२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सुत्केरीले पाएनन् राहत रकम

धनगढी — सेती अञ्चल अस्पतालमा प्रसूति गराएका एक हजार सुत्केरी महिलाले सुत्केरी प्रोत्साहन रकम पाएका छैनन्  । सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत रकम पाउने व्यवस्था छ  ।

गत माघदेखि अस्पतालमा सेवा लिएका सुत्केरीले सुत्केरी भत्ताबाट वञ्चित छन् ।


‘श्रीमतीलाई चैत्रमा सुत्केरी गराएर लगेको, सुत्केरी भत्ता हालसम्म पाएको छैन,’ धनगढी उपमहानगरपालिका ९ का जितुबहादुर कुँवरले भने । सरकारले मातृ र बाल मृत्युदर घटाउन सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस अन्तर्गत सुत्केरीलाई प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था गरिएको छ ।


सुत्केरी भत्ता वापतको रकम निकासा नभएकाले सुविधा रोकिएका कारण सुत्केरी भत्ता उपलब्ध गराउन नसकेको अस्पतालले बताएको उनले बताए । ‘हुन त १ हजार ५ सयले केही हुँदैन, तर महिला सुत्केरी भएका बेला त्यसले पनि केही राहत पुग्छ,’ जितुले भने । रकम नपाएकोमा उनीहरूको गुनासो रहँदै आएको छ ।

‘कसैका लागि त्यो रकम थोरै रकम भए पनि निम्न आयस्तर भएकाहरूका लागि त्यो रकम सानो होइन,’ डडेल्धुरा आलिताल गाउँपालिका ८ का विरेन्द्र आले मगरले भने, ‘हामीलाई पनि अहिले अस्पतालले बजेट छैन ।’


सेती अञ्चल अस्पतालमा दैनिक २० जना सुत्केरी हुन्छन् । उनीहरू कसैले पनि सुत्केरी भत्ता पाएका छैनन् । ‘अहिले अस्पतालसँग सुत्केरी भत्ताको रकम छैन, त्यसैले हामी सुत्केरी महिला र उनको अभिभावकको सम्पर्क नम्बर राखिराख्छौं,’ सेती अञ्चल अस्पताल प्रसूति वार्डकी इन्चार्ज यशोदा ढकालले भनिन् । सुदुपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट बजेट आएपछि सुत्केरी महिलाको भत्ता उपलब्ध गराउने उनले बताइन् ।


‘हामीले पटकपटक मन्त्रालयमा बजेटको माग गरेका छौं । तर, हालसम्म बजेट आएको छैन’ अस्पताल लेखा अधिकृत मदनसिंह बोहराले भने, ‘माघमै बजेट सकिएपछि सेवा रोकिएको हो ।’ ६० लाख अपुग रहेको उनले बताए । यसअघि मन्त्रालयले ३ करोड २८ लाख रकम दिएको उनले बताए । यस अस्पतालमा गत आर्थिक बर्षमा ७ हजार ९ सय ८५ जना महिलाले सुत्केरी सेवा लिएका थिए ।

प्रकाशित : जेष्ठ १, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?