर्निर्माणमा ठेकेदारले काठको अभाव देखाउँदै ढिलासुस्ती गरेको उनले बताए । 'काठ अभाव भएकै हो भने उपलब्ध कहाँबाट कसरी हुन्छ त्यो सहजीकरण गर्छौं । त्यति गर्दा पनि भएन भने अर्को प्रक्रियामा जाने छौं', उनले भने ।


दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा प्रजिअ मोहनसिंह खत्रीसमेत मारिएका थिए ।


घटनामा क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो । जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माण गर्न तोकिएको समयसीमा नाघेपछि पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जाना तिराए पनि दरबार राष्ट्रिय महत्वको क्षेत्र भएकाले यसका ठेकेदारलाई भने केही गरिएको छैन ।

प्रकाशित : वैशाख २९, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?