स्कुल पठाउनै मुस्किल

मेनुका ढुंगाना

अछाम — अछामको बान्निगढी जयगढ गाउँपालिका ३ वर्दादेवीकी ३० वर्षीया तारा परियारका ५ छोरी र १ छोरा छन् । कान्छो छोराको उमेर ३ वर्ष भयो । उनका श्रीमान् नौलेको मृत्यु भएको २ वर्ष भयो ।

‘श्रीमान् बिरामी भएको १२ दिन बित्दासमेत औषधि उपचारमा भन्दा पनि जडिबुटि र झारफुकमा लाग्यौ’ ताराले भनिन, ‘समयमा उपचार गराउन नसकेर उहाँको ज्यान गएको हो । औषधि गराए देउता रिसाउँछन भन्ने थाले, सबै परिवार उपचार भन्दा पनि धर्मकर्ममा मात्र व्यस्त रह्यौं ।’

ताराका अनुसार परिवारजन सवै बिहानै उठेर नुहाई धुवाई गरी झारफुक गर्नमै व्यस्त हुन्थे । नौलेको शरीरमा साना साना फोका निस्किएका थिए । शरीरमा फोका निस्कियो भने देउता निस्किनु भएको छ भन्ने धार्मिक विश्वास अझै जरो गाडेर बसेको छ । कतै कुनै उपाय नलागेपछि ताराका परिवारले अन्तिम समयमा उनलाई धनगढी र भारतका अस्पतालमा लगेका थिए । तर उनलाई अस्पताल लैजान ढिलो गरिएकाले ज्यान गएको उनि बताउँछिन् ।

‘बिरामी भए धामी झाँक्रिको विश्वास गर्ने, अस्पताल नलिने अझै पनि अन्धविश्वास छ । यहि कारणले कलिलै उमेरमा मैले दुःख पाए’ ताराले भनिन्, ‘५ छोरी भइसकेका थिए । छोरा नहुँदा घरमा बस्ने वातावरण नै मिलेन । अहिले ६ छोराछोरीको पालन पोषण गर्न कठिन भएको छ ।’ समाज भन्दा बाहिरको वातावरण नबुझेका दलित बस्तीमा कुसंस्कार र अन्धविश्वासले नै ज्यान जाने गरेको उनको भनाइ छ । ‘समाजका कुरा मान्नै पर्छ । तर अप्ठ्यारोमा कसैले हेर्दैनन् । अहिले अर्काको घरमा बसिराखेकि छु । साहुले निस्क भनेको दिन कहाँ जाने पत्तो छैन’ उनले भनिन् ।

वर्दादेवीकै कोकिला परियारको उमेर २३ वर्ष भयो । उनका ३ छोरी छन् । डेढ वर्ष अघि सामान्य विरामी भएका उनका श्रीमानका ेपनि धामी झाँक्री र जडिबुटि उपचार गर्न थालेपछि मृत्यु भयो । ‘देउता लागेरै बिरामी भएको हो भन्ने लाग्यो । अस्पतालमा नगई गाउँमै उपचारमा लाग्यौं । ख्याल ख्यालै ज्यान गयो’ कोकिलाले भनिन्, ‘छोरा र श्रीमान नभएका महिलालाई समाजमा बाँच्नै गाह्रो छ । समाजले एक्लो बनाउछ । छोरीहरूलाई समेत गाली गर्छन् ।’ समाजमा आफु भन्दा जान्ने बुझ्नेले स्वास्थ्य संस्थामा लैजानु भन्दा झारफुक तिर जोड दिन लगाएको उनको भनाइ छ । ‘टाउको दुख्दा पनि धामी झाँक्री कहाँ जाने चलन अझै छ । यस्तै कारणले धेरैको ज्यान जाने गरेको छ ।’

कुल जनसंख्याको २७ प्रतिशत दलित समुदाय रहेको बान्नीगढी जयगढ गाउँपालिकामा अझै पनि अन्धविश्वासमा परेको दलित महिला संजालकि अध्यक्ष अमृता तिरुवाले बताइन् । ‘यसअघि दलितका लागि आएको बजेटले गाउँका दुइ /चार जनाले मात्रै फाइदा लिए । शिक्षाको पहुँचबाट टाढा भएका दलित समुदायलाई कसैले हेरेन ’ उनले भनिन् , ‘जीवनस्तर माथि उकास्नका लागि हामी पनि पटक पटक जनप्रतिनिधिसँग छलफल गरिरहेका छौं ।’

उनका अनुसार हालै वडाको २ लाख बजेटबाट १८ जना असहाय दलित महिलालाई ५० किलो चामल र ३२ जना दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘शैक्षिकसत्र सुरु भएको छ । एक दम्पत्तिका ६ देखि ८ सम्म सन्तान छन् । उनीहरूलाइ विद्यालय पठाउन सक्ने अवस्था छैन । धेरै एकल महिलाका सन्तान छन्’ उनले भनिन् ।

अन्य ठाउँको तुलनामा वडा नम्बर ३ मा दलित समुदायमा अन्धविश्वासको समस्या धेरै भएकाले उनीहरूलाई मध्यनजर गर्दै वडाले बजेट विनियोजन गर्ने वडाअध्यक्ष कुलबहादुर सेट्टी बताउछन् ।‘ वडामा रहेका दलित समुदायका २ सय १५ घरधुरीमा अवस्था बुझ्ने र त्यहि अनुरुप बजेट विनियोजनको तयारी गरेका छौं’ उनले भने, ‘अन्धविश्वासमा रुमल्लिएर ज्यान गुमाएका परिवारलाई शिक्षा रस्वास्थयमा विशेष प्राथमिकता दिनेछौं ।’

प्रकाशित : वैशाख ३०, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

शौचालयमा सुर्तीजन्यका खोल

डीआर पन्त

डडेलधुरा — स्कुलको शौचालय जताततै गुट्खा खाएर थुकेको दाग छ । शौचालय वरिपरि गुट्खाका खोल छरिएका छन । त्यति मात्र होइन भारतवाट अवैध रुपमा भित्रिने सूर्तिका खाली खोल पनि चारैतिर छरिएका छन् ।

यो दृश्य वैतडी पाटन नगरपालिकावाट मैलौली जाने मूल वाटोमा पर्ने एउटा आधारभूत विद्यालयको हो । गाउँं छिर्ने मूल वाटोमा आधा किमीसम्म जताततै हिँडने बाटोमा जताततै गुटा, सूर्ति र चुरोटका खाली खोल छरिएको देखिन्छ । ओरालो वाटोमा गुट्खा, सूर्ति र चुरोटका खाली खोलमा चिप्लीएर धेरै जना घाइते समेत भइसकेका छन । यो वाटो मात्र होइन मूल सडकवाट गाउंँ पस्ने हरेक बाटोको हालत पनि यस्तै छ । डडेलधुराको भागेश्वर गाउँंपालिका ४ स्थित गाउँंको दृश्य हो यो ।

वैतडीको एक बिद्यालय र डडेल्धुराको एक गाउंको उदाहरण मात्र हो यो । प्राय हरेक बिद्यालय र गाउंँको अवस्था एउटै छ । १२ बर्ष उमेरका देखि अन्तिम अवस्थामा पुगेका बृद्ध समेतलाइ स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने गुट्खाको लतले नराम्ररी गांँजेको छ ।

सूर्तिजन्य पदार्थको सेवनका कारण बृद्धबृद्धा भन्दा पनि किशोर उमेरका वालवालिका को भविष्य नै गम्भीर संकटमा देखिएको छ । ‘नयांँ पुस्ताको स्वास्थ्यसँंगै देशको भबिष्य समेत गम्भीर संकटमा छ’ चिकित्सक डा राज पाण्डेय भन्छन ‘एक अध्ययनले ६० प्रतिशत किशोर पुस्ता यो लतका कारण कम उमेरमै गम्भीर रोगको चपेटामा पर्न थालेका छन ।’

गाउंँमा खाद्य पदार्थ सहज रुपमा पाउन सकिदैन तर मन्द बिषका रुपमा चिकित्सकहरूले प्रमाणित गरेको गुट्खा र सूर्ति नपाइने कुनै गाउंँ छैन । खाद्य पदार्थ भन्दा वढी विक्री गुट्खा र सूर्ति हुन्छ’ एकजना ब्यबसायी डम्वर भण्डारी भन्छन ‘भारतवाट अवैध रुपमा भित्रिने गुट्खा र सूर्तिले जति बजार पाएको छ त्यति वजार अरु कुनै उत्पादनको देखिदैन ।’

१० जना किशोर उमेरका ब्यक्ति मध्ये ६ जनाले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको भेटिएको छ’ डा. पाण्डेयले भने ‘बिभिन्न स्वास्थ्य संस्थामा काम गर्दा आफुले गरेको अनुसन्धानमा यस्तो अवस्था देखिएको हो ।’ बिद्यालय होस या अन्य कुनै सार्वजनिक स्थल हरेक ठाउंँमा निर्वाध रुपमा सूर्तिजन्य पदार्थको सेवन र विक्री बितरणले नयाँं पुस्ता नराम्ररी प्रभावित भएको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्