भ्रष्टाचारविरुद्ध साझा विवेकशील

कान्तिपुर संवाददाता

टीकापुर — साझा विवेकशील पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय भ्रष्टाचारविरुद्धको अभियान कैलालीको टीकापुरबाट सुरु भएको छ  । बुधबार एक कार्यक्रम गरी पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले अभियान सुरु गरेका हुन्  ।

‘नेतृत्व इमानदार र मतदाता सचेत नभएसम्म भ्रष्टाचार अन्त्य हुन्न । भ्रष्ट नेतालाई जिताउने जनता पनि भ्रष्टाचारको मतियार हुने भएकाले नेतालाई जवाफदेही बनाउनुपर्छ’ संयोजक मिश्रले भने भ्रष्टाचार अन्त्य नभएसम्म हाम्रा सन्ततिको भविष्य बन्दैन । राष्ट्र पनि बन्दैन ।’

सुदूरपश्चिमबाट सुरु गरिएको उक्त अभियानमा गोलबन्द हुन मिश्रले आग्रह गरे । कार्यक्रममा केन्द्रिय सदस्य सूर्यराज आचार्यले जनता नजागेसम्म नेताहरूले भ्रष्टाचार गरिरहने र त्यसको अपजस जनताहरूले पनि खेपिरहनुपर्ने बताए ।

कार्यक्रमलाई केन्द्रीय सदस्य मुमाराम खनाल, केशव दाहाल, किशोर थापा, सुदुरपश्चिम प्रदेश संयोजक गोपी हमाललगायतले सम्बोधन गरेका थिए ।अभियान सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँ हुदै जेठ १२ गते अछामको विनायकमा पुगेर समापन हुने साझा विवेकशील पार्टी सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ११:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

समायोजनपछि कर्मचारी अभाव

विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा लिन स्थानीयले घन्टौं कुर्नुपर्ने बाध्यता
कान्तिपुर संवाददाता

मुगु र सल्यान — समयोजनपछि जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ  ।

जिल्ला प्रशासन कार्यालयमा अहिले चार कर्मचारीले मात्र कामकाज गरिरहेका छन् । १२ जनाको दरबन्दी रहेको जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रजिअ, एक नायब सुब्बा र करारका एक कार्यालय सहयोगीमात्र कार्यरत छन् ।

अहिले कार्यरत नायब सुब्बा पनि छायाँनाथरारा नगरपालिकामा समायोजन भइसकेका छन् । समायोजनले कार्यालय कर्मचारीविहीन बन्ने अवस्थामा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले बताए । ‘समायोजन भएका सुब्बालाई रमाना दिइएको छैन,’ उनले भने, ‘कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती पाउन थालेका छन् ।’ उनका अनुसार नागरिकता फाँट, राहादानी फाँट गैसस दर्ता र नवीकरणको काम करारका कर्मचारीको भरमा छाडिएको छ ।

त्यस्तै पशु ज्ञान केन्द्र दुई कर्मचारीको भरमा छ । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीको कामकाज गर्न अप्ठेरो परेको कार्यालय प्रमुख गोबिन्द सिजापतिले बताए । यी दुई कार्यालय मात्र होइन्, स्थानीय तहमा पनि कर्मचारी अभावको समस्या चुलिएको छ । चारवटै स्थानीय तहमा दुई सय बढी कर्मचारी अभाव भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

सोरु, खत्याड, मुगमकार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाले पनि लामो समयदेखि कर्मचारी अभावको समस्या भोग्दै आइरहेका छन् । समायोजनपछि थप कर्मचारी समस्या भोग्नुपरेको जनप्रतिनिधिको गुनासो छ । मुगुमकार्मारोङ गाउँपालिकाले बैशाख दोस्रो साता बिभिन्न पदमा ३० जना कर्मचारी रिक्त रहेको भन्दै लोकसेवा आयोगमा पदपूर्तिका लागि माग गरिएको जनाएको छ ।

छायाँनाथरारा नगरपालिकामा ५७ जना कर्मचारीको दरबन्दी भए पनि प्रमुख प्रशासकीय अधिकृतसहित १५ कर्मचारीको दरबन्दी खाली छ । नगरले दुई इन्जिनियर र दुई सवइन्जिनियर करारमा राखेर काम गरिरहेको जनाएको छ ।

नगरका वडामा २८ जनाको दरबन्दीमध्ये ४ जना सचिवमात्रै कार्यरत छन् । कर्मचारी अभावका कारण करारमा कर्मचारी भर्ना गर्नुपरेको छायाँनाथरारा नगर प्रमुख हरिजंग शाहीले बताए । उनले विभिन्न निकायमा कर्मचारी पठाउन माग गर्दै आए पनि लामो समयदेखि बेवास्ता भइरहेको जनाए ।

सोरु गाउँपालिकामा पाँच जनामात्र वडा सचिव कार्यरत छन् । गाउँपालिका कार्यालय प्रशासकीय अधिकृत, दुई नायब सुव्वा, लेखापाल, सवइन्जिनियरसहित पाँच कर्मचारीको भरमा छ । गाउँपालिकामा ३२ जना कर्मचारी रिक्त रहेको जनप्रतिनिधिले गुनासो गरे । खत्याड गाउपालिकामा सात जनामात्र कार्यरत छन् । गाउँपालिकामा ३२ जना कर्मचारीको दरबन्दी खाली छ ।

बन्गाडकुपिण्डे वडा सचिवविहीन
१२ वडा रहेको सल्यानको बन्गाडकुपिण्डे नगरपालिका वडा सचिवविहीन बनेको छ । कार्यरत एकमात्र सचिव नगरपालिकामा तानिएपछि वडा कार्यालय सचिवविहीन बनेका हुन् । वडासचिव नहुँदा कार्यालयका कामकाज प्रभावित भएका छन् । सचिव नहुँदा चार वडा स्वास्थ्यकर्मी र सामाजिक परिचालकले धानिरहेका छन् । सचिव नहुँदा घण्टौं हिडेर सरकारी कामकाजका लागि आएका सेवाग्राहीले सास्ती भोग्नुपरिरहेको छ ।


सामाजिक परिचालकले राम्रोसँग काम गर्न नजान्दा कामकाज गराउन नगरपालिका जानुपर्ने बाध्यता भएको मूलखोलाका देवेन्द्र खडाले बताए । नगरपालिकाको बिकट वडा मानिने निगालचुलाका टेकबहादुर पुनले वडा कार्यालयमा सामाजिक परिचालक भए पनि सामान्य काम परेमा नगरपालिका पुग्नुपर्ने बाध्यता भएको जनाए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले वडामा रहेका एक मात्र सचिव नगरमा तानिए पछि वडा कार्यालयको कामकाज गराउन समस्या भएको बताए । समायोजनपछि स्थायी कर्मचारी आउन नमानेकाले वडा कार्यालय कर्मचारीविहीन भएको उनले जानकारी दिए ।

वडा सचिवमात्र नभइ अन्य कर्मचारीको समेत अभाव भएपछि नगरको काममा समस्या भएको उनले जनाए । ‘समायोजन अनुसार सरुवा भएर जानेको संख्या बढी छ,’ उनले भने, ‘आउनुपर्ने कर्मचारी कोही आएनन् ।’

प्रकाशित : जेष्ठ २, २०७६ ११:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT